लुम्बिनीखबर
भैरहवा, ४ मंसिर । महामानव गौतम बुद्धको जन्मस्थान लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगर भैरहवामा बिहिबारदेखि चौथो राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि, तथा पर्यटन महोत्सव २०७४ शुरु भएको छ । गौतमबुद्धको जन्मस्थल लुम्बिनी नजिकमा लाग्ने यो मेलाले यस क्षेत्रको आर्थिक विकासमा समेत टेवा पुग्ने आयोजकले अपेक्षा लिएका छन् ।

‘राष्ट्रिय स्वाधिनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रको लागि राष्ट्रिय औधोगिकरण तथा व्यापार विविधीकरण’ भन्ने मूल नाराका साथ उद्योग व्यापार संगठन रुपन्देहीले महोत्सव आयोजना गरेको हो ।
औद्योगिक, कृषि, पर्यटन तथा व्यापारिक चार सय स्टल सहभागी भएको यस मेलामा करिब ६० देखि ६५ कारोडको कारोबार हुने अपेक्षा गरिएको मेला मूल आयोजक समितिका संयोजक तथा मेला आयोजक संस्था संगठन रुपन्देहीका अध्यक्ष नारायणप्रसाद भण्डारीले जानकारी दिएका छन् ।
मेलामा उद्योग, व्यापार, कृषि, र पर्यटन सम्बन्धी गोष्ठीहरु गरिएका छन् । त्यस्तै मेलामा ऊँटको प्रदर्शनी, राउटे जातिको पहिचान गराउने लगायतका कार्यक्रम समेटिएको देखिन्छ । त्यस्तै स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति भैरहेको मेलामा संस्कृति झल्किने सांस्कृतिक कार्यक्रमहरु समेत देखाइएको छ ।

मेलामा दैनिक उपभोग्य वस्तु, घरेलु तथा साना उद्योगका उत्पादन, मेशिनरीका उत्पादन, हस्तकला, अटोमोबाईल, विज्ञान प्रविधि तथा आईटीका सम्बन्धी उत्पादन, बैंक तथा वित्तीय संस्थाका स्टलहरु समावेस छन् । त्यस्तै मेलामा कुस्ती र तेक्वान्दो प्रतियोगिता, हात्ती सफारी जस्ता कार्यक्रम गरिने आयोजक संगठनका उपाध्यक्ष तथा सांस्कृतिक उपसमितिका संयोजक गिरिशचन्द्र त्रिपाठीले जानकारी दिए । मेलामा खुल्ला नृत्य प्रतियोगिता पनि आयोजना गरिएको छ ।
मेलामा कुस्ती प्रतियोगिताले रोचकता थप्नेछ । मंसिर ३, ४ र ५ गते कुस्ती प्रतियोगिता संचालन गरिने कुस्ती दंगल प्रतियोगिता उपसमितिका संयोजक प्रभु यादवले जानकारी दिए । कुस्तीमा स्वदेशी तथा विदेशी पुरुष तथा महिला गरी ४० जना पहलमानहरुले प्रतिस्पर्धा गर्नेछन् । मेला स्थल प्रवेशद्वारमा आकर्षक ड्रागन निर्माण गरिएको छ भने मायादेवी मन्दिरको प्रतिकको रुपमा निर्माण गरिएको प्याभिलिएनमा आईटी उत्पादनहरुको प्रदर्शनी सञ्चालन गरिएको छ । त्यस्तै कृषि, पर्यटन तथा व्यापारका छुट्टाछुट्टै प्याभिलिएन निर्माण गरिएको छ । मेला मंसिर ११ गतेसम्म चल्नेछ ।
मेलाको बिहिबार पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका थिए । कार्तिक ३० गते देखि सुरु भएको मेलामा शनिबारसम्म ३ दिनमा १५ हजार दर्शकले मेला अवलोकन गरेको आयोजकले दाबी गरेका छन् । शनिबार सम्ममा २ करोड ५० लाख मुल्य बराबरको कारोवार भएको मेलाको सूचना शाखाले जानाकारी दिएको छ ।
स्थानीयहरुको लोकप्रियता कमाएको भैरहवाको व्यापार मेला अहिले राजनीतिक दलहरुको समेत गन्तव्य हुने गरेको छ । यहाँ आउने दर्शकहरु लाई आफुतिर लोभ्याउन राजनीतिक दलका कार्यकर्ताहरु समेत मेलामा देखिने गरेका छन् । आर्थिक राजधानीको रुपमा रहेको भैरहवामा लाग्ने व्यापार मेला मुख्यतया व्यापारीहरुका उत्पादनहरु विज्ञापन गर्ने थलोको रुपमा समेत लिने गरिन्छ । उद्योगहरुमा उत्पादन भएका बस्तुहरु व्यापार मेलामा स्टलहरुमा राखेर ठुला उद्योगहरुले आफ्ना प्रोडक्सनहरु प्रदर्शन गरिरहेका समेत छन् । मिलानो चप्पल, जोशी फुडहरु मुख्य हुन् ।