नरेश के.सी.
भैरहवा, माघ १२ । ६५ औँ अन्र्तराष्ट्रिय भन्सार दिवसको अवसरमा भैरहवा भन्सार कार्यालय र नेपाल भन्सार एजेन्ट संघ भैरहवाले संयुक्त रुपमा सिद्धार्थ बालगृह भैरहवामा आश्रय लिएर बसिरहेका बालबालिकालाई खाना तथा शैक्षिक सामग्री वितरण गरेका छन् ।

नेपाल भन्सार एजेन्ट संघ र भैरहवा भन्सार कार्यालयले संयुक्त रुपमा बालगृहमै पुगी बालबालिका तथा सो गृहकी संरक्षक कृष्णमाया गुरुङलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा भैरहवा भन्सार कार्यालयका प्रमुख भूपालमान शाक्यले विभिन्न कारणले बालगृहको संरक्षकत्वमा रहेका बालबालिकाहरुको सहयोगको लागि आफूहरु सँधै तयार रहेको जनाए ।

सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विष्णु प्रसाद शर्माले आफूभन्दा कम भाग्यशाली व्यक्तित्वहरुलाई सहयोग गर्न पाउँदा खुशी लागेको जनाए ।
सोही अवसरमा नेपाल भन्सार एजेन्ट संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले व्यवसायीहरुले आफ्नो कमाईको केही प्रतिशत सामाजिक क्षेत्रमा खर्चिँदा आत्मसन्तुष्टि बढेर जाने र सहयोग पाउनेलाई पनि थोरैधेरै राम्रो हुने भएकोले सामाजिक कार्यमा अग्रसर भएको जनाए ।

नेपाल भन्सार एजेन्ट संघका महासचिव मधु पन्थीको स्वागत तथा भैरहवा भन्सार कार्यालयका सूचना प्रमुख गोपाल प्रसाद भट्टराईको संचालनमा सम्पन्न उक्त शैक्षिक सामग्री वितरण कार्यक्रममा उपस्थित भन्सार कर्मचारी तथा एजेन्ट संघका सदस्यहरुबाट गरी ४५ हजार २ सय नगद समेत बालगृहकी संचालिका गुरुङलाई हस्तान्तरण गरिएको थियो ।