कमल रायमाझी
भैरहवा, चैत्र १८ । रुपन्देहीबाट संसदमा प्रतिनिधित्व गर्ने सांसद इश्तियाक अहमद खानले आफ्नो अभियान शिक्षा क्षेत्रमै रहेको बताएका छन् । उनले समाजको विकास र परिवर्तनका लागि शिक्षाको महत्व रहेकाले आफूले यो अभियानमा निरन्तरता रहेको प्रतिबद्धता व्यक्त गरेका छन् ।

जिल्लाका विभिन्न कार्यक्रमहरुमा मन्तव्य दिने क्रममा समेत सांसद खानले शिक्षाको महत्वलाई बढी प्राथमिकताका साथ उठान गर्ने गरेको देखिन्छ । उनले अधिकार र आरक्षणका कुरा गर्नेहरुलाई गाउँ–गाउँ, टोल–टोल र दूरदराज सम्म पुगेर शिक्षाको ज्योति बालिदिन समेत अनुरोध गरेको पाइन्छ ।
लुम्बिनीखबरसँगको संवादमा सांसद खानले हामी अहिले जातजातिका आधारमा अधिकार र आरक्षणका कुरा गर्दैछौँ तर अधिकार र आरक्षणको कोटामा छिर्नका लागि पनि शिक्षा आवश्यक छ । उनले भने “सबै मानिस योग्य, शिक्षित र उर्जाशील छ भने आरक्षण र कोटाको आवश्यकता पर्दैन । प्रतिस्पर्धाबाट नै जो मुस्लिम, मधेसी, जनजाति, महिला, खस, आर्य भएतापनि योग्य भए नेपालका सबै क्षेत्रमा पहुँच राख्न सक्दछ । ”
हाम्रो समाजमा आफूले गर्न केही नखोज्ने, अरुले गरेको देख्दा डाह लिने प्रवृत्तिले गर्दा विभाजनको मानसिकतामा अगाडि बढेको सांसद खानले भने । यस्तो प्रवृत्ति रोक्नका लागि आफूले रुपन्देहीका धेरै स्कुलहरुमा शैक्षिक गुणस्तरको लागि अभियान चलाइरहेको समेत बताए ।
यही अभियान अन्र्तगत उनले जिल्लाको बगाहा गाविसमा रहेको बगाहा प्रा.वि.लाई मा.वि स्तरमा स्तरोन्नति गर्न निकै ठूलो आर्थिक देखि भौतिक र बौद्धिक सहयोग उपलब्ध गराएको स्थानीयहरु बताउँछन् । उनले उक्त विद्यालय संचालनका लागि कम्प्युटरदेखि शिक्षक तलब र भौतिक संरचना निर्माणमा व्यक्तिगत रुपमा र सांसद विकास कोषबाट ठूलो रकम सहयोग गरेका छन् ।
बगाहा मा.वि.का प्रधानाध्यापक अजयमणि त्रिपाठीले विद्यालय संचालनका लागि सांसद खानले अमूल्य सहयोग गरिरहेको बताउँदै उनको सहयोग बिना यहाँका बालबालिकाको अध्ययन अध्यापन गराउन निकै कठिन रहेको बताए । विद्यालयमा निजी स्रोतबाट राखिएका शिक्षकहरुको मासिक तलब समेत सांसद खानले नै दिएका छन् भने डेस्क, बेन्च देखि खानेपानीको व्यवस्था समेत उनकै पहलमा भइरहेको प्रधानाध्यापक त्रिपाठीले बताए ।
सांसद खानले आर्थिक सहयोग मात्रै गरेका छैनन्, टोल–टोल र गाउँ–गाउँका बालबालिकाहरुलाई विद्यालयसम्म जाने वातावरण समेत सिर्जना गरेका छन् । शिक्षा सबैको लागि आवश्यक छ । शिक्षाबिना यो समाज कहिल्यै परिवर्तन हुन नसक्ने भन्दै सांसद खानले बालबालिकाका अभिभावक, शिक्षाप्रेमीहरु देखि आम सर्वसाधारणहरुलाई समेत सम्झाईबुझाई गर्ने गरेको देखिन्छ ।
अधिकांश मधेसी समुदायका बालबालिकाहरुले अध्ययन गर्ने यस बगाहा मा.वि.मा छात्र भन्दा छात्राको संख्या बढी रहेको छ । जसको श्रेय सांसद खानकै हो । उनले सबैको पहुँचमा शिक्षा आवश्यक रहेको बुझेर आफ्नो क्षमता र बौद्धिकता समाजमा लगानी गरेपछि मधेसी समुदायका छात्राहरु समेत अहिले विद्यालय पुगेर आफ्नो अध्ययनलाई उच्च प्राथमिकतामा राखेको देखिन्छ ।

यस मा.वि.मा २ सय ५४ जना छात्रा छन् भने २ सय १ जना छात्र रहेको विद्यालयको रेकर्डमा देखिन्छ । वि.सं २०१७ सालमा स्थापना भएर पनि लामो समयसम्म प्रा.वि. स्तरमा संचालन भइरहेको यस विद्यालय २०६३ सालपछि नि.मा.वि. हुँदै अहिले मा.वि. हुने तर्खरमा कक्षा ९ सम्म पुगेको छ । १३ जना शिक्षक शिक्षिका र १ जना पियन कार्यरत रहेको यस विद्यालयमा अझ पनि भौतिक पूर्वाधार र डेस्क, बेञ्चको कमी रहेको विद्यालय प्रशासन शाखाले जनाएको छ ।
केही मात्रामा गाविस तथा जिविसको आर्थिक सहयोग समेत सांसद खानको पहलमा हुने गरेपनि यो पर्याप्त नभएपछि सांसद खान आफैले व्यक्तिगत रुपमा समेत विद्यालयलाई आर्थिक सहयोग गर्दै आइरहेको विद्यालयको व्यवस्थापन समितिले जनाएको छ । यस विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट संसद भवनमा प्रतिनिधित्व गर्ने यी सांसद खानले बगाहा मा.वि.लाई कक्षा १० सम्म यो वर्षदेखि संचालनमा ल्याउने र उच्च मा.वि. सम्मको अध्ययन गर्ने व्यवस्था समेत आफ्नो योजनामा रहेको लुम्बिनीखबरलाई बताए ।
बगाहा गाविस, सिनपाको वडा नं १ बेलहिया क्षेत्र र वसन्तपुर गाविसका विद्यार्थीहरुले अध्ययन गर्ने यस विद्यालयमा सीमा क्षेत्र भारतको सुनौलीबाट समेत विद्यार्थीहरु आउने गरेको विद्यालय प्रशासन शाखाले जनाएको छ । जिल्लाका हाटी फर्साटिकरमा रहेको विद्यालय र मर्चवारमा रहेको गैरगट्टी मा.वि.मा समेत सांसद खानले सहयोग गरेका छन् ।
सिद्धार्थनगर नगरपालिका वडा नं १ बेलहियाका पुराना बासिन्दा खानको परिवार यस क्षेत्रको प्रतिष्ठित परिवारभित्र समेत पर्दछ । उनको परिवारले विगतदेखि नै समाजसेवामा धेरथोर सहयोगहरु पु¥याउँदै आएको छ । पछिल्लो समय आफू सांसद नहुँदादेखि नै सांसद खानले शिक्षा क्षेत्रमा निरन्तर सहयोग पु¥याउँदै आइरहेका छन् । उनको यो उदाहरणीय काम विभिन्न राजनीतिक दलका नेताहरुले समेत अनुसरण गर्न आवश्यक देखिन्छ । शिक्षामा सबैको पहुँच भएमा देशको विकास, शान्त देश, समृद्ध देश हुनेमा धेरै पर्खिनुपर्ने थिएन ।