logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    ३,६७२ लाई वैवाहिक अंगीकृत नागरिकता


    १३ बैशाख २०७३ , सोमबार

    ३,६७२ लाई वैवाहिक अंगीकृत नागरिकता

     अंगीकृत नागरिकता पाउनेमा अधिकांश भारतीय चेली

    बलराम बानियाँ, काठमाडौं

    वैशाख १३, २०७३( संविधानसभाबाट नयाँ संविधान जारी भएपछिको सात महिनामा नेपालीसँग विवाह गरेका ३ हजार ६ सय ७२ विदेशी महिलाले वैवाहिक अंगीकृत नागरिकता लिएका छन् । उनीहरूले तराई–मधेसका २० जिल्लाबाट नेपाली नागरिकता पाएका हुन् ।

    संविधान जारी भएपछि तराई–मधेसका जिल्लामा हरेक महिना अंगीकृत नागरिकता लिनेको संख्या बढदै गएको छ । वैवाहिक अंगीकृत पाएकाहरूमा अधिकांश नेपालीसँग विवाह गरेका भारतीय चेली रहेको जानकारी तराई–मधेसका जिल्लाका प्रशासकहरूले दिए ।

    असोज ३ मा संविधान जारी भएपछि पुस मसान्तसम्मको चार महिनाको अवधिमा १ हजार ७५ विदेशी महिलाले वैवाहिक अंगीकृत नागरिकता लिएका थिए । माघदेखि चैत मसान्तसम्मको तीन महिनाको अवधिमा साढे दुई गुना बढी अर्थात् २ हजार ५ सय ८८ ले अंगीकृत नागरिकता लिएका छन् ।

    संविधानले नेपाली पुरुषसँग विवाह गरेका विदेशी महिलालाई अंगीकृत नागरिकता पाउने व्यवस्था गरेको छ । यसअघिको संविधानमा समेत यस्तो व्यवस्था थियो ।

    नेपालमा जारी नयाँ संविधानले नेपाली पुरुषसँग विवाह गरेका भारतीय ९विदेशी० युवतीलाई नागरिकतामा विभेद गरेको दाबी र झूटो प्रचार भारतीय सञ्चार माध्यम र नेपालकै तराई–मधेसका जिल्लाहरूमा भइरहेको छ । गृह मन्त्रालय स्रोतले महिलामाथि नयाँ संविधानले कुनै विभेद नगरेको उल्लेख गर्दै जारी भएपछिको सात महिनाको अवधि अर्थात् चैत मसान्तभित्र ३ हजार ६ सय ७२ वटा वैवाहिक अंगीकृत नागरिकता वितरण भइसकेको जानकारी दिएको हो ।

    नयाँ संविधानले अंगीकृत नागरिकलाई राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, प्रदेश प्रमुख, मुख्यमन्त्री, सुरक्षा प्रमुखबाहेक जुनसुकै पदमा पुग्न पाउने अधिकारको प्रत्याभूति गरेको छ । नेपाली पुरुषसँग विवाह गरी अंगीकृत नेपाली नागरिकता पाएका १२ भारतीय चेली व्यवस्थापिका संसदको सदस्य छन् ।

    उनीहरूमध्ये धेरैजसोले संविधानसभाबाट जारी संविधानमा हस्ताक्षरसमेत गरेका छन् । नेपालीसँग बिहे गरी अंगीकृत नागरिकता पाएकी सद्भावनाकी नेतृ सरिता गिरी पहिलो संविधानसभाकालमा महिला, बालबालिका तथा समाजकल्याण मन्त्री भएकी थिइन् ।

    गृह स्रोतका अनुसार कञ्चनपुरबाट १९, कैलालीबाट १३, बर्दियाबाट ८१, बाँकेबाट २ सय ६, दाङबाट १८, कपिलवस्तुबाट ३ सय ८३, रूपन्देहीबाट ६ सय ८४, नवलपरासीबाट ४ सय ४०, चितवनबाट १५, पर्साबाट ३ सय ४०, बाराबाट २ सय ४३, रौतहटबाट १ सय ५६ र सर्लाहीबाट ९८ वैवाहिक अंगिकृत नागरिकता वितरण गरिएको छ । यस्तै, महोत्तरीबाट १ सय ७६, धनुषाबाट १ सय ३९, सिरहाबाट १ सय ४, सप्तरीबाट ९२, सुनसरीबाट १ सय ६१, मोरङबाट १ सय ३४ र झापाबाट १ सय ७० जनाले यस्तो नागरिकता पाएका छन् ।

    पहाडी मूलको बाहुल्य भएका कञ्चनपुर, कैलाली, बर्दिया, दाङ, चितवनलगायत जिल्लामा भने वैवाहिक अंगीकृत लिनेको संख्या ज्यादै न्यून छ । अझ हिमाली र पहाडका ५५ जिल्लाबाट वैवाहिक अंगीकृत पाउनेको संख्या एक दर्जन पनि नपुगेको गृहका अधिकारी बताउँछन् ।कान्तिपुर

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.