logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    शिक्षा क्षेत्रमा अब्बल बन्यो रुपन्देही


    २५ भाद्र २०७४ , आइतबार

    शिक्षा क्षेत्रमा अब्बल बन्यो रुपन्देही

    अरुण ज्ञवाली
    भैरहवा भदौ २५ । विगत केही वर्षयता आर्थिक हबको रुपमा विकास हुँदै गएको रुपन्देही पछिल्लो समय शैक्षिक हबको रुपमा पनि विकास हुँदै गएको छ । जिल्लाका विभिन्न संकायका शिक्षा, स्वास्थ्य, कृषि, इन्जिनियरिङ लगायतका क्षेत्रमा अध्यापन हुने गरेका कारण रुपन्देही शैक्षिक हब बन्दै गएको हो । पछिल्ला दिनहरूमा रुपन्देहीका उच्च शिक्षाका लागि विकल्पका रूपमा अन्य जिल्ला वा राजधानी जानुपर्ने अवस्थाको अन्त्य हुन थालेको छ ।

     

     

    जिल्लाको भैरहवा, बुटवल, मणिग्राम लगायतका क्षेत्रहरूमा उच्च शिक्षा अध्ययनका लागि स्तरीय कलेजहरू सञ्चालनमा रहेका छन् । जसमा शिक्षा, स्वास्थ्य, कृषि, इन्जिनियरिङ लगायतको विषयमा अध्यापन हुने गर्दछ ।

    विगत ५ वर्षअघि एसएसली परीक्षा दिएर उच्च शिक्षाका लागि यस क्षेत्रका विद्यार्थीहरू अन्य क्षेत्रमा जाने अवस्था रहेकोमा अहिले त्यो अवस्थाको अन्त्य भएको छ । गत वर्ष र यस वर्षको एसइई कक्षा ११ र १२का परीक्षाहरूमा देखिएको परिणामअनुसार रुपन्देही देशभरिमै सर्वोत्कृष्ट भएको छ ।

    विगतदेखि रुपन्देहीमा नै एसइई परीक्षामा ४ जिपिए ल्याएका विद्यार्थीहरू रहेका छन् । यसले रुपन्देही जिल्लाको शिक्षा क्षेत्रमा फड्को मारेको देखिएको छ । विगतमा यस क्षेत्रका विद्यार्थीहरू एसएसली पछि उच्च शिक्षा हासिल गर्नका लागि विशेष काठमाडौं जाने प्रचलन थियो, तर अब रुपन्देही जिल्लामै विभिन्न विषयमा अध्यापन हुन थालेपछि यस क्षेत्रका विद्यार्थीहरू यहीँ अध्ययन गरिरहेको मुनलाईट आवासीय उच्च माबिका सँचालक बिएन शर्माले बताए । उनले विद्यार्थीको माग अनुसार बिषयगत अध्यन गराउन सके विद्यार्थी बाहिर नजाने बताउँदै गुणस्तरीय शिक्षामा जोड दिएमा रुपन्देही शिक्षा क्षेत्रमा पनि अब्बल हुने दाबी गरे ।

    शिक्षा नियमावलीमा पनि १० कक्षासम्म सञ्चालनमा रहेको विद्यालयले १२ कक्षासम्म अनिवार्य अध्यापन गराउनुपर्ने बाध्यकारी नीति लागू गरेपछि यस क्षेत्रका विद्यालयहरूले उच्च शिक्षाका साथै गुणस्तरीय शिक्षा प्रदान गरिरहेका छन् । त्यसकारण पनि यस क्षेत्रका विद्यार्थीहरू उच्च शिक्षाका लागि अन्यत्र जाने क्रम रोकिएको छ । १० कक्षासम्म सञ्चालनमा रहेका विद्यालयले उच्च शिक्षाका लागि विद्यालयलाई अपग्रेडपश्चात विद्यार्थीहरू पनि एसएलसी दिएकै विद्यालयमा अध्ययन गर्ने क्रम पनि बढेको छ ।

    एसएलसीपश्चात उच्च शिक्षा हाँसिल गर्नका लागि अन्यत्र जाने विद्यार्थीहरूलाई आर्थिक भार पनि परेको छैन । नेपालमा विभिन्न विषय पढेका विद्यार्थी विदेशी कलेजमा पढेकाभन्दा अब्बल रुपमा अघि आएका छन् । विभिन्न स्टार्टअप कम्पनीहरुमा नेपाली कलेजमै पढेका विद्यार्थी बाक्लो रुपमा देखिनुले अवसरका अनेकन सम्भावनाहरुलाई उजागर पनि गरेका छन् ।

    नसक्नेले मात्र नेपालमा पढ्ने भन्ने आम धारणा विपरीत राम्रो नम्बर ल्याएका, राम्रै आर्थिक हैसियत भएका विद्यार्थीको आकर्षण किन नेपालको उच्च शिक्षाप्रति देखिएको होला ? अब के विदेशिने विद्यार्थीलाई नेपालमै पनि अवसरहरु छन् भन्ने देखाउन सकिने समय आएको हो ? यो अहिले बहसको विषय बनेको छ ।

    विदेशी भन्दा कम छैन
    नेपालमा अहिले शैक्षिक वातावरण सुध्रँदै गएको छ । अहिले विदेशमा पढ्न जाने एउटा लहड चलेको छ । यो घट्ने स्थितिमा देखिएन । तर, एउटा समयमा यो रोकिनु त पर्छ नै । नेपालको शैक्षिक वातावरणलाई थप विश्वसनीय बनाउन र विद्यार्थीलाई स्वदशेमै रहेर पढ्न र काम गर्न सरकोरवालाहरुले प्रोत्साहन गर्ने प्रयास नै गरेनन् । सरकारले पनि हजारौंँ विद्यार्थी पढाइकै लागि बाहिरिरहेको अवस्थालाई समान्य मानेको छ । अब नेपालको शैक्षिक गुणस्तर बाहिर सोचिए र भनिएजस्तो छैन । हामीले पढाएका विद्यार्थी आज विश्वबजारमा जहाँ पनि सक्षम बनेर प्रस्तुत हुने अवस्था छ ।

    महत्वपूर्ण कुरा के भयो भने यहाँ पढ्दिन भनेर बाहिर गएका विद्यार्थी यहाँको भन्दा कम गुणस्तरको अध्यापन हुने कलेजमा पुगेका छन् । कमजोर कोर्सलाई उनीहरुले त्यहाँ गएर पढ्नुपरेको छ । यहाँ दलालको चक्करमा लाखौं बुझाएर उनीहरु बाहिरिरहेका छन् । यहाँ बस्दा हुने फाइदालाई न त विद्यार्थीले बुझिरहेका, न त अभिभावकले नै ।

    यहाँ बस्दा परिवारसँग बस्न पाइन्छ । प्राय ः अहिले विदेशमा पढ्न जाने विद्यार्थीको वर्ग हर्दा १८ देखि २२ वर्षका छन् । यो उमेर भनेको परिवारसँग नै रहने हो । यही उमेरमा नै परिवारले आफ्ना सन्तानको विशेष ख्याल गर्नुपर्ने हो । तर, यहाँ उल्टो भइरहेको छ । आफुसँग बच्चा बसोस् भन्ने सोच्नुभन्दा बाहिर जाओस् र सानैदेखि कमाओस् भन्ने धारणा अभिभावकमा देखिने गरेको छ ।

    यसले गर्दा विदेश पुगेका विद्यार्थीहरुबारे दैनिकजसो दुःखद् खबरहरु सुन्नु परेको छ । नेपालमै म्यानेजमेन्ट, आईटी, नर्सिङ लगायतमा निकै उच्च गुणस्तरको पढाइ हुने गर्छ । तर, यसलाई किन विश्वास गरिएन भन्ने समीक्षा गर्ने बेला भएको छ । राम्रो पढ्ने विद्यार्थी नेपालमै नरहने र विदेश गएर पनि उतै हराउने स्थितिले देशलाई अध्याँरोमा धकेलिरहेको छ ।

    यहाँ प्राप्त हुने उत्कृष्ट शिक्षालाई नकार्दा विदेश पुगेर अनेकन हण्डर खानेको संख्या पनि कम छैन । अब त यसबारे एउटा सचेतना अभियान नै चलाउन आवश्यक छ जस्तो देखिरहेको छु । किनभने अब विद्यार्थी र अभिभावकमा सचेतना जरुरी छ । अहिले आफ्नो छोरा–छोरी विदेश छन् भन्दा गर्व गर्ने संस्कृति मौलाउँदै गएको शिक्षाविद्हरु बताउँछन् ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.