लुम्बिनीखबर
भैरहवा, वैशाख २४ । महामानव गौतम बुद्धको जन्मस्थान लुम्बिनीको विकास राजनीतिक हस्तक्षेप र अस्तव्यस्त राजनीतिक नियुक्तिका कारण भएको सरोकारवालाहरुले बताएका छन् ।

नेपाल पत्रकार महासंघ रुपन्देहीले शनिबार भैरहवामा राखेको लुम्बिनीको विकासमा राष्ट्रिय चासो विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै लुम्बिनीका स्थानीय वासिन्दा, संघसंस्था तथा बुद्धिजीवीहरुले यो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै प्रा.डा. कपिलदेव लामिछानेले विकास कोषको लापरबाहीका कारण बुद्धको जन्मस्थान लुम्बिनी ओझेलमा परेको बताउँदै यहाँका पदाधिकारी र सरकार यसप्रति गम्भीर नभएको आरोप लगाए ।
उनले नेपालको सगरमाथा र लुम्बिनी पर्यटकको आकर्षण केन्द्र भएतापनि राजनीतिक खिचातानी र अदूरदर्शी नीतिका कारण धरापमा परेको समेत जनाए । त्यस्तै साहित्यकार तथा लेखक वनमाली निराकारले लुम्बिनी र यसले ओगटेको तिलौराकोट, देवदह, रामग्राम तथा सबै बुद्ध सर्किटहरुको विकास आजको आवश्यकता भएकोले लुम्बिनी विकास कोष यसमा चनाखो भएर अगाडि बढ्नुपर्ने बताएका थिए । उनले आपसी स्वार्थका कारण देशको गौरवको संस्था ओझेलमा पार्न नहुने तर्क समेत व्यक्त गरे ।
अन्तक्र्रिया कार्यक्रममा बोल्दै भैरहवा मर्निङ वाक गु्रपका अध्यक्ष ओमकार गौचनले सरकारैपिच्छे विकास कोषको नीतिहरु पनि बदलिँदै जाँदा ठोस योजना र विकासले गति लिन नसकेको गुनासो गरे । उनले लुम्बिनी जाने भैरहवाको बुद्धचोकमा रहेको लुम्बिनीगेट आफ्नो पहलमा निर्माण गरिएको र गेट निर्माण गर्दा सिद्धार्थनगर नगरपालिका, सडक डिभिजन कार्यालय र लुम्बिनी विकास कोषसँग सहकार्य गरेर बनाइएकाले यसको स्थायित्वका लागि सबैले पहल गर्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा युवा नेता अजय गुप्ताले लुम्बिनी हाम्रो पहिचान भएकोले त्यस क्षेत्रका सभासद्लाई समेत यस्ता अन्तक्र्रिया कार्यक्रममा सहभागी गराउँदा सही निष्कर्ष निस्कन सक्ने बताए । विकास कोषमा आन्तरिक द्वन्द्वका कारण यहाँको विकास निर्माणदेखि प्रशासनिक कार्यहरु समेत अस्त व्यस्त रहेको बताउँदै लुम्बिनी प्रेस क्लबका अध्यक्ष माधव ढुंगानाले राजनीतिक नियुक्ति बन्द गरेर सरकारले लुम्बिनी विकास कोषमा कार्यकारी अधिकृतको व्यवस्था ल्याउनुपर्ने माग गरे ।
उनले भने, “राजनीतिक दलहरुको भर्ती केन्द्रको रुपमा नेपालीको आस्थाको धरोहर लुम्बिनी प्रयोग हुन नहुने भन्दै राज्यले यसको विकासमा विशेष पहल गर्नुपर्ने बताए । अग्रज पत्रकार भरत पोखरेलले समेत लुम्बिनीमा चढाइने करोडौँ भेटीको हिसाबकिताब गोप्य राखिनु र हिनामिना गरिनु दुर्भाग्य भएको भन्दै यसको सार्वजनिकीकरण आजको आवश्यकता रहेको बताए ।
कार्यक्रममा साहित्यकार लक्ष्मी शर्माले सामान्य पर्यटकीय स्थानहरुलाई युरोप र अन्य विकासशील देशहरुले विभिन्न परियोजना निर्माण गरी आकर्षणको केन्द्र बनाउँदै आर्थिक आम्दानीको मुख्य स्रोतमा रुपान्तरण गर्दा सबैको आस्था रहेको लुम्बिनीमा सरकारले ध्यान नदिनु गलत रहेको बताईन् ।
कार्यक्रममा सह–प्राध्यापक उमेशचन्द्र रिजाल, अंकुर नेपालका निर्वतमान अध्यक्ष गम्भीर गुरुङ, पर्यटन व्यवसायी सागर अधिकारी, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रिय उपाध्यक्ष मनिष कुमार जोशी, पत्रकारहरु बालकृष्ण चापागाई, शेर बहादुर के.सी., दिपक ज्ञवाली, दिनेश पाण्डे, इन्दिरा अर्यालले लुम्बिनी संचार माध्यमसँग सहकार्य गरेर अगाडि बढ्न नखोजेको बताउँदै नारायणहिटी राजदरबारमा हिजो राजाको जन्मोत्सवमा सर्वसाधारणले भित्र प्रवेश गर्ने अनुमति पाएझैँ लुम्बिनीले पनि बुद्ध जयन्तीको अवसरमा सबैलाई निम्ता गर्ने गरेको बताए ।
उनीहरुले विकास कोषका पदाधिकारीहरु आपसी द्वन्द्वका कारण यहाँको विकास निर्माणदेखि पर्यटन क्षेत्र धरापमा परेको बताउँदै कर्मचारी समेत बिनासित्तै आन्दोलन गर्नु उचित नभएको कुरा व्यक्त गरे । लुम्बिनी र यसको विकासमा राष्ट्रिय चासो विषयक अन्र्तक्रियामा आफ्नो कार्यपत्र प्रस्तुतीकरण गरेका लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङले बुद्धहरुको आस्थाको केन्द्र लुम्बिनीमा आफू सदस्य सचिव भएर आएपछि सबैभन्दा बढी विकास निर्माणका काम सम्पन्न गर्न सफल भएको बताउँदै यसलाई निरन्तरता दिन आफू प्रतिबद्ध रहेको बताए ।
सरोकारवालाहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै उनले सकारात्मक सोच नहुदा नै नेपालीहरु पछाडी परेको जनाउदै कुलमान घिसिङ पनि राजनितिक नियुक्ती भएर आएको मान्छे भएर नै आज देश लोडसेडिङ मुक्तको दिशामा अगाडी वढेको वताए । उनले लुम्बिनीको विकासमा केहि कुरा वाधकको रुपमा देखा परेपनि राजनितिक नियुक्ती नै सवै जिम्मेवारी नभएको कुरा व्यक्त गरे । सवैले लुम्बिनीको विषयमा चासो र सरोकार राखेमा यहाँका पदाधिकारी र कर्मचारी समेत सचेत भएर अगाडी वढने भन्दै कुरा भन्दा काम गर्नु पर्ने सदस्य सचिव तामाङले भने ।
कार्यक्रममा लुम्बिनी र यसको विषयमा उठेका समस्या र सुरक्षा चुनौतिका वारेमा भने प्रमुख जिल्ला अधिकारी विनोद प्रकास सिंहले चासो दिएका थिए । उनले कसैलाई सुरक्षाको खतरा छ भने भन्नुहोस म तपाईलाई के गर्नु पर्छ तयार छु । तर लुम्बिनी र यसको विकासमा कसैले यो वा त्यो वहानामा समस्या निकाल्न नहुने वताए । रुपन्देहीका दुई वटा समस्या अहिले पनि रहेको वताउदै उनले गौतम बुद्ध अन्तराष्ट्रिय विमान स्थल निर्माण र लुम्बिनीमा आन्तरिक समस्याले जिल्ला प्रशासन कार्यालय समेत सहजकताका साथ अगाडी वढेको जानाकारी दिए ।
विभिन्न वहानामा राष्ट्रिय आयोजनाहरु को विकासमा वाधा पु¥याउने र आपसी झैझगडामा अल्झीने वानीले समस्या निम्तिएको समेत प्रमुख जिल्ला अधिकारी सिंहले बताए । नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव राम प्रसाद आर्चायको सञ्चालन तथा कार्यक्रम संयोजक तथा महासंघकी उपाध्यक्ष निरु गौतमको स्वागत रहेको थियो । अन्तरक्रिया कार्यक्रममको अध्यक्ष तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका सभापति यानेन्द्र जिसीले सहभागीलाई धन्यवाद ज्ञापन तथा कार्यक्रमको समापन गरेका थिए ।