logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    मानव बस्तीमा खोलिएका उद्योगले समस्या


    १३ बैशाख २०७५ , बिहिबार

    मानव बस्तीमा खोलिएका उद्योगले समस्या

    कमल रायमाझी/पशुपति यादव
    धकधई, १३ वैशाख । मानव बस्तीमा उद्योगहरु सञ्चालन हुन थालेपछि रोहिणी गाउँपालिका र ओमसतिया गाउँपालिकाको केही गाउँहरु अहिले समस्यामा रहेका छन् । स्थानीय जनप्रतिनिधिहरुको आगमन भएपनि नयाँ उद्योगहरु खोल्ने क्रम भने जारी रहेको स्थानीयहरुले बताउने गरेका छन् ।

    खोलिएका उद्योगहरु मानव बस्ती सँगै खोलिएकाले उद्योगबाट निस्कने धुँवा र धुलोका कारण अहिले यस क्षेत्रमा विभिन्न रोगहरुले मानिसहरुलाई सताउने गरेको छ ।

    उद्योगले निकाल्ने ध्वनीले समेत मानिस रातभरी समेत सुत्न सकेका छैनन् । यी गाउँपालिका अन्तर्गत धकधई, लक्ष्मीनगर, कदमाहवा, सेमरहवा, खुरुहुरिया, परासी झुङगा, पडरहवा, सरदारनगर, सुक्रौली लगायतका स्थानमा खोलिएका दर्जनौ उद्योगहरुले अहिले मानव बस्तीलाई प्रदूषण युक्त बनाएको स्थानीय धिरेन्द्र यादव बताउँछन् ।

    यस क्षेत्रमा चामल उत्पादन गर्ने उद्योगहरु, छड उद्योगहरु, साबुन उद्योग, ग्यास उद्योग, प्लाई उद्योग, इटा उद्योगहरु रहेका छन् । यस क्षेत्रमा खोलिएका उद्योगबाट निस्कने धुलो र धुवाँका कारण मानिसहरुमा विभिन्न दीर्घ रोग लाग्नुका साथै दम, मधुमेह, नाक, कान, आखाँ र घाटी सम्बन्धी समस्या रहेको स्थानीयहरुले बताउने गरेका छन् ।

    वृद्ध तथा बालबालिकाहरुलाई समेत उद्योगहरुबाट निस्कने धुवाँ र धुलोले समस्या पार्ने गरेको धकधई स्वास्थ्य केन्द्रले जानकारी दिएको छ । धकधई स्वास्थ्य केन्द्रमा आउने बिरामीहरु प्राय ः धुवाँ र धुलोले असर गरेर आउने रहेका छन् । स्थानीय कृषि योग्य जमिनमा लगाएका बालीहरुमा उद्योग बाट निस्कने धुवाँधुलोले असर गर्ने गरेको स्थानीय गौमती यादवले बताइन् ।
    स्कुल तथा सार्वजनिक स्थानको नजिक खोलिएका यस्ता उद्योगहरुले प्रत्यक्ष असर गर्न थालेपछि स्थानीयहरुले विभिन्न निकायमा पुगेर विरोध गरेपनि कसैले चासो नदिएको स्थानीय बासिन्दाहरुको गुनासो रहेको छ ।

    सञ्चालनमा रहेका उद्योगहरु प्राय ः मापदण्ड विपरीत रहेका छन् । उद्योग खोल्नका लागि सरकारले मापदण्ड तोकेपनि सञ्चालकहरुले अटेर गरेर आर्थिक चलखेलका आधारमा उद्योग खोल्ने गरेका छन् । वातावरण मन्त्रालयले ईआईए गरेर उद्योग सञ्चालन गर्ने प्रावधान बनाएपनि आर्थिक चलखेलमा ईआईए नगरी उद्योग सञ्चालन गर्ने अनुमति दिएको समेत धकधई क्षेत्रमा पाईएको छ ।

    खोलिएका प्राय ः उद्योगहरुले स्थानीय निकाय समक्ष समेत अनुमति नलिएको र स्थानीय निकायमा बुझाउनु पर्ने कर समेत नबुझाएको रोहिणी गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका प्रमुख सनोज कुमार यादवले केही उद्योगहरु करको दायरामा आएपनि धेरै उद्योगहरु स्थानीय निकाय समक्ष आउन नखोजेको जानकारी दिए ।

    ओमसतिया गाउँपालिकाका प्रमुख हिरा केवटले उद्योगहरु सञ्चालन गर्नका लागि अनुमति लिन नआएको बताउँदै सञ्चालनमा रहेका उद्योगहरु समेत आफुखुसी चलेको बताए । उनले आफ्नो गाउँपालिकामा एक सय जति उद्योग सञ्चालनमा रहेपनि स्थानीयहरुले रोजगार नपाएको समेत जानकारी गराए ।

    प्रमुख केवटले उद्योग सञ्चालनमा आवश्यक परेको सडक, पानी, ढल तथा अन्य सेवा सुविधा दिन गाउँपालिका तयार रहेको तर उद्योगले पनि स्थानीयलाई अनिवार्य रुपमा रोजगार दिनुपर्ने तथा उद्योगबाट निस्कने प्रदूषण रोक्ने प्रविधि राख्नुपर्ने बताए ।

    स्थानीय बुद्धिजीवीहरु भने उद्योगहरु मानव बस्ती नजिक खोल्न नहुने र खोलिएका उद्योगहरु व्यवस्थित रुपमा चल्नु पर्ने बताउँछन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.