logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    सीमामा अवैध कारोबार प्रहरीलाई टाउको दुखाई


    ८ असोज २०७५ , सोमबार

    सीमामा अवैध कारोबार प्रहरीलाई टाउको दुखाई


    लुम्बिनीखबर
    भैरहवा, असोज ८ । असोज १ गते सशस्त्र प्रहरी बल नेपाल राजश्व तथा भन्सार गस्ती डण्डा गुल्मले अवैध रुपमा नेपाल भित्रिँदै गरेको कपडा र अन्य खुद्रा सामान पक्राउ गरी १ लाख १३ हजार ३० रुपैयाँ मूल्य बराबरको सामाग्री भन्सार पठायो । सोही दिन जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पनि ३६ हजार ८ सय ४० रुपैयाँ बराबरको कपडा सिनपा १२ कालिकापथबाट बरामद गरी भन्सार पठायो ।

    गएको बिहीबार नेपाल प्रहरीकै टोलीले १ लाख ४५ हजार ८ सय ४० मूल्य बराबरको कपडा, खाद्यान्न सहितको अवैध सामग्री बरामद गरी भन्सार पठायो । शनिबार ९० हजार मूल्य बराबरको अवैध कुखुराको चल्ला बरामद गरी सशस्त्र प्रहरीबल डण्डाले नष्ट ग¥यो ।

    गएको भदौं महिनामा मात्रै सशस्त्र प्रहरीले १६ लाख ५२ हजार ७ सय ७९ र नेपाल प्रहरीले ५४ लाख ८१ हजार ९ सय ४१ मूल्य बराबरको सामाग्री बरामद गरी थप कारबाहीको लागि भैरहवा भन्सार पठायो ।

    यसरी एकै महिनामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले लाखौँ मूल्यको अवैध सामग्री बरामद गरिरहेता पनि सीमावर्ती क्षेत्रबाट चोरी पैठारी र निकासी हुने क्रम भने रोकिएको छैन । चोरी निकासी र पैठारी रोक्नको लागि सशस्त्र प्रहरीले छुट्टै योजना सहित काम गरिरहेको छ । सशस्त्र प्रहरीले दसगजाकै नजिक विओपी खडा गरेर सीमा सुरक्षा मात्रै होइन चोरी निकासी, पैठारी पनि हेरिरहेको छ । हरेक छोटी भन्सार र नाकामा सुरक्षाकर्मी खटाइएको छ ।

    डिएसपीको कमाण्डमा रहेको सशस्त्र प्रहरीबल राजस्व गस्ती गुल्म डण्डाको कामै भन्सार छली गरी चोरी निकासी र पैठारी हुनेलाई नियन्त्रण गर्ने हो । त्यसका अतिरिक्त सीमा सुरक्षा कार्यालयले विभिन्न बोर्डर गस्ती गर्ने गर्दछ । सूचनाको लागि सिसुका, राजस्व डण्डा र हरेक विओपीले घुमुवा प्रहरी राखेकै हुन्छन् तर पनि अवैध कारोबार रोकिँदैन ।

    यता जिल्ला प्रहरीले सीमा क्षेत्रका चौकी मार्फत कडाई गरिरहेकै छ । अहिले जिल्ला प्रहरी कार्यालय रुपन्देहीले चार तहको घुमुवा प्रहरीलाई जिल्लाभरी दौडाएको छ ।

    तथापी चोरी निकासी र पैठारी नियन्त्रण हुन सकेको छैन । भदौ महिनामा सशस्त्र र नेपाल प्रहरीले कूल ७१ लाख ३४ हजार ७ सय २० रुपैयाँको सामान बरामद गरी भन्सार पठाइरहँदा सोही महिनामा भैरहवा भन्सारले ७ अर्ब ६ करोड ७० लाख राजस्व संकलन गरेको देखिन्छ ।

    सीमा क्षेत्रमा भन्सार छली गरी चोरी निकासी तथा पैठारी गर्ने गिरोहले दैनिक लाखौँ मूल्यको सामान ओसार पसार गर्ने गर्दछन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीको अलग अलग संयन्त्रले सीमा क्षेत्रमा हुने अवैध कारोबारलाई निस्तेज पार्न जिल्लामा नयाँ नयाँ अभियान पनि चलाएकै छन् ।

    नेपाल प्रहरी रुपन्देहीमा यतिबेला अपराध अनुसन्धानमा नाम कमाएका एसपी हृदय थापा र डिएसपी कुमोध ढुंगेलको जोडी दिनरात खटिएकै छ । यहाँको हरेक नाकाको राम्रो ज्ञान भएका डिआइजी शेरबहादुर बस्नेत प्रदेश प्रमुख छन् ।

    नाकाको राम्रो अनुभव सँगालेका एसएसपी राजेन्द्र ढकाल संघीय इकाई प्रमुख छन् । सिंगो जिल्लाको सीमा सुरक्षाको लागि अनुभवी एसपी सुदर्शन सिलवालको नेतृत्वमा जम्बो टोली खटिएको छ । तीन तीन जना इन्स्पेक्टर सहित डिएसपी सूर्य सेनको नेतृत्वमा राजस्व तथा भन्सार गस्ती गुल्म सक्रीय छ ।

    तर पनि सीमामा हुने अवैध कारोबार यतिबेला प्रहरीको लागि टाउको दुखाई भएको छ । सशस्त्र र नेपाल प्रहरीको तहतह टोली २४ सै घन्टा चोरी तस्करी हुने नाका कुरेर बस्ने गरेको भएता पनि त्यति प्रभावकारी हुन नसकेको देखिन्छ । रुपन्देही प्रहरी प्रमुख एसपी हृदय थापा भन्छन् ‘चारैतिर खुल्ला बोर्डर छ, एक ठाउँमा प्वाल टाल्यो अर्को ठाउँबाट ल्याइहाल्छन् ।’

    कतिपय मान्छेलाई भारतमा भन्दा नेपालमा गुणस्तरीय सामान सस्तोमा पाइन्छ भन्ने थाहा नहुनु र चोरी गर्नैपर्ने मानसिकता परिवर्तन नहुँदासम्म चोरी निकासी पूर्णतया नियन्त्रण नहुने सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिव नेत्र आचार्यले जनाए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.