
लुम्बिनीखबर
भैरहवा, साउन २० । देशमा धेरै उद्योग धन्दाहरु सञ्चालनमा छन् तथापी वर्षेनी हजारौँ युवाहरु खाडी मुलुकमा गइरहेका छन् । उद्योग धन्दा थपिएता पनि युवाहरुको पलायन नरोकिनुमा केही उद्योगहरुको पनि दोष रहेको सरकारी प्रतिवेदनले नै जनाएको छ । प्रतिवेदनले जनाए अनुसार नेपालमा सञ्चालित अधिकांश उद्योगले नेपाली कामदार भन्दा भारतीय र बंगाली कामदारलाई राख्ने गरेका छन् ।
तर प्रदेश नम्बर ५ को रुपन्देही र अर्घाखाँचीमा सञ्चालित अग्नी ग्रुपद्वारा सञ्चालित उद्योगहरुले भने स्वदेशी युवाहरुलाई नै रोजगारीको प्राथमिकतामा राखेको छ । ०६७ सालदेखि सञ्चालनमा आएको उक्त उद्योगले स्थानीयलाई नै रोजगारी दिएको छ । रुपन्देहीको गुरबनियामा सञ्चालनमा रहेको अग्नी सिमेन्ट इन्डस्ट्रिजमा २ सय हाराहारीमा मजदुरहरु छन् ती मध्ये ९० प्रतिशत नेपाली रहेका छन् ।
उद्योगका सञ्चालक राजकुमार पोखरेलले भने , ‘हामी स्वदेशीमा नै जोड दिएका छौं । उद्योगमा काम गर्ने मजदुर पनि नेपाली नै छन्, हाम्रो उद्योगमा प्रयोग हुने कच्चा पदार्थ पनि अधिकांश स्वदेशी नै छ र हाम्रो उत्पादनको बजार पनि स्वदेशी नै हो । ’
रुपन्देहीको अग्नी सिमेन्ट र शितगंगा नगरपालिका अर्घाखाचीमा शुभश्री अग्नी सिमेन्ट उद्योग सन्चालन गरेका पोखरेल दाजुभाईको अग्नी ग्रुप पनि छ । अग्नीमा दुई सय कामदारले रोजगारी पाईरहदा शुभश्रीमा पौने तीनसयको हाराहारीमा कामदार रहेका छन् । ‘जहां उद्योग छ त्यहीकै धेरै कामदार छन् ’ पोखरेलले भने । प्युठानको बहानेबाट चुनढुंगा उत्खनन गरिरहेको उक्त उद्योगले दैनिक ८ हजार बोरा सिमेन्ट उत्पादन गर्ने गर्दछ । ओपीसि ब्रान्डको अल्फा र पिपीसिमा अग्नी, आरेन्ट , त्रिदेव उत्पादन गरिरहेको उक्त सिमेन्टको बजार पनि अपेक्षाकृत भएको पोखरेल बताउँछन् ।
सिमेन्ट उद्योगहरुको मुख्य समस्या कोइलाको भएको जनाउदैं उनले भने ‘हामीले मात्रै वर्षको करिब ५० हजार टन कोइला आयत गर्छौ । तेस्रो देशबाट आयत हुने कोइला बिरगन्ज भन्सारबाट मात्रै आयत हुन्छ । रक्सौलमा डम्पींग गर्यो। फेरी बिरगन्जमा डम्पींग गर्यो । धेरै दुखः छ कोइला आयत गर्दा । ’
कोइलाको दर घटबढ भईरहने गर्दछ । यद्यपी ९० रुपैया अमेरिकन डलर प्रति टन देखी १ सय ५० सम्म पर्ने गर्दछ । औषतमा नेपाली बजारमा २० हजार प्रतिटन कोइलाको मूल्य पर्ने गर्दछ ।