logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    बेलहिया नाकाबाट नेपाल आउने पर्यटक बढे


    २० पौस २०७४ , बिहिबार

    बेलहिया नाकाबाट नेपाल आउने पर्यटक बढे

    लुम्बिनीखबर
    भैरहवा, २० पुस । नेपाल प्रवेश गर्ने सबैभन्दा ठुलो स्थल नाका बेलहिया÷सुनौली हुदै नेपाल भ्रमणमा आउने बिदेशी पर्यटकहरुको संख्या गत बर्षको ११ महिनाको तुलनामा यसवर्ष बृद्धि भएको छ । अध्यागमन कार्यालय बेलहियाका अनुसार २०१७ जनवरीदेखि नोभेम्बर सम्म ११ महिनामा यो नाका हुंदै १ लाख ३४ हजार ७ सय ८ पर्यटक नेपाल भ्रमणमा आएका छन् । यो तथ्यांक भारतीय पर्यटक बाहेकको हो ।

    अध्यागमन कार्यालय बेलहियाका सूचना अधिकृत गिरीराज खनालका अनुसार गतबर्षको सोही अबधिसम्म १ लाख ३१ हजार ९ सय ३७ पर्यटक नेपाल आएका थिए । गत बर्षको तुलनामा यो संख्या झण्डै २ हजार ७ सय ७१ ले बढी हो ।

    यो नाका हुंदै यो बर्षको जनवरीमा १ हजार ७ सय २६, फेब्रुअरीमा २६ हजार २ सय ७७, मार्चमा २८ हजार ४ सय ५३, अप्रिलमा ६ हजार ४ सय १४, मेमा १ हजार ३ सय ८८, जुनमा ९ सय ५६, जुलाईमा १ हजार ९ सय १३, अगष्टमा ११ हजार ६ सय ८६, सेप्टेम्बरमा ८ हजार ४ सय ८०, अक्टुबरमा १८ हजार २ सय ७७ र नोभेम्बरमा २० हजार ५ सय ८८ पर्यटक नेपाल भित्रिएका छन् ।

    चालु महिना डिसेम्बरको १३ दिनमा ८ हजार ६ सय ९ पर्यटक नेपाल आएका छन् । अध्यागमन कार्यालयका अनुसार २०१३ मा खस्किएको पर्यटक आगमन त्यसपछि निरन्तर वृद्धि भईरहेको छ । सन् २०१४ मा १ लाख १७ हजार २ सय ६३, २०१५ मा १ लाख २० हजार ६ सय ३७, २०१६ मा १ लाख ४७ हजार ६ सय ८ पर्यटक यो नाकाबाट नेपाल भित्रिएका थिए । चालु वर्षको ११ महिनामा सबैभन्दा बढी ४७ हजार ८ सय ११ श्रीलंकन पर्यटक यो नाका हुंदै नेपाल भ्रमणमा आएका छन् । त्यसपछि थाईल्याण्डका २८ हजार ५ सय ११, म्यान्मारका २४ हजार ५७, दक्षिण कोरीयाका ५ हजार २ सय १३, भियतनामका ४ हजार ३ सय २४, चिनियाँ पर्यटक ३ हजार ९ सय ६१ रहेका छन् । यो नाका हुंदै आउने पर्यटकहरुको मुख्य गन्तब्य बुद्धजन्मस्थल लुम्बिनी हो ।

    बुद्धिष्ट देशबाट आएका बौद्धमार्गीहरु लुम्बिनी भ्रमणपछि धेरै भारततर्फ नै फिर्ता जान्छन् भने केही कपिलवस्तु र रामग्राम स्तुपसम्म पुग्ने गरेका छन् ।
    ११ महिनामा लुम्बिनी आउने बुद्धिष्ट मुलुकका पर्यटक मात्रै १ लाख १५ हजार बढी रहेका छन् । अन्य मुलुकका पर्यटकहरु युरोपियन, अमेरिकन तथा दक्षिण पूर्बी एशियाका नागरिकहरु भने कोही लुम्बिनी त कोही सिधै पोखरा, चितवन, काठमाडांै तथा मनाङ मुस्ताङ जाने गरेका छन् ।

    अस्तब्यस्त छ बेलहिया
    विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनी बिश्व सम्पदामा सूचीकृत स्थल हो । लुम्बिनीको ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्वको कारणले दिन प्रतिदिन विश्वभरका शान्तिकामीहरुका लागि प्रिय स्थलको रुपमा अघि बढिरहेको अवस्था हो । लुम्बिनीकै कारण भगवान बुद्धको जीवनीसँग सम्बन्धित अन्य स्थानहरु कपिलवस्तु, रुपन्देहीकै देवदह, नवपरासीको रामग्राम लगायतका स्थानहरु समेतमा पर्यटकहरु आकर्षित भई रहेको अवस्थामा स्थल मार्ग हुँदै लुम्बिनी लगायत नेपाल भ्रमणका लागि आउने पर्यटकहरुका लागि नेपाल–भारतको सीमा क्षेत्र प्रवेश गर्ने बित्तिकै बेलहिया नाका पहिलो गाँसमै ढुंगा सरह भइरहेको छ । पछिल्लो समय बेलहिया बाईपास देखि ईलाका प्रहरी कार्यालय सम्म ६ लेनको सडक बिस्तार सँगै ट्राफिक जाम धुलो धुँवाले अस्तव्यस्त भएको छ ।

    बेलहिया नाकामा भएको फोहोर, सवारी साधनको अव्यवस्थित पार्किङ्ग, टफिक जामलगायतका समस्या त छँदैछन्, स्थलमार्ग हुँदै नेपालमै सबैभन्दा बढी पर्यटक भित्रिने नाकामा पर्यटकहरु बस्ने सामान्य विश्राम कक्ष समेत नहुँदा यस नाका हुँदै आउने पर्यटकहरुले पाउनु सम्मको सास्ती पाएका छन् । समस्या यति मात्र छैन, समस्याको अझ बिकराल रुप त त्यहाँका दलालहरु हुन् ।

    दलालहरुले पर्यटकहरुको झोला तानातान गर्ने परम्पराले पर्यटकहरु सा¥है त्रसित देखिएका हुन्छन्, त्यसैले पनि पर्यटकलाई पहिलो गासमै ढुंगाको अवस्था देखिएको हो ।
    यस अतिरिक्त पर्यटक र अध्यागमन कार्यालयको सिधा सम्पर्क कहिल्यै पनि हुँदैन भन्ने सुनेर अचम्म मान्नु पर्ने अवस्था छैन । किनकि यस्ता दलालहरुले बसमै सबै पर्यटकहरुलाई राखी सबैको राहदानीमा एकमुष्ठ रुपमा प्रवेशाज्ञा दिने गरेको यहाँ सामान्य कुरा हो । पर्यटक र कर्मचारी बीच सम्बन्ध स्थापित हुन नसक्दा तथा नेपाल सम्बन्धि कुनै किसिमको सूचना बोर्ड नहुँदा पर्यटकहरुले नेपाल पसेको चालै पाउँदैनन् ।

    स्थानियबासी सुमित प्रधानका अनुसार सीमा नाकाको भारत तर्फ भारतमा स्वागत छ भन्ने बोर्ड भए पनि नेपालतर्फ नेपाल चिनाउने कुनै प्रकारका बोर्ड एवम् प्रचार सामग्री नहुँदा पर्यटकहरु बुद्धको देश नेपालमा प्रवेश गर्दै छु भन्ने भान नै हुँदैन । प्रधानले यसतर्फ सरकारले ध्यान दिनु पर्ने बताउँछन् । यसका लागि बेलहियाबाट देशका प्रमुख पर्यटकीय गन्तव्य कति टाढा छन् र कुन–कुन हुन् भन्ने जानकारी दिने खालको डेस्टिनेशन बोर्डहरु बनाउन जरुरी रहेको प्रधानको भनाई रहेको छ ।

    स्वच्छ सुन्दर र हराभरा सिद्धार्थनगरको नारा दिएको गौतम बुद्धको अर्को नामले नामाकरण गरिएको सिद्धार्थनगर नगरपालिकाको स्वच्छता पर्यटकहरु नगर प्रवेशलगतै थाहा पाउने गरेका छन् । सिद्धार्थ राजमार्गमै डण्डा नदीको किनार नगरपालिकाले डम्पिङ्ग साईटको रुपमा प्रयोग गरिरहेको छ । खुल्ला रुपमै डम्पिङ्ग गरिएको नदी किनारबाट आउने दुर्गन्धबाट पर्यटकहरुमा पार्ने असरको ख्याल नै नगरी फोहोर फाल्दै जाँदा पर्यटकहरुमा नकारात्मक असर पर्दै गइरहेको पर्यटन ब्यवसायीहरु बताउँछन् ।

    यसतर्फ ध्यान नदिने हो भने यसले भविष्यमा थप असर पार्ने भएकोले यसको व्यवस्थापन तर्फ नगरपालिकाले ध्यान दिनुपर्ने उनीहरुको जिकिर रहेको छ । यस अतिरिक्त भैरहवा–लुम्बिनी सडक खण्डको नगर क्षेत्रभित्र पर्ने विभिन्न स्थानमा फोहोरको थुप्रोले पर्यटकहरु नाम मुख खुम्चाउने गरेका छन् । नगरको सनसाइन स्कूल अगाडी, कोल्ड स्टोर, विश्वकर्मा मन्दिरलगायतका स्थानमा नगरवासीले फालेको फोहोरले वातावरण नै दुर्घन्धित हुने गरेको छ । लुम्बिनी क्षेत्रमा पर्यटकीय विकासको सम्भावना छ भनेर भनि रहनु पर्दैन । ढोका खुलेको पहिले नै हो यसलाई राम्ररी सदुपयोग गर्न मात्र बाँकी हो ।

    त्यसकारण समग्र लुम्बिनी क्षेत्रको विकास सँगसँगै लुम्बिनी प्रवेशद्वारको रुपमा परिचित भैरहवाको उचित सरसफाईमा ध्यान दिनु र पर्यटकहरुलाई नेपाल प्रवेशसँगै आत्मियताको अनुभूति दिलाउन सके काठमाडौं पछिको व्यस्त शहर भैरहवा बन्नेमा दुई मत नरहेको भैरहवाबासी बताउँछन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.