लुम्बिनीखबर विशेष ब्युरो
बुटवल असोज १ । बुटवल स्थित राजश्व अनुसन्धान पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका कर्मचारी अहिले कसरी हुन्छ कमाउ धन्दामा लागेका छन् ।

राजश्व चुहावट नियन्त्रणको बहानामा राजश्व अनुसन्धान कार्यालयका कर्मचारीहरुले व्यापारीहरुलाई अनुगमनको नाममा आतंक मच्चाएका छन् । राजश्व अनुसन्धान पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका कर्मचारीहरुले पदको दुरुपयोग गरी व्यापारीहरुसँंग अवैध रकम समेत असुल गर्दै आएको पाइएको हो ।
स्रोतका अनुसार बुटवल स्थित राजश्व अनुसन्धान पश्चिमाञ्चल क्षेत्रीय कार्यालयबाट खटिएको कर्मचारीहरुको टोलीले यस क्षेत्रमा राजश्व चुहावट नियन्त्रणको बहानामा व्यापारीहरुसँंग अवैध रकम असुल गर्ने गरेको पाइएको छ । कार्यालयका कर्मचारीहरुले पछिल्लो पटक दशँै तिहारको नाममा विभिन्न खाद्यान्नसँग सम्बन्धी कारोबार गर्ने उद्योग, फर्म, डिलर सप्लायर्स र तिनका सामग्री बोक्ने सवारी साधनमा अनुगमन गर्ने गरेका छन् ।
बुटवलमा यस्ता कर्मचारीलाई नियन्त्रण गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत कार्यालय भएपनि सो कार्यालयलाई यस बारे थाहा पत्तो पनि छैन ।
कर्मचारीहरुले चेकजाँच र अनुगमन गर्ने नाममा उल्टै व्यापारीहरुसंँग अवैैध रकम लिने गरेका छन् । स साना गल्ती कमजोरी पाउनासाथ कर्मचारीहरुले व्यापारीहरुसँंग विभिन्न धाकधम्की दिएर व्यापारीसँंग जबरजस्ती रकम असुल गर्दै आएका छन् ।
पछिल्लो समय आफ्नो कार्य क्षेत्र रुपन्देही, कपिलवस्तु र नवलपरासी लगायतका व्यापारिक क्षेत्रका उद्योग, फर्म, सप्लायर्स, डिलर लगायतका क्षेत्रमा राजश्व अनुसन्धान टोलीले अनुगमन बढाएको छ ।
तर अनुसन्धानमा खटिएका कर्मचारीहरुले नै स्वयम् व्यापारीहरुसँग अवैध रकम माग गरेर लिने गरेका छन् । स–साना गल्ती फेला परेपछि सोको आडमा कर्मचारीहरुले आफ्नो बार्गेनिङ्ग पावर मानेर व्यापारीहरुसँंग अवैध रकम समेत असुल गर्दै आएका हुन् ।
स्रोतका अनुसार अनुगमनको क्रममा कार्यालयबाट खटिएका कर्मचारीहरुले व्यापारिक पसलहरु, डिलर र सप्लायर्सहरुमा गई स–साना गल्ती फेला परेपछि कार्यालयमा जाँदा महँगो जरिवानामा पर्ने होईन भने यहाँ नै मिलाऊ भनेर रकम लिने गरेका छन् ।
एक व्यावसायीले नाम उल्लेख नगर्ने शर्तमा भने “म सँंग पनि रकम माग गरियो कार्यालय जाँदा लाखाँै भन्दा लाखाँै जरिवाना तिर्नुपर्छ भन्ने डर त्रास दिएपछि म रकम दिन बाध्य भएँ ।” यसबारे ब्ुाटवल स्थित पश्चिमान्चल क्षेत्रीय राजश्व अनुसन्धान कार्यालयका प्रमुख नरेन्द्र प्रकाश पाण्डेले कार्यालयका कर्मचारीबाट रकम मागेको पाईएमा दोषी कर्मचारीलाई कारबाही गरिने दाबी गरे ।
समग्र राजस्व चुहावट एवं नियन्त्रण गर्ने कार्यका लागि यो विभाग जिम्मेवार रहेको भएपनि खुलेआम व्यापारीसंग मिलेर अवैध पैसा कमाउन कर्मचारीहरुलाई कारवाही गर्न बिभाग क्रियाशिल हुनुपर्ने आवश्यक देखिन्छ । यस बारे राजश्व अनुसन्धान बिभागका महानिर्देशक भुपाल बरालले कुनै पनि कर्मचारीले गलत तरिकाले पैसा असलेको प्रमाणीत भएमा कारवाही गरिने प्रतिक्रिया दिए ।
राजश्व अनुसन्धान पश्चिमान्चल क्षेत्रीय कार्यालय बुटवल सहित मातहत नवलपरासी रुपन्देही र कपिलवस्तुमा चेक पोष्ट गरी कुल ५५ जना कर्मचारीहरु रहेका छन् ।
गुणस्तरको पनि असुली आतंक
भैरहवा क्षेत्रमा रहेका विभिन्न सिमेन्ट उद्योगहरुमा नापतौल तथा गुणस्तरका कर्मचारीहरुले विभिन्न बहाना बनाएर उद्योगी, व्यापारीसँग असुली गर्ने गरेका छन् ।
नेपाल स्ट्याण्डर्ड क्वालिटी अवार्ड प्रदान गर्ने गुणस्तर सम्बन्धि पुस्तकालय सेवाले समेत प्रयोगशाला प्रमाणीकरण गर्दा उद्योगबाट उत्पादन भएका सिमेन्टहरु गुणस्तरीय नभएको प्रमाणित गरिदिने भन्दै धम्काउने गरेका छन् ।
उनीहरुले मासिक जसो सिमेन्ट उद्योगका उद्योगपतिसँग ठूलो रकम असुली गर्ने गरेको एक उद्योगका संचालकले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा लुम्बिनीखबरको विशेष ब्यूरोलाई बताएका छन् ।
कर्मचारीहरुले सरकारले तोकेको सेवा प्रक्रिया पुरा गर्ने, उद्योगहरुलाई गुणस्तर प्रमाण चिन्ह प्रदान गर्ने, मेट्रिक पद्धतिमा आधारित नाप र तौल स्ट्याण्डर्ड कायम राख्ने हो, उद्योगहरुलाई उपभोक्ता वर्गमा गुणस्तरीय वस्तु सेवा पु¥याउनका लागि सहज वातावरण र्सिजना गर्ने काम भएतापनि कर्मचारीहरुले असुलीलाई निरन्तरता दिएपछि लुम्बिनी करिडोरका सिमेन्ट उद्योगहरु आतंकित भएका हुन् ।
यस विषयमा लुम्बिनीखबरको विशेष ब्यूरोले नेपाल गुणस्तर तथा नापतौल विभागको सूचना शाखालाई पटक पटक सम्पर्क गर्दा पनि सम्पर्क हुन सकेन ।