logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    मन्त्रीकै ठेक्का, जनतालाई सास्ती


    २५ जेष्ठ २०७४ , बिहिबार

    मन्त्रीकै ठेक्का, जनतालाई सास्ती

    नरेश के.सी.
    भैरहवा, जेठ २५ । राप्रपाका नेता तथा पूर्व मन्त्री विक्रम पाण्डेले ठेक्का सम्झौता गरी निर्माण कार्य थालेको बुद्धचौक सडकखण्ड अहिले अलपत्र परेको छ । राष्ट्रिय गौरवको आयोजना बेलहिया बुटवल व्यापारिक मार्ग अन्तर्गतको सो सडक खण्ड २०७३ असार ३१ मा सम्पन्न गर्ने गरी सांसद समेत रहेका पाण्डेको निर्माण कम्पनीले ठेक्का लिएको थियो । तर अहिले एक वर्ष बितिसक्दा समेत निर्माण कार्यको प्रगति सन्तोषजनक देखिएको छैन ।

     

    एक दिन परेको पानीको कारण निर्माणाधीन छ लेन सडक पुर्णतया डुब्दा सवारी आवतजावत र पैदलयात्रु हिडडुलमा समस्या परेको छ । तस्बिर/लुम्बिनीखबर

    बेलहिया बुटवल व्यापारिक मार्ग अन्तर्गतको उक्त सडक निर्माणको ठेक्का कालिका तामाङ प्यासिफिकले लिएको थियो ।  २०७२ असार १ (१६ जुन २०१४) मा कालिकाले २०७३ असार ३१ (१५ जुलाई २०१६) भित्र निर्माण सम्पन्न गर्ने गरी ४५ करोड ६४ लाख १ हजार ४ सय ८६ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । उक्त लागतमा ठेकेदार कम्पनीले डण्डामा ४० मिटर लम्बाई र १० मिटर चौडाईको पक्की पुल, डण्डा पुलदेखि सीता नर्सरी सम्म ७ सय मिटर बाटो र बर्मेलीटोलदेखि अञ्चलपुर सम्म १४ सय मिटर बाटो निर्माण गर्ने गरी सम्झौता गरेको थियो ।

    अहिले सम्झौता अनुसारको समय सकिएको एक वर्ष बितेको छ । तर कामको प्रगति भने फाइनान्सियल हिसाबले ५२ प्रतिशत र भौतिक हिसाबले ६० प्रतिशत मात्रै भएको सो साइट हेर्ने बेलहिया बुटवल व्यापारिक मार्ग आयोजनाका इन्जिनियर योगेन्द्र अधिकारीले बताए । उनले भने ‘काम जुन गतिमा हुनुपर्ने  हो, त्यो हुन सकेको छैन । धेरै ढिला भइरहेको छ । ’

    पछिल्लो समयमा ठेकेदार कम्पनीले २०७४ साउन १९ गते निर्माण सम्पन्न गर्ने गरी आयोजनासँग म्याद थप गरेको थियो । सो म्याद पनि आउन अब करिब २ महिना छँदा सम्म कामले तीब्रता नपाउँदा आयोजनाको काम नै प्रभावित भएको छ । काममा भएको ढिलाईको बारेमा आयोजनाले बारम्बार निर्माण कम्पनीलाई लिखित रुपमा ताकेता गरेको भएता पनि शक्ति र सत्ताको भरमा आयोजनाको निर्देशनलाई टेरपुच्छर लगाएको छैन । आयोजना प्रमुख जिबेन्द्र मिश्रले निर्माणको जिम्मा लिने अनि  शक्ति र सत्ताको भरमा ढिलाई गरेर, अटेर गरेर बस्ने, जो सुकै भएपनि कारबाही गरिने जनाए ।

    बर्मेलीटोलदेखि अञ्चलपुर क्षेत्रमा अहिले हिँड्नै नसकिने गरी खाल्डाखुल्डी मात्र छ । डण्डामा निर्माणाधीन आरसीसी ब्रिज त्यतिकै अलपत्र छ । काम भइरहेको छ तर अत्यन्तै ढिला गतिमा भइरहेको छ । ठेकेदार कम्पनिका मान्छेलाई भन्दा भन्दै वाक्क भएपछि  बुद्धचौक क्षेत्रका स्थानियहरुले गत कार्तिक महिनामा सिडिओ कार्यालयमा उजुरी गर्न पुगे । पछि सिडिओको संयोजनमा स्थानिय बासिन्दा र निर्माण कम्पनिका प्रतिनिधिबीच छलफल भई समयै काम सम्पन्न गर्ने, नियमित धुलाम्मे सडकमा पानी हाल्ने, संकेत चिन्ह राख्ने, व्यस्त सडकमा सवारी साधन र पैदल यात्रुको सेवालाई प्रभावित नगर्ने जस्ता सहमति भए ।

    तर ती सहमति  ठेकेदार कम्पनीले केही दिन लागू गरेजस्तै गरेता पनि पुनः रद्धिको टोकरीमा थन्काइदिएको नागरिक अगुवा विष्णु प्रसाद मरासिनीले जनाए । उनले भने ‘ निर्माणकर्ताले सम्झौता अनुसार कामै गरेको छैन । हिउंँदभरी धुलो खाइयो, वर्षातमा हिलो । हामी जनताले कहिलेसम्म सास्ती खेप्ने ? ’

    ठेकेदारको लापरवाहीको कारण अहिले लुम्बिनीको प्रवेशद्वार भैरहवाको केन्द्र बर्मेलीटोल क्षेत्रमा आवतजावतमा ठूलो समस्या परेको हो । सवारीसाधनको अत्यन्तै चाप हुने उक्त क्षेत्रमा ठेकेदार कम्पनीले जथाभाबी खनेका खाल्डाखुल्डी र त्यहांँ जमेको पानीको कारण वर्षातको बेला आजभोलि पैदलयात्रुहरु सो बाटो हिँड्दा सास्ती खेप्नु परेको छ । पैदल यात्रु मात्रै होइन रिक्सा चालक, साइकल चालक र मोटर साइकल चालकले पनि त्यस्तै सास्ती खेप्नु परेको देखिन्छ । ठूला ठूला दसचक्के गाडीहरु समेत हिँड्ने सो सडक खण्डका खाल्डामा जमेको पानी सवारी साधनको तिब्र गतिमा थिचिँदा छेउछाउका घरहरु पनि हिलाम्मे बनेका छन् ।

    यता ठेकेदार कम्पनीले समयमै कच्चा पदार्थ नपाउँदा काममा ढिलाई भएको बताएको छ । कालिका तामाङका इन्जिनीयर रामु ज्ञवालीले भने ‘गिट्टी, ढुंगा, बालुवा पाइएन त्यसैले ढिला भएको हो । ’ ज्ञवालीले काम समयमै हुन नसकेको स्वीकार्दै खाल्डाखुल्डी पुर्ने प्रयास भइरहेको बताए । निर्माण कम्पनीका प्रतिनिधिले त्यसो भनिरहँदा आयोजनाले सेमरी नाकाबाट १६ हजार घन मिटर र नयाँमिल नाकाबाट ४ हजार घनमिटर कच्चापदार्थ निकासा गरिदिएको बताएको छ ।

    शुरुमा ठेक्का लिई पेश्की रकम लिन तँछाडमछाड गर्ने ठेकेदार कम्पनीले अहिले सडक निर्माणको काम यत्तिकै अलपत्र पारेको छ । राष्ट्रिय गौरवको यो आयोजना अधुरो मात्रै नभएर अलपत्र अवस्थामा परेको छ । काम गर्न नखोज्ने तर सोर्स फोर्स लगाएर समयावधि थप्ने ठेकेदारहरुको मनोवृति कालिका तामाङमा देखिएको छ ।  बहुवर्षीय ठेक्काको रुपमा रहेको राष्ट्रिय गौरवको यो आयोजना समयमा पुरा नहुँदा यस क्षेत्रमै बनिरहेको अन्तराष्ट्रिय विमानस्थल, लुम्बिनी विश्व शान्ति शहर जस्ता सरकारका अन्य आयोजना समेत प्रभावित हुने देखिन्छ ।

    बेलहिया बुटवल व्यापारिक मार्ग २७ किलोमिटरको रहने र सो क्षेत्रमा पुल, ओभरहेड ब्रिज देखि दायाँबायाँ सडक, सेन्टर सडक, बीचमा ३ मिटर ग्रीनरी, नाला, फुटपाथ सहित अन्तर्राष्ट्रिय स्तरको बनाउने योजनामा छ । यसको शुरुवातको लागत ४ अरब १६ अनुमान गरिएता पनि पछि गोलपार्कसम्म सडक थपिएपछि अहिले ६ अरब पुगेको छ ।

    उक्त सडक बनाउन शुरुमा साना शहरी एकीकृत वातावरणीय सुधार आयोजना अन्तर्गत एशियाली विकास र्बैंकले चासो देखाई २ अर्ब ४२ करोड दिने इच्छा जाहेर गरेता पनि पछि डा. बाबुराम भट्टराईको पहलमा सो सडक नेपाल सरकारले नै बनाउने गरी काम अगाडि बढाइएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.