logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    वडाध्यक्षहरुले पैसा बाँड्दै


    २४ फाल्गुन २०७४ , बिहिबार

    वडाध्यक्षहरुले पैसा बाँड्दै

    लुम्बिनीखबर
    नवलपरासी, २४  फागुन । केही स्थानीय तहहरुले तलब भत्तामा मोटो रकम खर्चिने गरेपछि वडाका जनप्रतिनिधिहरुले त्यसको सदुपयोग गर्न सुरु गरेका छन् ।

    उनीहरुले तलब भत्ता बापत पाएको रकम गरीब तथा बिपन्न समुदायलाई सहयोग गर्दै जनताबाट उठेको रकम जनतामै सहयोग गर्ने गरेका हुन् । नवलपरासीको सरावल गाउँपालिकाका वडा नम्बर ६ र ७ का वडाध्यक्ष कैलाश यादव र हयात अलिले तलब भत्ता बापत पाएको रकम विपन्न तथा गरीब समुदायका परिवारहरुको छोरीको विवाहमा नगद सहयोग गर्दै रकम बाँड्ने गरेका छन् ।

    सरावल गाउँपालिकाबाट वडाध्यक्ष कैलाश यादवले हरेक महिना तलब बापत १५ हजार र विभिन्न बैठक तथा खर्च बापत गरी करीब ७ हजारको दरले २२ हजारसम्म गाउँपालिकाबाट आम्दानी गरेका छन् । उनले उक्त रकमबाट गरीब तथा बिपन्न समुदायका छोरीहरुको विवाहमा १० हजार सहयोग गर्दै आएको बताए ।

    गत माघ महिनाबाट उनले अहिलेसम्म १० जना विपन्न समुदायका छोरीहरुको बिहेमा एक लाख सहयोग गरी सकेको बताए । साविकको रामपुर खडौना र बडहरा दुुबौलिया गाविसका ११ वटा गाउँ रहेको उक्त वडामा वर्षेनी १५ देखि २० जना विपन्न समुदायका छोरीहरुको बिहे पर्न सक्ने वडाध्यक्ष यादवको अनुमान छ ।

    उनले जनताबाट कमाउने उद्देश्यभन्दा जनताको सेवा गर्ने उद्देश्यले जनप्रतिनिधि बनेकाले गाउँपालिकाबाट पाएको रकम जनतालाई सहयोग गरेको उनको भनाई छ । स्थानीय तहहरु अहिले महँगो समेत भएको वडाध्यक्ष यादवको बुझाई छ । यस्तै सरावल गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष हेयात अलिले समेत गरीब तथा विपन्न समुदायका परिवारहरुको छोरीहरुको विवाहमा सक्दो सहयोग गर्न सुरु गरेका छन् ।

    उनले न्यूनतम ५ हजारदेखि १० हजारसम्म सहयोग गर्ने गरेका हुन् । छोरीको विवाहमा धेरै खर्च हुने गरेको भन्दै आफूले तलब भत्ता बापतको रकम विपन्न समुदायको हितका लागि खर्चिने गरेको उनको भनाई छ । उनले छोरीहरुलाई उचित शिक्षाको व्यवस्था गर्न र दाईजो प्रथालाई हटाउनका लागि प्रयास गरिरहेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.