logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    गुणस्तरहीन बन्दै बेलहिया व्यापारिक मार्ग


    २४ पौस २०७४ , सोमबार

    गुणस्तरहीन बन्दै बेलहिया व्यापारिक मार्ग

    कमल रायमाझी
    भैरहवा,पुस २४ । बेलहिया बुटवल व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत निर्माण भैरहेको साढे ७ सय मिटर भारतीय सीमा बेलहिया देखि उत्तर तर्फको सडक र ढल निर्माण गर्दा गुणस्तरहीन काम भएको भन्दै स्थानीयहरुले विरोध गरेका छन् ।

    निर्माण कम्पनीले हचुवाको भरमा काम गरेको र गुणस्तरहीन समानहरुको प्रयोग गरेको भन्दै बेलहियाबासीले निर्माण कार्यलाई बन्द समेत गराएका छन् । कम्पनीले ढल बनाउँदा सानो बनाएको र पानी माथि प्लास्टर गरेको देखेपछि स्थानीयहरु विरोधमा उत्रिएका हुन् ।

    निर्माणको जिम्मा पाएको कन्स्ट्रक्सन कम्पनीले लापरवाहीपूर्ण रुपमा हिलो र पानी माथि प्लास्टर गर्नुका साथै माटो माथि सिमेन्ट मुछेको देखिन्छ । सिमेन्टको मात्रा पनि निकै कम मात्रामा प्रयोग गरेको र बालुवा बढी रहेको स्थानीय समाजसेवी तथा बेलहिया गाउँ समाजका निवर्तमान अध्यक्ष सुरेन्द्र क्षेत्रीले बताए ।

    काममा पुरै लापरवाही रहेको छ, गुणस्तरहीन प्लास्टर र निर्माण कम्पनीका प्राविधिकहरुको दादागिरी सहन नसकिने रहेको समाजसेवी क्षेत्रीले बताए । उनले जानकारी माग्न र गुणस्तरहीन काम भएको बताउँदा निर्माण कम्पनीका प्राविधिकहरुले दुव्र्यवहार समेत गरेको गुनासो गरे ।

    निर्माण कम्पनीका कर्मचारीहरुले स्थानीयहरुको घर अगाडि ढल बनाउँदा ढल माथि राख्ने स्ल्याप निर्माणमा समेत घरधनीसँग पैसा माग्ने गरेका छन् । पैसा नदिए स्ल्याप आफूहरुले बनाउन नसक्ने भन्दै घर अगाडि ठूला ठूला खाल्टाहरु समेत एक्साभेटर प्रयोग गरेर खन्ने गरेका स्थानीय व्यवसायी अर्जुन गिरीले बताए ।

    सिमाक्षेत्रमा यसरी बन्न लागेको सडक र ढल गुणस्तरिय हुनुपर्ने आफुहरुको माग रहेको भन्दै गुणस्तरहिनको विपक्षमा बेलहियाबासी रहेको स्थानिय व्यवसायी गिरिको भनाई रहेको छ । स्थानिय दिपक कुवंरले बाटोको निर्माण र गुणस्तरियताको विषयमा निर्माण कम्पनीका प्राविधिकहरुलाई जिज्ञासा राख्दा दुव्यवहार गरेको जानकारी दिए । उनले आम नागरिकको हिसाबले सोध्नपाउने मौलिक अधिकारलाई समेत निर्माण कम्पनीका प्राविधिकहरुले बताउन नखोज्नु गलत भएको लुम्बिनीखवर संगको कुराकानीमा बताए ।

    व्यापारिक मार्ग विस्तार आयोजनाका प्रमुख जिवेन्द्र मिश्रले गुणस्तरिय काम गर्ने जिम्मा पाएका निर्माण कम्पनीले गलत गरेको थाहापाएर स्थानियहरुले विरोध गर्नु जायज भएको भन्दै निर्माण स्थल निरिक्षण पछि थप विषयबस्तुको जानाकारी दिने बताए । विरुवा कन्स्ट्रक्सन काठमान्डौले ६ महिना अघि देखि २४ महिनामा काम सम्पन्न गर्ने जिम्मा पाएको यो व्यापारिक मार्गको निर्माण लागत लगभग २० करोड रहेको व्यापारिक मार्ग विस्तार आयोजनाको सुचना शाखाले जानाकारी दिएको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.