
लुम्बिनीखबर
भैरहवा, १३ जेठ । दश वर्षको जापान बसाई पछि घर फर्किएका सिद्धार्थनगर ३ का रुपेश थापा बसबाट भैरहवा झरेपछि तीन छक्क परे । उनलाई आफ्नो घर कहाँ निर छ ठम्याउन हम्मे हम्मे प¥यो । १० वर्षको बीचमा भैरहवामा भएको विकासले उनलाई निकै रोमाञ्चित पनि बनायो । १० वर्ष अघि जापान जाँदा दुई लेनको बाटो अहिले आउँदा ६ लेनको चौडा सडक, बाक्लो बस्ती, अत्यधिक सवारी साधनको ओहोरदोहोर भैरहवाको स्वरुप नै परिवर्तन भएको देख्दा उनी निकै अचम्मित पनि भए । विगत १० वर्षको अन्तरालमा भैरहवामा भएको तीव्र विकासले सबैलाई अचम्मित पारेको छ । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, ६ लेन सडक, सेज लगायत तीव्र गतिमा दर्जनौ पाँच तारे होटल तथा ठूला उद्योगको स्थापनाले भैरहवाको आर्थिक गतिविधिलाई निकै माथि पु¥याएको छ ।
कस्तो थियो भैरहवा ?
पत्याउन गाह्रो पर्छ, २०२० को दशकसम्म भैरहवा एउटा गाउँको रुपमा थियो । ५५ वर्षको अन्तरालमा त्यो गाउँ आज शहरको रुपमा कायापलट मात्र भएन, व्यापारिक हब नै बनेको छ । यसमा अझ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको परिचय पनि जोडिएको छ । त्यसबेला गाउँको वरिपरि जंगल रहेको ठाउँमा अहिले भैरहवाको मुटु मानिने बुद्ध चोक, बर्मेली टोल फैलिएका छन् । अहिलेको भन्सार कार्यालयको स्थानमा बेलहिया बसपार्क थियो । बेथरीमा बजार लाग्थ्यो ।
अहिले ९० प्रतिशत बढी आयातमा निर्भर रहेको भैरहवा भन्सार कार्यालय देशकै दोस्रो ठूलो भन्सार नाका बनेको छ ।तर, एउटा समय थियो, भैरहवा भन्सारले चामल, तोरी निर्यात गर्ने नाकाको रुपमा ख्याति कमाएको थियो । मैत्रीपथस्थित कृष्ण मन्दिरको छेउमा पक्लिहवा भन्सार नाका थियो । आज जस्तो व्यापारिक रुपमा स्थापित नभए पनि २० को दशक अगाडि पनि भैरहवामा कपडाको व्यापार हुने गथ्र्यो ।
भैरहवाको शान्तिनगरमा रहेको विमानस्थल नाममा मात्रको थियो, सातामा मुस्किलले एउटा उडान हुन्थ्यो । डोकोटा नामक विमानले यात्रु बोक्थ्यो, जसको पङ्खा हातले घुमाएर स्टार्ट गर्नुपथ्र्याे ।
भैरहवा बुटवल जाने अहिलेको सिद्धार्थ राजमार्ग हेर्दा कुनै समय यहाँ खाल्डैखाल्डो र धुलाम्मे हुलाकी सडकमा यात्रा गर्नुपथ्र्यो, कुरा कथा जस्तो लाग्न सक्छ । भन्सार नाका पक्लिहवादेखि बुटवल जाने ढुंगैढुंगाको भित्री सडकमा यात्रा गर्न बसले पनि दिनभरिको समय लगाउँथ्यो । बसमा भैरहवादेखि बुटवल गएको एक मोहर भाडा लाग्थ्यो ।
त्यतिबेला बसको सुविधा हुनु ठूलो कुरा त थियो, तर यात्रा सहज थिएन । बस यति होचो थियो, सिटमा बस्दा पनि टाउको ठोक्किन्थ्यो । सामान्यतया सर्वसाधारणलाई आउजाउ र सामान ढुवानीको लागि बयलगाडाको भर थियो ।
आर्थिक हब बन्दै…………….
०२२ सालमा भैरहवा (सुनौली) – पोखरा सिद्धार्थ राजमार्गको निर्माण भएपछि भैरहवाको आर्थिक विकासको द्वार खुलेको हो । सिद्धार्थ राजमार्ग उक्त समयमा एसपीआर अर्थात सुनौली पोखरा राजमार्गको नामबाट परिचित थियो । यो राजमार्ग निर्माण हुनु अगाडिसम्म रुपन्देहीको बुटवल खासगरी गल्ला र घ्यूको कारोबारमा व्यापारिक हब थियो । उतिबेला रुपन्देही र कपिलवस्तुका किसान तथा व्यापारीहरु बुटवलमा चामल बिक्री गर्न लैजान्थे । सिद्धार्थ राजमार्ग सञ्चालनमा आएपछि गल्लाको कारोबार भैरहवामा पनि सुरु भयो । गल्ला व्यापारमा भैरहवाले बुटवललाई उछिन्यो । बुटवल जाने धान, चामल यता आउन थाल्यो । यहाँबाट पोखरा, काठमाडौं लगायत पहाडका अधिकांश सहर र भारततर्फ समेत चामल निकासी हुन थाल्यो ।
०२५ सालतिर भैरहवामा चिनी मिलको स्थापना भएर सञ्चालन आएपछि भैरहवामा गल्लाको व्यापारमा स्थापित भएको भैरहवाका पुराना व्यापारी बताउँछन् । त्यसपछि भैरहवामा क्रमिक रुपमा बजार विस्तार भयो ।
भैरहवाको अञ्चलपुरमा रहेको तत्कालीन नेपाल विद्युत कर्पोरेसनले त्यतिबेला पहिलो विद्युत लाइन चिनी मिलमै दिएको थियो । ‘भैरहवामा विद्युत् कार्यालय स्थापना हुनु अगाडि ग्रामीण क्षेत्रमा सीमित राइस मिलहरु थिए जुन इन्धनले चल्थे । विद्युत कार्यालय स्थापना भएसँगै विद्युतीय राइस मिलहरु खुलेर विकासको अर्को ढोका खुल्यो ।’
भारतमा चामलको निकासी………
राइस मिलको स्थापनासँगै भारतमा चामल निकासी गर्न ०२८ सालतिर भैरहवामा धान–चामल निर्यात कम्पनी स्थापना गरियो । त्यसपछि खाद्यान्नहरु धमाधम भारत जान थाले भने उताबाट लत्ताकपडा आउँथे । सो कम्पनी सरकारी तथा निजी लगानीमा स्थापना गरिएको थियो । तर, सरकारी उदासीनताका कारण कम्पनी लामो समय चल्न नसकेको त्यसबेलाका कम्पनी डाइरेक्टर तथा भैरहवाको पहिलो पुस्ताका उद्योगी नारायण अग्रवाल बताउँछन् ।
दुई–तीन वर्ष उक्त कम्पनी चल्दा भैरहवाबाट चामलको निकासी राम्रो थियो । सरकारले उक्त कम्पनी भङ्ग गरेसँगै चामल निर्यात रोकियो र त्यसबाट गल्लाको व्यापारमा धक्का लाग्यो । कस्तो अवस्था आयो भने, चामल भारतबाट आयात हुन थाल्यो ।
उद्योगदेखि पर्यटनसम्म फड्को………..
भैरहवामा ०३० को दशकमा व्यापार–व्यवसाय फस्टाउन थालेपछि यहाँ पहाडबाट बसाइसराइ हुने क्रम पनि बढ्यो । त्यसबाट यस क्षेत्रमा चहलपहल बढ्दै गयो ।
यहाँ गल्लाको क्षेत्रमा शंकर कान्दु परिवारको अग्रणी भूमिका रहेको छ । उद्योग क्षेत्रमा भने अग्रवाल परिवारको स्थान अग्रपंक्तिमा छ । सुरुवाती अवस्थामा नथुमल अग्रवालले कपडाको व्यापारबाट व्यवसाय सुरु गरेका थिए । उनका छोरा नारायण अग्रवालले आफ्नो पुस्तौनी व्यापारलाई अहिले पनि निरन्तरता दिँदै आएका छन् ।
सबै कुरा समयको माग हो, कुनै बेला भैरहवा व्यापारमा चम्कियो, पछिल्लो समय भने उद्योग फस्टाइरहेको छ । व्यापारीहरुको दोस्रो पुस्ता पनि उद्योग क्षेत्रमै आकर्षित देखिएका छन् । पर्यटन क्षेत्रमा पनि स्थापित हुँदैछ । विगतदेखिको भैरहवाको विकासक्रमलाई नजिकबाट नियाल्दै आएका व्यवसायी नारायण अग्रवाल भन्छन्, ‘भैरहवाको भविष्य निकै सुन्दर छ ।’
भैरहवा आर्थिक नाकाको रुपमा स्थापित हुनुमा सुनौली–पोखरा राजमार्गको भूमिका जति महत्वपूर्ण छ, अप्रत्यक्ष रुपमा त्यति नै भूमिका सीमावर्ती भारतीय शहरको नौतनवा रेल्वे स्टेशनको पनि छ । स्वास्थ्य क्षेत्रमा रण अम्बिका आँखा अस्पताल र युनिभर्सल मेडिकल कलेज स्थापना भएपछि यहाँको आर्थिक विकासमा तिनले पनि टेवा दिए । सुनौली–पोखरा सडक अहिले स्तरोन्नति भई बेलहिया–बुटवल ६ लेन व्यापारिक मार्गको रुपमा विस्तार भइरहेको छ । यसबाट भैरहवाले पुनः आर्थिक क्षेत्रमा नयाँ आयाम र चर्चा पाएको छ ।
अहिले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, विशेष आर्थिक क्षेत्र (सेज), लुम्बिनी तथा सिद्धार्थ नगरपालिकाको एकीकृत विकास लगायतबाट भैरहवाले नयाँ परिचय बनाउँदै छ । गौतम बुद्धको जन्मस्थल लुम्बिनी तथा रुपन्देही क्षेत्र उद्योग, व्यापारका साथै पर्यटन, कृषिका हिसाबले पनि अगाडि छ । ०५० सालपछि बढी चर्चामा आएको लुम्बिनीको पछिल्लो समयमा वृहत्तर रुपमा विकास गरिँदै छ ।
भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणाधीन अवस्थामा छ भने बेलहिया–बुटवल ६ लेनको व्यापारिक मार्ग पनि धमाधम बनिरहेको छ । भैरहवा–लुम्बिनी सडकखण्डलाई पनि चार लेनमा विस्तार गरिँदै छ ।
लुम्बिनीको प्रवेशद्वारको रुपमा रहेको सिद्धार्थनगर (भैरहवा) लाई आधुनिक सहरको रुपमा विकास गर्न बजेट निकासा भएको छ । पर्यटकीय महत्व बोकेको यो जिल्लामा पाँचतारे होटलहरु पनि निर्माणाधीन अवस्थामा छन् । अहिले पनि दर्जनभन्दा बढी स्तरीय होटलहरु निर्माण भईरहेका छन् ।
देशकै दोस्रो ठूलो भन्सार नाका रहेको भैरहवामा हाल लुम्बिनी करिडोर सञ्चालनमा छ, जहाँ दुई दर्जनभन्दा बढी ठूला उद्योगहरु छन् । यसका साथै जिल्लाभरि अन्य सयौं उद्योग सञ्चालनमा छन् । भैरहवा–परासी सडकखण्ड पनि औद्योगिक करिडोरको रुपमा विकास हुँदै छ । विशेष आर्थिक क्षेत्र (सेज) सञ्चालनको तयारीमा छ ।
यी सबै पक्षबाट हेर्दा रुपन्देही सदरमुकाम भैरहवा समृद्धिको पथमा बढिरहेको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण पूरा भई सञ्चालनमा आएपछि भैरहवा क्षेत्रले पर्यटन क्षेत्रमा फड्को मार्ने र समग्र विकासको गतिमा अझ अगाडि बढ्ने अपेक्षा गरिएको छ ।