भैरहवा, फागुन २० । यस क्षेत्रमा घरजग्गाको मूल्य बढ्दै गर्दा यहाँका केही बैंक म्यानेजर देखि सहकारीका पियनसम्म र उद्योगपतिहरु समेत जग्गा दलालीमा अग्रसर भएको देखिन्छ ।

देशको आर्थिक नीति उत्पादनमूलक क्षेत्र र रोजगारमुखी कार्यक्रममा केन्द्रित हुँदै गर्दा यहाँको कारोबार भने व्यक्तिवादी र स्वार्थवादतिर उन्मुख भएको भन्दै सरोकारवालाहरुले समेत चिन्ता व्यक्त गरेका छन् ।
अहिले भैरहवा क्षेत्रमा आकासिँदै गरेको जग्गाको मूल्यले सरकारले लिएको समानतामूलक समाज उन्मुख कार्यक्रमलाई समेत विफल बनाउँदै अगाडि बढेको देखिन्छ ।
राज्यको आर्थिक मेरुदण्डको रुपमा लिईने बैंकिङ क्षेत्रले समेत मनोमानी र आफ्नो विनियम विपरीत अनुत्पादक क्षेत्रमा लगानी बढाउँदा यस क्षेत्रको उत्पादनमूलक कार्यहरु प्राय बन्द र रुग्ण अवस्थामा रहेका छन् ।
हिजो सामान्य जागिर खाने कर्मचारीले किन्न सक्ने एउटा घडेरी आज करोडौँ मूल्यले मूल्यवृद्धि भएको छ । सामान्य र निमुखाहरुको हैसियतभन्दा माथि घर जग्गाको मूल्य बढ्दै जाँदा यसको पछाडि जग्गा दलाली गर्ने गिरोहहरु र बैंकका म्यानेजरहरुको सामिप्यता भने निकै घनिष्ट भएको पाईन्छ ।
बैंकहरुले सरकारले तोकेको नियमभित्र रहेर कृषि, उद्योग र घरेलु तथा हस्तकलामा लगानी बढाई रोजगारमूलक, उत्पादनमूलक क्षेत्रमा आफ्नो उपस्थिति जनाई राज्यको आर्थिक उत्पादन अगाडि बढाउन सहयोग पु¥याउनुको सट्टा केही गिरोहहरुको पछाडि लागेर घर जग्गामा लगानी बढाउँदा अहिले देशको आर्थिक तरलता कमजोर देखिएको छ ।
यही कारणले गर्दा घरजग्गाको मूल्य समेत आकासिएको पाईन्छ । घरजग्गा दलाली गर्ने गिरोहको पछाडि अपवित्र रुपमा साँठगाँठ गरी जग्गामा लगानी बढाउँदै गएका बैंकका म्यानेजरहरुले समेत फर्जी कागजातका भरमा करोडौँ रुपैयाँ अनुत्पादक क्षेत्र घरजग्गामा बढाउँदै लग्दा अहिले बैंकहरुमा लगानीयोग्य रकम रित्तिएको छ ।
बैंकहरुले देशको विकास र समाजको विकासका लागि केन्द्रविन्दु भएर लगानी बढाउनुपर्ने प्रावधानलाई आँखा चिम्लिँदै घरजग्गा लगानीमा अगाडि बढ्दै गर्दा देशमा बेरोजगार दर बढ्दै गएको अर्थविद्हरुले समेत बताउने गरेका छन् । देशको मुख्य जनशक्ति वैदेशिक रोजगारका नाममा खाडी मुलुकमा पुगेका छन् । यहाँ रोजगार बढाउँदै उत्पादनमूलक क्षेत्रमा बैंकहरुले लगानी बढाउनुपर्ने भएतापनि केही माफियाको सीमारेखा भित्र बैंकहरु कैद हुँदा नेपाल दशकौँ पछाडि धकेलिएको छ ।
विकास निर्माण र पर्यटन क्षेत्रको सम्भावनालाई विज्ञापनको रुपमा प्रयोग गरेर भैरहवा क्षेत्रमा समेत जग्गा दलालीहरुले एउटा सामान्य घडेरीलाई करोडौँ मूल्यमा बेच्न सफल भएका छन् । यहाँका उद्योगपति भनेर चिनिने समुदाय समेत आफ्ना उद्योगहरुका नाममा बैंकबाट रकम निकाली घरजग्गा कारोबारमा मस्त भएका छन् ।
आवरणमा उद्योगका मालिक भनेर चिनिनेहरु भित्री रुपमा जग्गा दलाली गर्नमा माहिर देखिएका छन् । अहिले भैरहवा क्षेत्रमा निर्माणाधीन गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थल, व्यापारिक बुटवल भैरहवा सिक्स लेन सडक, विशेष आर्थिक क्षेत्र र लुम्बिनीलाई विज्ञापनको रुपमा प्रयोग गर्दै जग्गा दलालीहरुले यहाँको आर्थिक स्थितिलाई तहसनहस बनाएका छन् ।
हिजो साइकल र पैदल हिँड्नेहरु बैंक र सहकारीका व्यवस्थापकहरुको साँठगाँठमा नक्कली कागजातका भरमा करोडौँ रकम निकाली जग्गामा लगानी गर्दा आज प्राडो र ल्यान्डक्रसरमा चढेको हामी सबैले देख्ने गरेका छौँ ।
नेपाल राष्ट्र बैंकले बैंकहरुलाई जिम्मेवार भई कृषि तथा औद्योगिक र उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन पटक पटक निर्देशन दिँदा समेत यहाँका बैंकहरु अनुत्पादक क्षेत्र घरजग्गामा लगानी बढाउन आतुर देखिन्छन् ।
अर्थविद् तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. एस नेपालले सन् २००७ मा अमेरिकामा सुरु भएको आर्थिक मन्दी घरजग्गा कारोबार भएको उदाहरण दिँदै नेपालमा पनि बैंकहरुको लगानीका कारण बेरोजगारदर बढ्नुका साथै कृषि तथा औद्योगिक क्षेत्र समेत धरासायी भएको बताउँछन् ।
त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक तथा समाजशास्त्री उमेशचन्द्र रिजाल देशमा आर्थिक वृद्धिदरमा समस्या निम्तिनु बैंकहरुको लगानी पारदर्शी नभएको, फर्जी कागजातका भरमा केही गिरोहहरुलाई लगानी बढाउँदै जाँदा उत्पादनमूलक र रोजगारमुखी क्षेत्र धरासायी भएको बताउँछन् । उनले देशमा सबै क्षेत्र गैरजिम्मेवारपन, आत्मकेन्द्रित, स्वार्थवादले गर्दा ओरालो लाग्ने स्थितिमा पुगेको समेत बताउँदै बैंकहरुले घरजग्गामा लगानी गर्दा देशको स्थिति अझ नाजुक हुँदै गएको छ ।
त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्ने ऋषि ज्ञवालीलेसमेत बैंकहरुको लगानी उत्पादनमूलक क्षेत्रमा हुन आवश्यक रहेको औँल्याउँदै बजार क्षेत्रमा बढ्दै गरेको जग्गाको मूल्यले समेत आर्थिक वृद्धिदरलाई ओरालोतर्फ धकेलिरहेको बताए ।
बैंकका म्यानेजरहरुले आफूले अदृश्य रुपमा जग्गा दलाली गर्ने गिरोहसँग मिलेर पार्टनरसीपमा जग्गा प्लटिङ र किनबेचमा लिप्त हुँदा समेत यहाँको बैंकिङ प्रणालीमा समस्या देखिएको छ । आवश्यकता अनुसार बैंकले लगानी गरिदिँदा सस्तो मूल्यका जग्गाहरु समेत करोडौँ मूल्यमा बिक्री भईरहेका छन् । सहकारीमा काम गर्ने सामान्य कर्मचारीहरु समेत अहिले विभिन्न बहानामा सहकारीबाट रकम निकाली घरजग्गा लगानीमा व्यस्त भएको स्रोतले लुम्बिनीखबरलाई जानकारी दिएको छ ।
यसरी माफिया तथा बैंकिङ क्षेत्रको सम्बन्ध बढ्दै जाँदा अन्य क्षेत्रमा लगानी हुन सकेको छैन । अहिले बैंकहरुले अति आवश्यक क्षेत्र सामान्य घर बनाउनेहरुलाई होम लोन, कृषि क्षेत्रमा सामान्य कर्जा आवश्यक भएकाहरुलाई कृषि कर्जा, हस्तकला क्षेत्रमा र महिला उद्यमशीलताको क्षेत्रमा प्रस्ताव गरिएका कर्जाहरु समेत दिन सकेको छैन ।
जसका कारण त्यस क्षेत्रमा उत्पादन हुनुपर्ने र निर्माण हुनुपर्ने वस्तुहरु रोकिएको छ । कारण घरजग्गा दलालीहरुलाई लगानी गर्दा बैंकहरुको रकम रित्तिएको छ ।
आफ्नो नाम पत्रिकामा उल्लेख नगर्ने शर्तमा एक वाणिज्य बैंकका म्यानेजर भन्छन्, “बैंकहरु घाटामा छैनन् र बैंकहरुले अहिले लगानी गर्ने अवस्थामा पनि छैनन् ।” उनले थपे, “किनभने राष्ट्र बैंकले तोकेको कुल डिपोजिटको ८० प्रतिशत ऋण लगानी बैंकहरुले गर्ने हो तर अहिले ८१ प्रतिशत समेत बैंकहरुले लगानी गरिसकेका छन् । बैंकहरुले ब्याज पाउने हो हामीले पाइरहेका छौँ । तर उत्पादनमूलक, रोजगारमूलक क्षेत्रमा हामी लगानी गर्न सकिरहेका छैनौँ ।” अनुत्पादक क्षेत्रमै बैंकहरुको लगानी बढिरहेको उनले स्वीकार्दै देशको आर्थिक वृद्धिदर कम हुनु र बेरोजगार दरमा वृद्धि हुनुको कारण यही रहेको बताए ।