लुम्बिनीखबर
बसडिलवा, फागुन १४ । भैरहवाको बसडिलवा स्थित शिव मन्दिरमा शिवरात्रीको अवसरमा एकैदिन डेढ लाख भक्तजनहरुले अवलोकन गरेको सन्चालक समितीले जनाएका छन् ।
शिवमन्दिर सन्चालन समितीका सदस्य केशव पौडेलले भने “शुक्रबार शिवरात्रीको दिनमात्रै डेढ लाख मानिसहरुले शिवमन्दिरको अवलोकन गरेका छन् । ” २०३६ सालमा जिर्णोद्वार भएको शिवमन्दिर रुपन्देहीका ऐतिहासीक मन्दिर भएको मन्दिर सन्चालक समितीका अध्यक्ष सन्जीव गुरुंगले जानकारी दिए ।
अध्यक्ष गुरुंगका अनुसार यसपटकको शिवरात्री मेलामा करिब ५ लाखको हाराहारीमा चन्दा भेटी रकम पनि संकलन भएको छ । उनले भने “हामीले चन्दा भेटी हिसाब गर्दैछौं, कम्तीमा ५ लाख उठेको अनुमान छ ।” शिवमन्दिरमा पुजापाठ गर्नको लागी राती देखि नै भक्तजनहरु लाइनमा बसेका थिए । सो लाइन साँझ सम्म पनि निरन्तर देखिन्थ्यो । प्रहरी र स्थानीय स्वयंसेवकको सहयोगमा भक्तजनहरुलाई सहज तरीकाले मन्दीर प्रवेश र पुजाको व्यवस्था गरिएको मिलन दर्लामीले जनाए ।

यसैबीच ब्रहमा कुमारी इश्वरी विश्वविद्यालय पश्चिम क्षेत्र भैरहवामा शिवरात्रीको अवसरमा विशेष कार्यक्रम सम्पन्न भएको छ । सांसद आदित्य नारायण कसौधनको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा शिव ध्वजारोहण, आध्यात्मिक चित्र प्रदर्शनी तथा मन्दिरमा स्थापित ज्योतिस्वरुप परमात्माकोे प्रतीक शिवलिङ्ग दर्शन कार्यक्रम संस्थाको दिव्यशान्ति रिट्रिट सेन्टर भैरहवामा सम्पन्न भएको थियो ।
कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहको विशिष्ट आतिथ्यता, क्षेत्रीय प्रमुख ब्रह्माकुमारी शान्ति दिदीको अध्यक्षता तथा सचिव ब्रह्माकुमार भूपेन्द्र अधिकारीको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको हो । यसैगरी जिल्लाको प्रकटेश्वर, चिलीया स्थित शिवालय, सिद्धबाबा लगायतका शिवालयहरुमा दिनभर शिव भगवानको पुजा आराधना भएको छ ।