
गोविन्द प्रसाद अधिकारी क्षेत्रीय प्रबन्धक ( द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी प्रा.लि. )
नेपालबाट हरेक वर्ष सयौँ विद्यार्थीहरु उच्च शिक्षा हासिलका लागि विभिन्न मुलुकका युनिभर्सिटी र कलेजतर्फ जाने गरेका छन् । पछिल्लो समय वैदेशिक शिक्षामा नेपाली विद्यार्थीको रोजाई अष्ट्रेलिया मुख्य हुने गरेको छ । विद्यार्थीको चाहनालाई मध्यनजर गर्दै केही वर्षयता नेपालमा सयौँ शैक्षिक परामर्श केन्द्रहरु खुलेका पनि छन् । ती केन्द्रले निश्चित शुल्क लिएर वैदेशिक शिक्षाका लागि जाने विद्यार्थीलाई परामर्श प्रदान गरिरहेका छन् । यसैबीच माघ ७ (२१ जनवरी) देखि बुटवलमा द नेक्स्ट एजुकेशन कन्सल्टेन्सी प्रा.लि.को आयोजनामा अष्टे«लियन शैक्षिक मेला २०१८ सुरु पनि हुँदैछ । सोही सन्दर्भमा लुम्बिनीखबरले नेपाली विद्यार्थीको अष्ट्रेलिया गन्तव्यको बारेमा आयोजक संस्थाका क्षेत्रीय प्रबन्धक गोविन्द प्रसाद अधिकारीसँग केही कुराकानी गरेको थियो । प्रस्तुत छ सोही कुराकानीको केही अंश ः
नेपालबाट बर्षेनी सयौँ विद्यार्थी अष्ट्रेलियाका विभिन्न युनिभर्सिटी र कलेजमा अध्ययनका लागि जाने गर्दछन्, यसरी अध्ययनको लागि विदेशिनै पर्ने बाध्यता छ र ?
–पछिल्लो समय नेपालमा पनि राम्रा र अब्बल युनिभर्सिटी तथा कलेज सञ्चालन भइरहेका छन् । तथापि हरेक वर्ष नेपाली विद्यार्थीहरु उच्च शिक्षा हासिल गर्ने दौडानमा विदेशका विभिन्न कलेजहरुमा निवेदन दिइरहेको देखिन्छ । त्यसमा अष्ट्रेलियाका युनिभर्सिटी र कलेज नेपाली विद्यार्थीको उच्च शिक्षा हासिल गर्ने उद्देश्यका लागि मुख्य रोजाइ बन्ने गरेका छन् । खासगरी अष्ट्रेलिया जाने विद्यार्थीहरुको सहयोगार्थ नेपालमा विभिन्न शैक्षिक परामर्श केन्द्र पनि सञ्चालित छन् । देशभरीमा करिब ४ हजार शैक्षिक परामर्श केन्द्रले र रुपन्देहीको सवालमा करिब १ सय भन्दा बढी परामर्श केन्द्र मार्फत अष्ट्रेलियामा उच्च शिक्षा हासिल गर्न जान चाहने विद्यार्थीहरुलाई सहयोग र परामर्श प्रदान गरिरहेका छन् ।
अष्ट्रेलियाका युनिभर्सिटीमा नेपाली विद्यार्थीहरुको रोजाइका विषय के के रहेका छन् ?
–विशेषगरी नर्सिङ, आइटी, अकाउन्टिङ, होटल म्यानेजमेन्ट, मेडिकल ल्याबरेटरी साइन्स, सामाजिक विज्ञान, पब्लिक हेल्थ जस्ता विषय नेपाली विद्यार्थीका मुख्य रोजाइको विषय हुने गरेको देखिएको छ ।
अष्ट्रेलियाका युनिभर्सिटीमा आवेदन दिन चाहने विद्यार्थीले के कस्तो प्रक्रिया पुरा गर्नुपर्दछ ?
–सबैभन्दा पहिले विद्यार्थीमा इच्छाशक्ति, अभिभावकमा सहयोगी भावना हुनु जरुरी छ । त्यसपछि विद्यार्थीको शैक्षिक प्रमाणपत्र, एसईई देखि माथि कलेज सम्मको आइएलटीएसको स्कोर, पासपोर्ट, आर्थिक स्रोत खुलेको प्रमाण, नाता प्रमाणित, कर क्लियरेन्स, बैंक ब्यालेन्स प्रमाणपत्र जस्ता कागजात सहित निवेदन दिनुपर्दछ । युनिभर्सिटी तथा कलेजले सबै डकुमेन्ट सही भएको ठानेमा भिसाको लागि आवेदन माग गर्दछ । त्यसपछि नेपाल सरकारको नियम अनुसार अन्य प्रक्रिया पुरा गरी आफूले पढ्न चाहेको विषय र युनिभर्सिटीले भिसा दिइसकेपछि अष्ट्रेलिया जाने बाटो खुल्दछ ।

अष्ट्रेलियाका युनिभर्सिटीमा ब्याचलर डिग्रीको कोर्स सक्न कम्तीमा ३५ लाख लाग्ने रहेछ । त्यति धेरै रकम नेपाली विद्यार्थीले कसरी व्यवस्थापन गरिरहेका छन् ?
–सामान्यतया युनिभर्सिटी र कोर्स हेरेर शुल्क निर्धारण हुने गर्दछ । यद्यपी जान चाहने विद्यार्थीले नेपालबाट जाँदा सुरुवाती चरणमा बैंक लोन तथा ऋण सापटी गरेर जाने गर्दछन् । अष्ट्रेलिया पुगिसकेपछि पार्ट टाइम जब गरेर आफ्नो फिको व्यवस्थापन गर्न सहजै सकिन्छ ।
कयौँ नेपाली छात्राहरुमाथि रोजगारदाताबाट त्यहाँ दुव्र्यवहार तथा यौनशोषण हुने गरेको खबर आउँछन् । के अष्ट्रेलिया नेपाली छात्राहरुको लागि सुरक्षित गन्तव्य हो ?
–विदेशमा पढ्न जाने विद्यार्थीको लागि अष्ट्रेलिया सबैभन्दा सुरक्षित गन्तव्य हो । त्यहाँको समाज र मानिसहरुको जीवनस्तर अत्यन्तै उच्च तहको छ । यद्यपी कहिलेकाँही तपाइले भनेजस्तो केही छिटफुट घटना भने हुने गरेका छन् । त्यस्ता घटना दोहोरिन नदिन त्यहाँको सरोकारवाला निकाय जति सचेत छ, त्यो भन्दा बेसी स्वयम् विद्यार्थीहरु हुनु जरुरी छ ।
डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया जाने चाहना पनि धेरैको देखिन्छ । यो प्रक्रिया कसरी पुरा गर्न सकिन्छ ?
–हो, डिपेन्डेन्ट भिसामा पनि थुप्रै नेपालीहरु अष्ट्रेलिया जाने गरेका छन् । विशेषतः वैवाहिक सम्बन्ध भएका जोडीले यो प्रक्रिया अपनाउन सक्दछन् । यद्यपी हाम्रो मुलुकमा पेपर म्यारिज गरेर जाने प्रचलन छ । जुन वास्तवमा संस्कारगत हिसाबले विवाह स्वीकार्य भएको हुँदैन । यस्तोमा केही समस्या भने देखिएका छन् । डिपेन्डेन्ट भिसामा जाँदा कम्तीमा १२ लाख नेपाली रुपैँया बैंक सो गरेपछि सहजै जान सकिन्छ ।
खासमा कति रकम भयो भने एउटा सामान्य विद्यार्थीले अष्ट्रेलियाको उच्च शिक्षा हासिल गर्ने सपनाको अभ्यास सुरु गर्न सक्छ ?
–सिङ्गल जाने हो भने १८ लाख र म्यारिड जोडी जाने हो भने २५ लाख नेपाली रुपैँया भएमा अष्ट्रेलियाको प्रोसेस गर्न सकिन्छ । अष्ट्रेलियन डलरको मूल्य पनि अन्र्तराष्ट्रिय बजारमा राम्रो भएकोले अमेरिका भन्दा अष्ट्रेलिया जाने विद्यार्थीको संख्या दिन प्रतिदिन बढिरहेको छ । अमेरिकामा सामान्यतया विद्यार्थीहरुले काम गर्दा ९ डलर सम्म पाउने गरेकोमा सोही समयावधिको काम अष्ट्रेलियामा १७ डलर सम्म पाउने गरेका छन् । अर्कोतर्फ पिआरको लागि पनि त्यहाँ सजिलो प्रक्रिया रहेको छ भने अष्ट्रेलियाको कुनैपनि शहरमा नेपालीहरु सहजै आउन जान सक्छन् । नेपाली हावापानी सुहाउँदो त्यहाँको वातावरणले पनि नेपाली विद्यार्थीको लागि मुख्य गन्तव्य बन्न पुगेको हो ।