कमल रायमाझी
भैरहवा, चैत १७ । स्थानीय निकायको निर्वाचनको लागि खोलिएको म्यादी प्रहरी भर्ना आवेदनमा रुपन्देहीका स्नातक तह उत्तीर्ण गरेका युवायुवतीहरुले समेत आवेदन दिएका छन् ।

file photo
चैत ११ गतेदेखि १७ गतेसम्मको समय तोकिएको म्यादी प्रहरी छनौट आवेदन फारम भर्नका लागि न्यूनतम शैक्षिक योग्यता साधारण लेखपढ र १८ वर्षदेखि ५४ वर्ष उमेर पुगेका पूर्व प्रहरी तथा सैनिक र साधारण नागरिकहरुको लागि खोलिएको आवेदनमा स्नातक तह उत्तीर्ण गरेका युवायुवती समेत सामेल भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीको रेकर्डमा देखिन्छ ।
आवेदन भर्नेहरुमा मधेसी समुदायका युवाहरु बढी मात्रामा रहेका छन् भने पहाडी समुदाय र महिलाहरुको समेत उल्लेख्य संख्या रहेको देखिन्छ ।
जिल्लामा अहिलेसम्म ३५ सय जना युवायुवतीहरुले म्यादी प्रहरी छनौटका लागि आवेदन दिएको जसमा ३ सय जति महिलाको संख्या रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता बेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।
५५ दिनका लागि खोलिएको म्यादी प्रहरीको फारम भर्ने समय आज सकिएकाले आवेदन दिएका उम्मेदवारहरुको छनौट प्रक्रिया चैत २०,२१,२२ र २३ गतेसम्म रहने र छनौट भएका उम्मेदवारहरुको प्रशिक्षण चैत २५ गतेबाट सुरु हुने समेत डिएसपी पाण्डेले बताउनुभयो ।
म्यादी प्रहरी भर्नाका लागि आएका युवायुवतीहरु समेत उत्साहित हुँदै देशमा लामो समयदेखि नभएको स्थानीय निकायको निर्वाचन गराउनको लागि आफूहरु म्यादी प्रहरीमा भर्ना भएर सुरक्षा दिन तयार भएको बताए ।