logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    सरकारी निर्देशिका विपरीत एम्बुलेन्स सेवा


    १८ भाद्र २०७५ , सोमबार

    सरकारी निर्देशिका विपरीत एम्बुलेन्स सेवा

    अरुण ज्ञवाली
    भैरहवा, १८ भदौ । मानव स्वास्थ्य प्रति कति सरोकारवाला निकाय कति गैर जिम्मेवार छ भन्ने उदाहरण खोज्न बाहिर जानु पर्दैन रुपन्देहीमा बिरामी बोक्ने एम्बुलेन्स हेरे पुग्छ ।

    रुपन्देहीमा बिरामी लिएर हिँड्ने अधिकांश एम्बुलेन्स सरकारले तोकेको मापदण्ड नै पूरा नगरी हिँड्ने र एम्बुलेन्सलाई नियमन गर्ने निकाय मौन बसिदिँदा उपचार गर्न हिँडेका गम्भिर बिरामी एम्बुलेन्समै ज्यान गुमाउनु पर्ने अवस्था श्रृजना भएको छ ।

    कतियप एम्बुलेन्स यति थोत्रा छ न कि १० मिनेटमा अस्पताल पुग्नु पर्नेमा ३० मिनेट भन्दा बढी लगाउने गरेका छन् । चाडपर्वका बेला मात्र बजार अनुगमन गर्ने जिल्ला प्रशासन कार्यालयको अनुगमन समिति र जिल्ला जनस्वास्थ्य कार्यालय मानवस्वाथ्य प्रति यस्तो खेलवाड हुँदा समेत कानमा तेल हालेर बसेको छ ।

    जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीको प्रमुख केयर सिंह गोदार एम्बुलेन्समा अनुगमन नपुगेको स्विकार गर्छन । उनले बेला बेलामा अनुगमन गरिए पनि त्यो पर्याप्त नभएको बताए । उनले भने “नयाँ एम्बुलेन्समा त मापदण्ड र निर्देशिका पालना भएको छ तर पुरानामा भएको छैन ।” प्रमुख गोदारले निर्देशिका पालना नगर्ने एम्बुलेन्सलाई अब अनुगमन गरी कडा कारबाहीको दायरामा ल्याइने दाबी गरे ।

    गाउँगाउँमा खुलेका सहकारीदेखि धार्मिक संघ, संस्था र सहरका सुविधा सम्पन्न अस्पतालहरूले समेत एम्बुलेन्स सेवा सञ्चालन गरेका छन् । तर यसरी सञ्चालन भएका एम्बुलेन्स सेवाप्रति आम जनसमुदाय ढुक्क हुन भने सकेका छैनन् ।

    ‘भनेको बेला र आवश्यक परेको बेला एम्बुलेन्स पाउनै मुस्किल छ । फोन उठ्दैन, उठिहाले पनि एम्बुलेन्स बिग्रेको भन्ने जवाफ पाइन्छ’, सिद्धार्थनगर ३ दरखसवा निवासी सुरज थापाले गुनासो गरे । उपभोक्ताले खोजेका बेला नपाउने मात्रै होइन, धेरैजसो एम्बुलेन्स त तोकिएको मापदण्ड अनुसार सञ्चालन समेत भएका छैनन् ।

    सरकारले सार्वजनिक गरेको एम्बुलेन्स निर्देशिका २०७३ ले एम्बुलेन्सलाई ३ श्रेणीमा विभाजन गरेको छ । ‘क’, ‘ख’ र ‘ग’ गरेर एम्बुलेन्सको श्रेणीअनुसार एम्बुलेन्समा हुनुपर्ने सुविधा पनि तोकिएको छ । तर सञ्चालनमा रहेका एम्बुलेन्सहरूमा तोकिएका सुविधाहरू अत्यन्त न्यून मात्रै पाइने गरेका छन् ।

    के–के हुनुपर्छ ‘क’ वर्गको एम्बुलेन्समा ?
    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको निर्देशका २०७३ मा ‘क’ वर्गको एम्बुलेन्समा हुनुपर्ने क्षमता, सुविधा र भूमिकालाई यसरी उल्लेख गरिएको छ ।

    एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका २०७३ मा– ‘क’ वर्गको एम्बुलेन्समा राष्ट्रिय आकस्मिक उपचार समन्वय समितिले तोकेको ढाँचामा बाहिर देखिने गरी कम्तीमा दुई तिहाई भाग रातो, त्यसबाहेक दायाँ—बायाँको भाग हरियो र पहेँलो रङ्गको प्याटर्नबक्स शैली वा चेसबोर्ड शैलीको हुनुपर्छ । यस्तै विदेशी सरकार वा दातृ निकायले सहयोगस्वरूप नेपाल सरकार वा नेपालमा कार्यरत संस्थालाई प्रदान गर्ने एम्बुलेन्स ‘क’ अथवा ‘ख’ वर्गको हुनुपर्नेछ ।

    यस्तै ‘क’ वर्गको एम्बुलेन्समा अस्पतालको आकस्मिक कक्षमा प्रयोग गर्ने औषधी, उपकरण र जनशक्ति हुनुपर्दछ । ‘क’ वर्गको एम्बुलेन्समा चालकले स्वास्थ्य सम्बन्धी आधारभूत तालिम लिएको हुनुपर्दछ । यस्तै ब्लडप्रेसर चेक गर्ने मेसिन, स्टेथोस्कोप, टर्चलाइट, १८ महिना चिकित्सासम्बन्धी तालिम लिएको कर्मचारी हुनुपर्ने छ ।

    ‘ख’ वर्गको एम्बुलेन्समा हुनुपर्ने सुविधाहरू
    ‘ख’ वर्गको एम्बुलेन्समा समन्वय समितिले तोकेको ढाँचामा बाहिर देखिने भागको कम्तीमा दुई तिहाई भाग पहेँलो, त्यसबाहेक देखिने भाग हरियो र रातो रङ्गको प्याटर्नबक्स शैली वा चेसबोर्ड शैलीमा भएको हुनुपर्ने छ । सुविधाको हिसाबमा ‘ख’ वर्गको एम्बुलेन्समा अस्पतालको आकस्मिक कक्षमा प्रयोग गर्ने औषधि, उपकरण, जनशक्ति हुनुपर्दछ ।

    ‘ग’ वर्गको एम्बुलेन्समा हुनुपर्ने सुविधा
    ‘ग’ वर्गको एम्बुलेन्समा राष्ट्रिय समन्वय समितिले तोकेको ढाँचामा बाहिर देखिने भागको कम्तीमा दुई तिहाई भाग हरियो, त्यसबाहेक देखिने भाग रातो र पहेँलो रङ्गको प्याटर्नबक्स शैली वा चेसबोर्ड शैलीमा भएको । तर आर्थिक वर्ष २०७३÷०७४ सम्म सञ्चालन अनुमति लिने ‘ग’ वर्गका एम्बुलेन्सको हकमा आर्थिक वर्ष ०७८÷०७९ सम्मको अवधिका लागि सेतो रङ्ग हुन सक्नेछ भनेर उल्लेख गरिएको छ ।

    सेवाको हिसाबमा ‘ग’ वर्गको एम्बुलेन्समा प्राथमिक उपचारका औषधि साथै सामानहरू, अक्सिजन सिलिन्डर, आईभी इन्जेक्सन दिन सक्ने व्यवस्था, स्ट्रेचर, बिरामी बस्न मिल्ने बेड, बी.पी. चेक गर्ने मेसिन, टर्चलाइट, स्वास्थ्यसम्बन्धी बेसिक तालिम लिएको चालक र आकस्मिक कक्षको जस्तै औषधिको पनि व्यवस्था हुनुपर्छ ।

    सयुक्त एम्बुलेन्स चालक संघ रुपन्देहीका अध्यक्ष चुणमणि बश्यालले क बर्गको एम्बुलेन्स रुपन्देहीमा एउटा मात्र भएको दाबी गर्दै सरकार परमिट नदिएका कारण धेरै समस्या भएको बताउँछन् । उनले पुराना एम्बुलेन्स हटाएर नयाँ ल्याउनका लागि लगत कट्टा गराएर ल्याउने सोचमा रहेको बताए ।

    सबै एम्बुलेन्सको हकमा लागू हुने विषय
    निर्देशिकाको पहिलो बुँदामा उल्लेख गरेअनुसार सबै एम्बुलेन्सका लागि न्यूनतम मापदण्ड तोकिएको छ ।

    राष्ट्रिय प्रदूषण मापदण्ड अनिवार्य रूपमा पालना गरेको, एम्बुलेन्सको पहिचान हुने गरी आवाज (साइरन), निलो रङ्गको सङ्केतको बत्ती जडान भएको, फोर ह्वील ड्राइभ, सस्पेन्सनको चेन सिस्टम भएको, एम्बुलेन्समा ‘एम्बुलेन्स’ शब्द वा संस्थाको टेलिफोन नम्बर अङ्ग्रेजी र नेपाली दुवै भाषामा लेखिएको हुनुपर्छ, एम्बुलेन्सको वर्गीकरण खुल्ने गरी ‘वर्ग’ उल्लेख भएको हुनुपर्नै, वर्गीकरण बमोजिमका सामान तथा सुविधा अद्यावधिक भएको हुनुपर्नै मापदण्ड तोकिएको छ ।

    त्यस्तै एम्बुलेन्स एक हजार सी.सी.भन्दा बढी क्षमताको भएको हुनुपर्नै, एम्बुलेन्स निलो रङ्गको अफ लाइन सङ्केत चिन्ह दायाँ, बायाँ र पछाडि तीनैतर्फ राखिएको हुनुपर्ने, एम्बुलेन्स चालकको पछाडि पट्टि कुनै पनि सिट नराखेको हुनुपर्ने, नेपाल सरकारबाट राजस्व छुट सुविधामा प्राप्त गरेको एम्बुलेन्सले ‘नेपाल सरकारबाट राजश्व छुट प्राप्त एम्बुलेन्स’ भनी प्रष्ट देखिने गरी लेखिएको हुनुपर्छ ।

    एम्बुलेन्स चालकले अनिवार्य तालिम लिनुपर्छ
    निर्देशिका अनुसार एम्बुलेन्स चालक पनि अनिवार्य स्वास्थ्यसम्बन्धी तालिम लिएको हुनुपर्छ । कुन रोगको बिरामी हो र उपचारका लागि कुन अस्पताल लैजानुपर्छ भन्ने बारेमा पनि चालकलाई जानकारी हुनुपर्छ । यस्तै एम्बुलेन्स चालक बन्नका लागि २५ वर्ष नाघेको तथा चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गरेको ५ वर्षपछि मात्रै एम्बुलेन्स चालक बन्न पाइन्छ ।

    निर्देशिकाको पालना नगर्ने एम्बुलेन्सलाई चेतावनी दिने र आचारसंहिता पालना गर्न लगाउने भनिएको छ । यस्तै गैरकानुनी कार्य तथा आचारसंहिता विपरीत एम्बुलेन्स सञ्चालन गरे दर्ता खारेजी गर्ने र कानुनअनुसार कारवाही गर्ने भनिएको छ । अध्यक्ष बश्यालले रुपन्देहीमा अधिकाश चालक तालिम प्राप्त भएको बताए ।

    तर अहिलेसम्म कुन जिल्लामा कति एम्बुलेन्सले निर्देशिका विपरीत काम गरे र कतिलाई कारवाही भयो ? भन्ने प्रश्नको जवाफ जनस्वास्थ्य कार्यालय सँग छैन ।

    निर्देशिकामा उल्लेख गरेअनुसार नेपालमा एम्बुलेन्स सेवा सञ्चालन हुने हो भने कम्तीमा पनि ३५ प्रतिशतले अकालमा ज्यान गुमाउनु नपर्ने सरोकारवालाहरू बताउँछन् । तर स्वास्थ्य मन्त्रालयको एम्बुलेन्स शाखा नेपालमा कुन श्रेणीका कति एम्बुलेन्स छन् ? ती एम्बुलेन्सले सरकारको निर्देशिकाअनुसार काम गरेको छन् छैनन् भन्ने कुनै रेकर्ड या नियमन नै नभएको बताउँछ । जनस्वाथ्य कार्यालयका प्रमुख गोदारले अब रुपन्देहीमा एम्बुलेन्सको अनुगमन गरी व्यवस्थित गरिने दाबी गर्छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.