२०३३ सालमा बुबा गोपाल नाथ शर्मा र आमा थम कुमारी शर्माको कोखबाट जन्मिनु भएकी रम्भा कुँवर नवलपरासीकी अग्रणी महिलाको रुपमा आफूलाई स्थापित गर्नुभएको छ । बिगत १४ वर्ष देखि साना किसान कृषि सहकारी सस्थाको अध्यक्ष उपाध्यक्ष, डिप्रोम्स विकास बैंकमा १२ वर्ष शाखा प्रमुख, अखण्ड सुख केन्द्रमा १५ वर्ष शाखा प्रमुख, ग्रामीण विकास बैंक, रेडक्रस, महिला सञ्जाल समूह लगायत एक दर्जन भन्दा बढी सामाजिक संघ संस्थामा रहेर कुशलता पूर्वक आफ्नो क्षमता देखाई सक्नुभएकी कुँवर गत वर्ष सम्पन्न स्थानीय निकायको निर्वाचनमा रामग्राम नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएपछि अहिले रामग्रामको विकासमा सक्रिय हुनुभएको छ । रामग्रामको विकास निर्माण र जनताका समस्याका बारेमा कुँवरसँग गरिएको कुराकानीको अँश ः

रम्भा कुँवर नगर उपप्रमुख, रामग्राम नगरपालिका
स्थानीय निकायमा निर्वाचित हुनुभएको करिब १ वर्ष हुन लाग्यो । उप प्रमुख भएपछि के कस्ता उपलब्धि हासिल गर्नुभयो ?
–सर्बप्रथम त एक बर्ष अघि भएको स्थानिय निर्वाचनमा मलाई बिजयी गराउनुहुने सम्पूर्ण मतदातालाई बिषेश धन्यबाद दिन चाहन्छु ।
एक वर्ष हुन लाग्दा धेरै उपलब्धि हासिल गरेको महसुस गरेकी छु । धेरै उपलब्धि हासिल गरेको महसुस गरेकी छु । जस्तै आधा आकाश ढाक्ने हामी महिला भएर पनि केही गर्न सक्दैनौँ भन्ने जुन सोच हामी महिलामा थियोे अब त्यो कुराको अन्त्य भएको मैले महसुस गरेकी छु । राज्यले हामी महिलालाई अगाडि बढ्ने यो एउटा सुनौलो अवसर दिएको छ । त्यस मानेमा धन्यवाद दिन चाहन्छु र उपलब्धिको क्रममा एउटा महिला भएर पनि न्यायपालिकाको संयोजक बनाएर ठूलो जिम्मेवारी दिएको छ , त्यस जिममेवारीलाई वहन गर्दै हरेक नगरवासी, हरेक महिला, पुरुष, बालबालिकालाई उचित न्याय दिन पाएकी छु । र एउटा साहस, हिम्मत अनि ठूलो उपलब्धि भनेकै साहस बढेको छ र महिला शसक्तीकरणका विभिन्न जनचेतनामूलक कार्यक्रम राज्यले आजसम्म गराएता पनि महिला धेरै ओझेलमा परेको महसुस पहिले गरेकी थिएँ । अब दलित महिला सदस्य अनिवार्य गराएको हुँदा त्यस दलित महिलाहरुको साहस बढेको छ । विशेषगरी थप उपलब्धि महिला सदस्यहरुको साहस, हिम्मत अनि लगनशीलता र अब हामी जागरुक हुनुपर्छ भन्ने जुन सोच र समाज परिवर्तन मा पहल गर्ने विश्वास दिनुभएको छ त्यो नै ठूलो उपलब्धि हो ।
एक वर्षको अवधिमा जनताले कस्ता अपेक्षा राखेको पाउनुभयो ?
–एक वर्षको अवधिमा जनताले धेरै अपेक्षा राखेका छन् । त्यो अपेक्षा केहो भने सबे कुरा विकास हो । विशेषगरी बाटोघाटो, पुलपुलेसा, नाला, कुलो मात्र नभई शिक्षा, स्वास्थ्य, कृषि, महिला विषयमूलक कार्यक्रम, पुरुष दाजुभाईका लागि पनि जनचेतनामूलक कार्यक्रम र विशेषगरी स्वच्छ खानेपानी र बालबालिकाका कार्यक्रममा पनि विकास हुनुपर्छ । वास्तवमा अब हामी स्वरोजगार आफ्नै देशमा हुनुपर्छ भन्ने अपेक्षा राखेको पाएकी छु ।
निर्वाचनताका जनता सामु गरेका वाचा पुरा गर्न सकिन्छ जस्तो लागेको छ कि छैन ?
–निर्वाचनमा जनता सामु गरेका वाचा पूरा गर्न सकिन्छ र गरिहेका छौँ । विकासका निर्माणका क्रममा बाटोघाटो, पुलपुलेसा, भवन, हाट बजार देखि प्रत्येक वडामा जनचेतनामूलक र समाज परिवर्तन गर्ने जुन बाचा गरेका थियौँ १ वर्षको अवधिमा धेरैजसो पूरा गर्न सकेको महसुस गरेकी छु । आगामी ४ वर्षको अवधिमा पिछडिएको क्षेत्र, ग्रामीण भेगका जनता बीच हाम्रो जुन प्रतिबद्धता रहेको थियो, ती सबै पुरा हुनेमा म विश्वस्त छु । अनुगमनका क्रममा सर्वसाधारणहरुसँग धेरैजसो अपेक्षा पुरा भएको प्रतिक्रिया पाएकी छु । अझैपनि धेरै प्रतिबद्धता पुरा गर्न बाँकी रहेका छन् । जसलाई बाँकी कार्यकालमा पुरा गर्ने प्रतिबद्धता जनाउँदछु ।
रामग्राम नगरपालिकाका मुख्य समस्या के हुन् र ती समस्या कहिले सम्म समाधान हुन्छन् ?
–रामग्राम नगरपालिकाको मुख्य समस्या बसपार्क हो । अनि विशेष बाटोघाटो, खानेपानीको विशेष समस्या हुन् । बाटोघाटो, पुलपुलेसा बनिरहेका छन् । बसपार्क बनाउने सोच र कस्तो बनाउने भन्ने छलफल भैरहेको छ र शुद्ध खानेपानी निर्माण गर्ने, कसरी गर्ने भन्ने कुरामा छलफल भइरहेको अवस्था छ । विशेषगरी आर्सेनिक पानीको कारणले गर्दा खानेपानीमा समस्या देखिएको छ । तत्काल पानी शुद्धीकरण गरी पिउनका निम्ति विशेष सचेतनामूलक कार्यक्रम गरेको अवस्था छ ।
५ वर्षमा रामग्रामलाई कस्तो बनाउँदै हुनुहुन्छ ?
–पाँच वर्षमा हामी रामग्राम नगरपालिकालाई नमुना नगरपालिकाको रुपमा प्रस्तुत गर्ने जमर्कोमा छौँ । जुन सम्पूर्ण नगरवासीहरुको सहयोगबाट मात्र सम्भव हुनेछ । महामानव गौतम बुद्धको मावली, एकमात्र सिङ्गो अष्टधातु रहेको यो पवित्र बुद्धभूमिलाई विभिन्न विकास निर्माणका कार्यहरुले सुसम्पन्न गराउन हरेक नगरवासीहरुको सुझाव र सल्लाहको अपेक्षा राखेका छौँ । सुविधा सम्पन्न अस्पताल, खानेपानीको पूर्ण व्यवस्था, बसपार्क लगायतका अन्य सुविधा सहितको स्मार्ट सिटीको परिकल्पना हामीले गरेका छौँ ।
नगरपालिका उपप्रमुम न्यायिक समितिको संयोजक रहने व्यवस्था छ । तपाईसँग के कस्ता न्याय सम्पादन गर्नुपर्ने कार्य आएका छन् ?
–नगरपालिका उपप्रमुख न्यायिक समितिको संयोजक रहने व्यवस्था छ । नेपालको संविधानको धारा २१७ अनुसार न्यायिक समितिको व्यवस्था गरिएको हो । कानुन बमोजिम आफ्नो अधिकार क्षेत्रभित्रका विवाद निरुपण गर्ने संयोजक तत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार न्यायिक समितिलाई मुद्धा मामिला किनारा गर्ने र मेलमिलाप गराउने समेतको अधिकार प्रदान गरिएको छ । तसर्थ न्याय सम्पादन गर्नुपर्ने कार्य आएको छन् । कस्ता कार्य छन् भने विशेषगरी जग्गा थिचोमिचो, महिला हिंसाका मुद्धा कुलो, नालाको विवाद, पतिपत्नीको सम्बन्ध विच्छेद सम्बन्धी मुद्धा आएका छन् । जसमध्ये अधिकांश जग्गा, साँध सधियारका मुद्धा व्यापक मात्रामा छन् । जस्तै कुल मुद्धा ५० वटा आएका छन् भने त्यसमध्ये ४ वटा सम्बन्ध विच्छेदका मुद्धा छन् । सो मुद्धा मेलमिलापको माध्यमबाट १ वटा मिलाइयो र ३ वटा मुद्धा सहमतिद्वारा अदालत पठाइएको थियो ।
विशेषगरी नवलपरासीमा महिला हिंसाका घटना बढी हुने गर्दछ, यो समस्यालाई कसरी हल गर्नुभएको छ ?
–विशेषगरी नवलपरासीमा महिला हिंसाका घटना बढी हुने गर्दछ भन्ने कुरामा अहिले रामग्राम नगरपालिका क्षेत्रभित्र केही हिंसा कमी भएको महसुस गरेकी छु । विशेषगरी घरेलु हिंसामा पर्नुहुने महिलाहरु, पुरुषहरुले मादक पदार्थ सेवन गरी र विदेश पलायन भएका दाजुभाइहरुले शंकाको भावनामा यो हिंसा बढ्दो देखिएको छ । यसलाई न्यूनीकरण गर्नका निम्ति विभिन्न वडा र गाउँहरुमा जनचेतनामूलक कार्यक्रम लगायत सडक, नाटक र रेडियो, एफएमबाट सूचना सञ्चालन गरी विभिन्न हिंसा न्यूनीकरण गर्ने अभियान चलाएका छौँ । र हिंसामा परेका महिला, पुरुष दाजुभाईलाई न्याय दिनका निम्ति विशेष कार्यक्रम अगाडि बढाइरहेका छौँ ।
छुवाछुत, दाइजो प्रथाले समाजलाई आक्रान्त पारेको छ, यसका विरुद्ध कसरी अगाडि बढ्दै हुनुहुन्छ ?
–छुवाछुत दाइजो प्रथाले साँच्चै नै आक्रान्त पारेको छ । यो विशेषगरी एउटा विष नै हुन पुगेको छ । बाहिर जति शिक्षाको कुरा गरेपनि सचेतनाका कुरा भएपनि भित्रभित्र पढेलेखेका विद्वानहरुलाई पनि दाइजो प्रथाले छोडेको छैन । डाक्टर, इञ्जिनियरदेखि लिएर सबै शिक्षित समुदायमा जहर बन्न पुगेको दाइजो प्रथा शिक्षितले पनि बाबुआमासित भन्न नसकेको अवस्था धेरै छ ।
अन्तमा लुम्बिनीखबर मार्फत केही भन्नु छ की ?
–विभिन्न जनचेतनामूलक कार्यक्रम र रेडियोमा कार्यक्रम सञ्चालन गरी विशेष रुपले दाइजो प्रथाको अन्त्यमा लागेका छाँै । त्यस्तै छुवाछुत अन्त्यका लागि पनि विभिन्न कार्यक्रमहर सञ्चालन गर्दै आएका छाँै । पहिलेको तुलनामा हेर्ने हो भने यो छुवाछुत केही कमी भएको महसुस गरेकी छु । ग्रामी भेगमा केही बाँकी देखिन्छ । यो पनि एउटा ठूलै रोग बन्न पुगेको छ । विशेषगरी गाउँघरमा बढ्दो देखिएको छ । राज्यले जुन नीति र कार्यक्रम ल्याए पनि कार्यक्रम भै सीमित यो छुवाछुत अब स्थानीय तहबाट अन्त्य हुने महसुस गरेकी छु । जनप्रतिनिधि स्वयंं दलितका घरमा गएर खाने, विभिन्न जनचेतनामूलक कार्यक्रम र शसक्तीकरणका कार्यक्रम अब स्थानीय तहबाटै गराइरहेका छौँ । आशा छ छुवाछुत र दाइजो प्रथाको अन्त्य अब सबै शिक्षित र सक्षम भएमा पक्कै पनि सबैको सहयोगमा हुन्छ भन्ने आशा लिएकी छु ।
अन्त्यमा लुम्बिनीखबरलाई धन्यवाद दिन चाहन्छु । जुन रामग्राम नगरपालिकाको क्षेत्रभित्रका कार्यहरुलाई जनतामाझ पस्किने कोसिस गर्नुभयो र २ शब्द राख्ने मौका दिनुभएकोमा अरुण ज्ञवाली ज्यू लुम्बिनि खबर परिवार लाई रामग्राम नपाको तर्फबाट आभार प्रकट गर्न चाहन्छु ।