नरेश के.सी.
बृुटवल, असार ६ । विश्वका जुनसुकै कुनामा रहेता पनि आफ्नो गाऊ ठाऊ र देशप्रति माया ममता राख्ने नेपालीहरुको संख्या धेरै नै छ । त्यसैले होला विदेशका विभिन्न भागमा गैरआवसीय नेपाली संघ वा विभिन्न संघसंगठन गठन गरी विदेशमा रहेका नेपालीहरुले आफुले कमाएको केही हिस्सा नेपालको समृद्धि र शान्तिकोलागी खर्च गरिरहेका छन् ।

तर विडम्बना , घरैपीच्छे नेता रहेको हाम्रो देशमा राम्रा कामको पनि अवरोध भईरहेको हुन्छ । हो यस्तै भएको छ अहिले रुपन्देहीमा । ५ नम्बर प्रदेशको राजधानी बुटवलमा अवस्थीत हिलपार्कमा जनजाति संग्राहलय बनाउने उद्धेश्यले हङकङमा रहेका नेपालीहरुले आफ्ना रगत र पसिनाबाट सहयोग वापत दिएको रकममा यहाका स्थानिय केही जनजातिका नेताहरुले विरोध गरेका छन् ।
हङकङमा बस्ने नेपालीहरुले हिलपार्कमा जनजाति संग्रहलाय बनाउने ध्ययेले हिलपार्क सहयोग समिति हङकङ मार्फत त्यहांका नेपालीहरुसंग सहयोग रकम संकलन गरेका थिए । आफ्नो जन्मथलो रुपन्देहीमा संग्रहलाय हुनेभएपछि खुसीका साथ कम्मर कसेर रकम संकलनमा जुटेका गैरजनजातिहरु पनि अहिले दुखी भएका छन् ।
हङकङमा बस्ने हिलपार्क सहयोग समिती हङकङका उपाध्यक्ष पुरन खड्काहरु अहिले रकम हस्तान्तरण पश्चात निस्केको विवादका कारण दुखी भएका छन् । आफु क्षेत्री समुदायको भएता पनि देशभित्र हुने हरेक गतिविधीमा सक्दो आर्थिक सहयोग मार्फत सक्रियतापुर्वक लागीरहदा जुन खुसी लाग्थ्यो आज आएर जनजाति संग्रहलाय बनाउने ध्ययेले रकम हस्तान्तरण गर्दा अनावश्यक विवाद सृजना गर्नेहरुलाई देखेर दुखः लागेको खड्काले बताए ।
समितीका अध्यक्ष हेमराज थापा सहितले गएको हप्ता ४७ लाख रुपैयां बराबरको चेक हिलपार्क परिषदलाई हस्तान्तरण गरेका थिए । थापा सोही रकम हस्तान्तरणकोलागी हङकङदेखी नेपाल आएका थिए । रकम हस्तान्तरण गर्दा छिट्टै नै जनजाति संग्रहलाय बन्ने र आफ्ना पुर्खाहरुको सम्मान हुने अपेक्षा व्यक्त गरेका थापा आइतबार काठमाण्डौं हुदैं आफ्नो कार्यक्षेत्र हङकङ फर्किनै लाग्दा भने बडो दुखी भएको बताए । उनले भने ‘हामी विदेशमा बस्नेहरुले देशकोलागी केही गरौं भनेर आफुले कमाएको रकम मध्ये सहयोग उठाएर ल्याएर आएका थियौं । सो रकम हस्तान्तरण पनि गर्यौं तर पछि मलाई आक्षेप लगाइएछ । यहांका जनजाति नेता भन्नेहरुले विरोध गरेछन् । यो दुखदः हो । ’
थापा काठमाण्डौं हुदैं हङकङ उड्नै लाग्दा केही जनजाति नेताले विरोध गरेको थाहापाएपछि जहाजको टिकट क्यान्सील गरी पुनः बुटवल आई पत्रकार सम्मेलनगरी विरोध गर्नेहरुलाई जवाफ दिएका छन् ।
उनले जनजाती महासंघलाई ‘बाइपास’ नगरेको बताउदैं बरु सक्दो सहयोगकोलागी अपील गरेका छन् । उनले भनेका छन् विरोध गर्नुभन्दा सहयोग गर्नुहोस् । हिलपार्क सहयोग समिति हङकङ र हिलपार्क विकास परिषदले संयक्त रुपमा पत्रकार सम्मेलन गरी केही सञ्चार माध्यममा समाचार आएजस्तो जनजाति महासंघलाई बाइपास नगरिएको दावी गरेका हुन् ।
संग्रहालय निर्माणको अवधारणा बनेको १० वर्षअघिदेखि गत चैत २ गतेसम्म आदिवासी जनजाति महासंघका जिम्मेवार पदाधिकारीको संलग्नतामै निर्णयहरु भएका र हङकङमा रकम संकलनका लागि अख्तियारी दिने काम भएको दुई संस्थाले बताएका छन् । संग्राहालय निर्माणका लागि हङकङमा रकम संकलन गर्न बुटवल हिलपार्क परिषदले आजीवन सदस्य हेमराज थापालाई २०७३ मंसिर २६ गते पत्र दिएको र सोही अनुसार संकलित ४७ लाख रुपयाँ संकलन गरी सो रकम बराबरको चेक हिलपार्क परिषदलाई हस्तान्तरण गरेको पत्रकार सम्मेलनमा दुबै संस्थाले बताए ।
हङकङमा संकलन भएको ४७ लाख रुपैयां बुटवलमा ल्याएर हस्तान्तरण गर्ने सन्दर्भमा जनजाति महासंघले आफूलाई हस्तान्तरण गर्न भनेपनि आफूहरुले हिलपार्क परिषदको नाममा रकम संकलन गरेकाले उसैलाई दिन खाजेपछि असन्तुष्टी बढेको समितिका संयोजक थापाले बताए ।
‘जनजाति महासंघका साथीहरुले रकम महासंघलाई दिन भन्नुभएको थियो तर हामीले नियम अनुसार जस्को नामको रसिद छापेर सहयोग उठायौं,उही संस्थालाई दियौं,त्यहीबाट उहांहरु असन्तुष्ट हुनुभयो’– थापाले भने । बुटवल उपमहानगरले अत्यन्तै महत्व दिएर जुन हिलपार्कमा जनजाति संग्रहलाय बनाउने अभियान थालेको थियो त्यसमा हामीले सहयोग गर्ने अभियान मात्रै थालेका हौं ।
जनजाति संग्रहालय सबै जाति र रुपन्देहीको सम्पत्ति भएकाले आफूहरु जातीय सोंच भन्दा माथि उठेर काम गरेको थापाले बताए । उनले आफूले सहयोग संकलन गरेको रकम मध्ये एक रुपैयां पनि दुरुपयोग नगरेको दावी गरे । बुटवल हिलपार्क परिषदका सदस्य बोनिन पियाले जनजाति महासंघसंग वार्ता र संवाद गरेर सहमतिका साथ अघि बढ्नुपर्ने बताए ।
संग्रहालय निर्माण समितिका संयोजक होमबहादुर गलामीले आफू पनि महासंघको पुर्व अध्यक्ष भएकाले जनजातिलाई पाखा लगाएर संग्रहालय निर्माण नगरिने स्पष्ट पारे । उनले महासंघका जिल्ला अध्यक्ष लगायतका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति र सहमतिमा आर्थिक संकलन तथा समन्वय समिति गठन भएकाले अहिले आएर विरोध गर्नु र संग्रहालय निर्माण प्रकृयाबाट अलग्गिनु राम्रो नभएको बताए ।
स्रोतका अनुसार जनजाति संग्रहलायको नाममा उठेको रकम जनमुक्ति पाटि मार्फत हस्तान्तरण गर्नुपर्ने केही जनजाति नेताहरुले दबाब दिएको भएता पनि त्यसो नभएपछि विवाद सृजना गरिएको हो ।
हेमराज थापा, पुरन खड्का, एम बि थापा, धर्मसिंह गुरुंग, यमलाल कडेंल, पुर्ण दर्लामी, विनोद सुनारी थापा, हरि ढकाल, सन्जय थापा क्षेत्री –देहारादुन) हस्त राई ( संखुवासभा) , विकास राई (भोजपुर), गणेशजंग राना (पाल्पा) लगायतले संग्राहलय निर्माण रकम संकलनमा नेतृत्वदायी भूमिका खेलेका थिए ।
हङकङकमा बस्ने नेपालीहरुले यसअघि मगरघाटको निर्माणकोलागी यसअघि ४० लाख रुपैया सहयोग गरिसकेका छन् । यसैगरी केही हप्ता अगाडी गुल्मीमा करिब ८ लाख खर्चेर आखां शिविर पनि सन्चालन गरिसकेका छन् भने मगरहरुको उद्भव स्थल पाल्पाको बल्डेङगढीमा पनि आवश्यक सहयोग गर्ने जनाएका छन् । हिलपार्क सौन्दर्यकरणमा विभिन्न संघसंस्था तथा सरकारी निकायको गरी करिब ४ करोड जत्ति लगानी भईसकेको छ । नेपालका हरेक सामाजिक तथा विकास निर्माणमा पुरन खड्का , हेमराज थापाको नेतृत्वले हङकङमा विशेष भूमिका खेल्दै आएका छन् ।