नरेश के.सी.
भैरहवा, माघ १९ । रुपन्देहीमा कुष्ठरोगीको संख्या विगतका वर्षको अनुपातमा चालु वर्षमा बढी देखिएको छ । अन्य जिल्लाबाट रुपन्देहीमा बसाई सरेर आउने जनसंख्याको दरको वृद्धिसँगै कुष्ठरोगीको दर पनि रुपन्देहीमा धेरै देखिएको जनस्वास्थ्यका अधिकारीहरु बताउँछन् ।

गएको कार्तिक मसान्तसम्मको तथ्यांक अनुसार जिल्लाको ग्रामीण क्षेत्र भन्दा शहरी क्षेत्रमा यो रोगीको संख्या बढी देखिएको छ । बुटवल उपमहानगरपालिका भित्र १९ जना, सिद्धार्थनगर नगरपालिकामा ६ जना, तिलोत्तमा नगरपालिकामा ४ जना, लुम्बिनी सांस्कृतिक नगरपालिकामा ५ जना, देवदह नगरपालिकामा ५ जना, सैनामैना नगरपालिकामा ५ जना कुष्ठरोगीहरु भेटिएका छन् ।
यसैगरी ओमसतिया गाउँपालिकामा ५ जना, रोहिणी गाउँपालिकामा ३ जना, मर्चवारी गाउँपालिकामा १ जना, मायादेवी गाउँपालिकामा ८ जना, कन्चन गाउँपालिकामा २ जना, समरीमाई गाउँपालिकामा ५ जना, शुद्धोदन गाउँपालिकामा ४ जना, सियारी गाउँपालिकामा ३ जना, गैडहवा गाउँपालिकामा ७ जना, कोटहीमाईमा ३ जनामा कुष्ठरोगी भेटिएका छन् ।
यसरी रुपन्देही जिल्लाको ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा कुष्ठरोगीको संख्या बढेको देखिएपछि सरोकारवाला निकाय झनै चिन्तित हुँदै बुधबार रुपन्देही जिल्ला समन्वय समितीका प्रमुख एकराज विश्वकर्माको संयोजकत्वमा जिल्ला स्तरीय कुष्ठरोग निवारण अभियान समिती गठन भएको जिल्ला जनस्वास्थ्य कार्यलय रुपन्देहीका क्षय कुष्ठ रोग निरीक्षक टिकाराम अधिकारीले बताए ।
जिल्लाका सरोकारवाला निकाय सदस्य रहेको उक्त समितीले यही माघ २३ गतेदेखी २५ माघ सम्म जिल्लाका १० वटा स्थानीय निकायमा कुष्टरोग खोजी अभियानलाई तीव्रता र प्रभावकारी बनाउन सहयोग गर्नेछ ।
जिल्लाको ३ वर्षीय तथ्यांकलाइ विश्लेषण गरी सिद्धार्थनगर पालिकामा, तिलोत्तमा नगरपालिकामा , ओमसतीयमा गाउँपालिका, रोहिणी गाउँपालिकामा, मर्चवारी गाउँपालिकामा, मायादेवी गाउँपालिका, समरीमाई गाउँपालिका, शुद्धोदनमा गाउँपालिका, गैडहवा गाउँपालिकाका सबै वडामा र कन्चन गाउँपालिकाको वडा नम्बर १ र २ मा यो अभियान चलाईने जिल्ला जनस्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख केहर सिंह गोदारले जनाए ।
आखांले देख्न नसकिने माइको व्याक्टेरियम लेप्रे नामको सुक्षम किटाणुबाट लाग्ने कुष्ठरोगको बारेमा जनचेतना अभिवृद्धि गदै रोग निवारणको लागि जिल्लाका विभिन्न १० स्थानिय तहका घरघरमै गई यो रोगको खोजी शुरु गरिएको जिल्ला जनस्वास्थय कार्यलय क्षय कुष्ठ रोग निरिक्षक अधिकारीले जनाए ।
प्राचिनकालदेखी मान्छेहरुमा देखिदैं आएको यो रोग सन् १८७३ मा नर्वेका वैज्ञानिक डा. जि. ए ह्यासनले किटाणुको कारणले हुने पत्ता लगाएका थिए । यद्यपी विभिन्न धर्म संस्कृतिको नाममा यो रोग लागेका व्यक्तिहरुलाई घर परिवार र समाजले अझै सहजै स्वीकार्न सकेको छैन । समाजको डरको कारण अहिले पनि यो रोग लागेका मान्छेहरु आफ्नो रोग लुकाएर राख्ने गरेका छन् । जसले गर्दा रोग निवारणमा समस्या पैदा भएको निरीक्षक अधिकारीले बताए ।
६५ औं कुष्ठरोग दिवसको अवसर पारेर ‘कुष्ठरोग मुक्त समाज निर्माण, वालवालिकाहरुमा शुन्य अपाङगता हाम्रो अभियान ’ भन्ने मुल नाराकासाथ देशैभर चलेको यो अभियान अन्र्तगत रुपन्देहीमा खोजी शुरु भएको हो । लाटो, फुस्रो दाग, छाला बाक्लो हुने, गिर्खाहरु देखिने कुष्ठरोगका लक्षण हुन् । यो रोगको औषधी नेपालमा निशुल्क पाइन्छ र नियमित सेवन गर्नाले यो रोग निको पनि हुने गर्दछ ।
कुष्ठरोगको बारेमा परम्परागत दैवी अभिसाप तथा वंशानुगत भन्दै समाजमा अफबाह फैलाईदा रोगको कारण भन्दा सामाजिक डरको कारणले मान्छेहरुमा त्रास फैलिएकोले सो लाई चिर्न धेरै भन्दा धेरै प्रचारप्रसार र विभिन्न चेतनामूलक कार्यक्रम गरिनुपर्ने जिल्ला समन्वय समिती रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले जनाए ।