logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    मापदण्ड विपरीत चल्दै बोर्डिङका बसहरु


    १४ बैशाख २०७४ , बिहिबार

    मापदण्ड विपरीत चल्दै बोर्डिङका बसहरु

    कमल रायमाझी
    भैरहवा, वैशाख १४ । निजी क्षेत्रबाट सञ्चालित संस्थागत विद्यालयहरुले संचालन गरेका विद्यार्थी ओसारपसार गर्ने बसहरु सरकारको मापदण्ड विपरीत रहेको पाइएको छ । रुपन्देहीमा रहेका ३१२ संस्थागत विद्यालयहरुमध्येका अधिकांश विद्यालयहरुले विद्यार्थी ओसारपसार गर्नका लागि बसहरु प्रयोग गर्ने गरेका छन् । जुन सरकारले तोकेको मापदण्ड भन्दा विपरीत रहेको जनगुनासोहरु समेत बेलाबखतमा आउने गरेको छ ।

     

    संस्थागत विद्यालयहरुले संचालन गरेका बसहरुमा मुख्य समस्या भनेको सिट क्षमता भन्दा बढी विद्यार्थीहरु बसभित्र कोचेर बोक्ने गरेको देखिन्छ । जसका कारण कलिला बालबालिकाहरु घरबाट विद्यालय पुग्न र विद्यालयबाट घर फिर्ता हुन समस्या आउने गरेको अभिभावकहरुले समेत बताउने गरेका छन् ।

    अभिभावक रमेश मुराउले आफ्ना छोराछोरी विद्यालय पठाउनका लागि बस प्रयोग गर्दा बस भाडा पनि विद्यालयलाई बुझाउने गरेको बताउँछन् तर बसमा आफ्ना छोराछोरी कहिल्यै पनि सिटमा बसेर जान नपाएको र समयमा बसले ल्याउने र लैजाने नगरेको गुनासो गरे । उनले भने “कहिले बस ९ बजे नै आउँछ, कहिले ९ः३० मा आउँछ र कहिले ९ः४५ बजे आउँछ । समय नै निश्चित छैन र ३६ सिटको बसमा ६० जनासम्म बालबालिकालाई कोचेर लैजाने गरेको छ । त्यसको अनुगमन कसले गर्ने ?”

    संस्थागत विद्यालयहरुले विद्यार्थीसँग यातायात सेवाको नाममा मोटो रकम असुली गरेतापनि सुविधा भने केही दिएको देखिँदैन । पुराना र सरकारले तोकेको मापदण्ड विपरीत बसहरु सञ्चालनमा ल्याउने काम बोर्डिङ स्कुलले गर्दा कलिला बालबालिकाहरुको समस्या उनीहरुले बुझ्न सकिरहेका छैनन् । सरकारले संस्थागत विद्यालय मापदण्ड तथा संचालन निर्देशिका २०६९ अनुसार विद्यार्थी बोक्ने सवारीसाधनको मापदण्ड तोकेर लागू गर्न जिल्ला शिक्षा कार्यालयहरुलाई निर्देशन दिएको छ ।

    निर्देशिका अनुसार विद्यार्थी बोक्ने बसहरु सुन्तला रङ्गको हुनुपर्नेछ ।  सवारी साधन भाडाको भएमा विद्यार्थी बोकेको सवारी साधन भन्ने शब्दावली प्रयोग गरिनुपर्ने शिक्षा निर्देशिकामा रहेको छ । त्यस्तै विद्यार्थी बोक्ने सवारी साधन विपरीत दिशातर्फ सिट फकाईएको हुनुहुँदैन । सवारी साधन नियमित मर्मत सम्भार गरिएको हुनुपर्नेछ । चालक तथा सहचालक आचारसंहिता बनाई लागू हुनुपर्नेछ । नेपाल सरकारबाट भन्सार छुट पाएको भए नेपाल सरकारबाट भन्सार÷राजश्व छुट पाएको भनी लेख्नुपर्नेछ । सबै स्कुल बसहरुमा प्राथमिक उपचारका लागि सामग्री सहित उपचार बाकस अनिवार्य रुपमा राखिएको हुनुपर्नेछ । विद्यार्थी बोक्ने बसहरुको भौतिक संरचना विद्यार्थीको स्वास्थ्य अनुकुलको हुनुपर्नेछ । सिट क्षमता भन्दा बढी विद्यार्थी बोक्न नपाइने  र उपत्यका भित्र कक्षा १ देखि ५ सम्म विद्यार्थीहरुलाई १२ किलोमिटरको दूरीसम्म पुगेर ल्याउन पाइने, ६ कक्षा भन्दा माथिका विद्यार्थीलाई १८ किलोमिटरको दूरीसम्म पुगेर ल्याउन पाइने व्यवस्था रहेको छ । उपत्यका बाहिरको हकमा भने कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुलाई १५ किलोमिटरको दुरीसम्म पुगेर ल्याउन पाइने, ६ कक्षा भन्दा माथिका विद्यार्थीलाई २५ किलोमिटरको दूरीसम्म पुगेर ल्याउन पाउने प्रावधान रहेतापनि यहाँका केही विद्यालयहरुले बुटवलदेखि लुम्बिनी र मर्चवारसम्म ५० किलोमिटरको दूरीमा पुगेर विद्यार्थी ल्याउने लैजाने गरिरेका छन् ।

    राज्यले जारी गरेको शिक्षा निर्देशिका अवज्ञा गरे जिल्ला शिक्षा कार्यालय र स्थानीय प्रहरी प्रशासनले अनुगमन तथा कारबाही गर्ने व्यवस्था भएतापनि रुपन्देहीमा यो हुन सकेको छैन ।  विभिन्न विद्यार्थी संगठनहरुले बेला–बेलामा गुन्द्रुक खाँदेझैँ विद्यार्थीहरुलाई बोर्डिङ स्कुलले बसमा कोचेर अकुत आम्दानी गरिरहेको भन्दै विरोधहरु गर्ने गरेतापनि यसको खासै पालना भएको देखिँदैन ।

    क्षमताभन्दा बढी विद्यार्थीहरु बसमा कोचेर नाफा देख्ने विद्यालय संचालकहरुले कलिला बालबालिकाहरुको पीडा बुझ्ने इच्छा नदेखाउँदा समस्या हुने गरेको समेत अभिभावकहरुले बताउने गरेका छन् । जसका कारण संस्थागत विद्यालयहरुको कमाउ स्वार्थबाट अभिभावक समेत पीडित भएको पाईन्छ ।  यस विषयमा जिल्ला शिक्षा कार्यालय रुपन्देहीका प्रमुख जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापासँग बुझ्दा उनले शिक्षा नियमावलीले तोकेको मापदण्ड अनुसार संस्थागत विद्यालयहरुबाट संचालित केही बसहरु मापदण्ड विपरीत भएको गुनासाहरु आउने गरेकाले जिल्ला ट्राफिक कार्यालय रुपन्देहीलाई कारबाहीका लागि अनुरोध गरिएको बताए ।

    उनले विद्यार्थी बोक्ने बसहरु अनिवार्य रुपमा शिक्षा निर्देशिका २०६९ को मापदण्ड अनुसार नै चल्नुपर्ने भएकाले निर्देशिका उल्लंघन गर्नेलाई कडा भन्दा कडा कारबाही गर्न जिल्ला शिक्षा कार्यालयले तयारी सुरु गरेको समेत जानकारी दिए ।

    जिल्ला ट्राफिक कार्यालय रुपन्देहीका प्रमुख दक्ष कुमार बस्नेतले समेत रुपन्देहीका बोर्डिङ स्कुलहरुले संचालनमा ल्याएका विद्यार्थी बोक्ने सवारी साधनहरु पुराना र मापदण्ड विपरीत संचालन भएको पाइएकाले यस क्षेत्रको प्रतिष्ठित  बोर्डिङ स्कुल लगायतका अन्य विद्यालयहरुलाई नयाँ बस संचालनमा ल्याउन र सिट क्षमता अनुसार विद्यार्थी बोक्न निर्देशन दिएको बताउँदै अब तीव्र रुपमा चेकजाँच गरिने समेत बताए ।

    सामूहिक विद्यालय परिवारका अध्यक्ष प्रेम नारायण पौडेलले सामूहिक विद्यालय परिवारमा आबद्ध सदस्य विद्यालयहरुलाई शिक्षा निर्देशिका अनुसार आफ्ना सवारी साधनहरु संचालनमा ल्याउन निर्देशन दिएको बताउँदै  मापदण्ड विपरीत कार्य गर्नेहरुलाई जिल्ला शिक्षा कार्यालय र जिल्ला ट्राफिक कार्यालयले कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.