कमल रायमाझी
भैरहवा, २८ मंसिर । नेपालको दोस्रो ठुलो भन्सार कार्यालय भैरहवामा निर्वाचनका कारण १ अर्ब घाटा भएको छ । मंसिर महिनामा मात्र नेपाल र भारततर्फ भएका दुई निर्वाचनले १ अर्ब घाटा भएको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।

दैनिक २२ करोड राजश्व संकलन हुने यो भन्सार कार्यालयमा मंसिर १२ र १३ गते भारतको महाराजगञ्ज क्षेत्रमा भएको स्थानीय निर्वाचनले दुई भन्सार बन्द गर्नु परेयो ।
नेपाल तर्फको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि मंसिर १९,२० र २१ गते तीन दिन भैरहवा भन्सार कार्यालय ठप्प रहेयो । जसका कारण राज्यको आय स्रोतमा आउने लगभग १ अर्ब १० करोड घाटा भएको भैरहवा भन्सार कार्यालयको सुचना शाखाले जनाएको छ ।
प्रदेश नम्बर ५ अन्तर्गत पर्ने यो भन्सार कार्यालयबाट भारततर्फबाट नेपालमा विभिन्न किसिमका औद्योगिक कच्चा पदार्थ, सवारी साधनहरु, खाद्यान्न, मार्बल, टायल,स्टेशनरी सामान, जुत्ता, चप्पल, कपडा, औद्योगिक मेशिनरी सामानहरु, पेट्रोलियम पदार्थ, कपडा लगायत आउने गर्दछ ।
रुपन्देही र नवलपरासी कार्यक्षेत्र भएको यो भन्सार कार्यालको त्रिबेणी, महेसपुर, पक्लिहवा,लुम्बिनी, पर्शौनी, भुजाहा, बुचीबरेवा, अमुवा, थुमुवा, बिष्णुपुरा, मंझरिया र बेथरी गरी १२ वटा छोटी भन्सार रहेका छन् ।
भारतीय बजारबाट चोरी निकासी हुदै नेपाल ल्याउनेहरुको समेत तस्कर बढे पछि भन्सार कार्यालयले भन्सार सुरक्षा गार्ड र सशस्त्र प्रहरीलाई खटाएको छ । जसका कारण अहिले चोरी निकासीमा न्युन रहेको देखिन्छ ।
भन्सारले ५० हजार भन्दा बढी समानहरु भन्सार गर्नु पर्दा जाँचपास भन्सार प्रणाली आयात निर्यात एक्जिम कोडको व्यवस्था गरेको भैरहवा भन्सार कार्यालयका प्रमुख भुपालराज शाक्यले जानकारी दिए । जसका कारण चोरी निकासीमा समेत नियन्त्रण भएको छ ।
भन्सार कार्यालयले संक्षिप्त प्रज्ञापनपत्र मार्फत समेत घरायसी प्रयोजनका लागि ल्याउने सामानहरुमा पनि राजश्व असुली गर्ने गरेको छ ।
भारतीय बजारमा जीएसटी र नेपालमा एक्जिम कोड लागु भएपछि भने सामान आयातमा व्यापारीलाई केही समस्या पर्ने गरेको छ ।
गत आर्थिक वर्ष २०७३ ।२०७४ मा भैरहवा भन्सार कार्यालयले लक्ष्य भन्दा बढी राजश्व असुली गरेको थियो । विभिन्न समस्याका कारण भने अहिले लक्ष्य बराबरको राजश्व असुली गर्न भैरहवा भन्सार कार्यालयलाई मुस्किल देखिएको छ ।
गत आर्थिक वर्ष २०७३ ।२०७४ मा यस भन्सार कार्यालयको ५७ अर्ब ३४ करोड ४० लाख ८ हजार असुलीको लक्ष्य रहे पनि ६२ अर्ब ३२ करोड ६४ लाख ९४ हजार असुली गरेको थियो । लक्ष्य भन्दा झन्डै ८ प्रतिशत अर्थात ५ अर्ब ११ करोड ११ लाख ३ हजार रुपैयाँ बढी राजश्व भैरहवा भन्सार कार्यालले असुली गरेको थियो ।
यो आर्थिक वर्ष २०७४ । ७५ कार्तिकसम्ममा २४ अर्ब ४२ करोड राजश्व असुलीको लक्ष्य लिएको भैरहवा भन्सार कार्यालयले झन्डै लक्ष्य भन्दा ५ प्रतिशत कम २३ अर्ब ९ करोड राजश्व असुली गरेको भैरहवा भन्सार कार्यालयको रेकर्डमा देखिन्छ ।
लक्ष्य भन्दा कम राजश्व संकलन हुनु बिभिन्न कारण रहेको भन्सार कार्यालयले जनाएको छ । पहिलो कारण सरकारले विगत बर्षहरुमाभन्दा यस वर्ष लक्ष्य बढी तोकेको छ । दोस्रो ओभरलोडका कारण समेत यहाँबाट आउने भारतीय मालबाहक सवारी साधनलाई प्रहरीले हैरानी पार्न थालेपछि विरगञ्ज लगायतका नाकाहरुमा मोडिएको भन्सार एजेण्ट संघले बताएको छ ।
यस क्षेत्रमा रहेको भैरहवा भन्सार कार्यालयले अन्तर्राष्ट्रिय व्यापार, प्रविधिको विकास र देशको औद्योगिक क्षेत्रलाई समेत सहजता थपेको छ ।