लुम्बिनीखबर
भैरहवा, ६ वैशाख । जापानको ओसाका शहरमा आयोजना हुने १६ औं वाटा अन्तरमहादेशिय खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०१८ मा भाग लिन ५ सदस्यीय टोली जापानतर्फ प्रस्थान गरेको छ ।

प्रतियोगितामा भाग लिन भैरहवा तेक्वान्दो डोजाङ्गका ३ खेलाडीहरु तथा २ अफिसियल गरी ५ जनाको टोली जापानतर्फ लागेको हो । जापान प्रस्थान गर्न लागेका खेलाडीहरुलाई नेपाल पत्रकार महासंघ रुपन्देहीका सहसचिव कमल रायमाझी तथा एमाले नगर युवा सह इन्चार्ज चक्र बहादुर थापाले जितको शुभकामना दिँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाई गरेका थिए ।
उक्त प्रतियोगितामा क्याडेटतर्फ गौरव बरुण र आर्यन पौडेलले गेरुगी (स्पायरिङ) मा प्रतिस्पर्धा गर्नेछन् भने सिनियर पुरुषतर्फ डोजाङका विनोद थापाले ७४ के.जी. मुनि चुनौती पेश गर्नेछन् ।
प्रतियोगिता अप्रैल २१ र २२ तारीखमा ओशाकामा हुँदैछ । नेपाल तेक्वान्दो संघ प्रदेश नं ५का सदस्य एवम् तेक्वान्दो प्रशिक्षक राजकुमार पाण्डे टिम व्यवस्थापक तथा रुपन्देही जिल्लाका तेक्वान्दो प्रशिक्षक एवम् प्रदेश नं ५ का उपाध्यक्ष, अन्तर्राष्ट्रिय प्रशिक्षक प्रकाशमान राजभण्डारी टिम प्रशिक्षकमा रहेका छन् । उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै विभिन्न डोजाङ्ग तथा क्लबहरु गरी ३६ जना खेलाडीहरुले भाग लिने टिम व्यवस्थापक राजकुमार पाण्डेले बताए ।