
अरुण ज्ञवाली
भैरहवा, असोज ११ । पछिल्लो समय रुपन्देहीमा आर्थिक विकास तीव्र रुपमा अगाडि बढेको छ । ठुला ठुला तारे होटल देखि कलकारखाना, अन्तर्राष्ट्रिय विमानस्थल, विशेष आर्थिक क्षेत्र सबै निर्माणको अन्तिम चरणमा छन । आर्थिक विकासको मेरुदण्ड मध्यको एक विद्युत आपूर्ति पनि हो । राष्ट्रिय गौरवका आयोजना पूरा हुँदा सम्म रुपन्देहीमा विद्युत आपूर्तिको माग पुरा होला त ?
नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख उमेश कुमार झाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अहिले नै सुरु भएपनि विमानस्थललाई आवश्यक पर्ने ३ एमबिए विद्युत दिन प्राधिकरण सक्षम रहेको दाबी गर्छन् ।
“विमानस्थल सञ्चालनमा आए पनि विद्युतको समस्या छैन” प्रमुख झाले भने “विमानस्थललाई चाहिने जति बिद्युत दिन हामी तयार छौँ ।” विशेष आर्थिक क्षेत्रलाई अहिले नै ३ एमबिए विद्युत दिन प्राधिकरण तयार रहेको झाले बताए । उनले विद्युत प्राधिकरणले विद्युत दिएन भनेर बाहिर गुनासो सुन्ने गरेको तर आफूहरु विद्युत दिन तयार हुँदा समेत एउटा पनि निवेदन नआएको बताए ।
२ वर्ष पछि १ सय ३५ केबिए मैनहिया सबस्टेशन सुरु भएपछि रुपन्देहीको दीर्घकालीन विद्युत समस्या हट्ने र रुपन्देहीमा आवश्यक विद्युत माग पुरा हुने प्रमुख झाले बताए ।
विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्र अन्तर्गत हाल ७७ हजार ग्राहक रहेका छन् । हाल १ हजार ५ सय ग्राहक मिटरको पर्खाइमा छन् । प्रमुख झाले ग्राहकलाई समयमै मिटर दिन नसकिएको स्विकार गर्छन् । उनले प्रत्येक महिना १ हजार ग्राहक बढिरहेको जानकारी दिए ।
चुहावटको समस्या
रुपन्देहीको ग्रामीण क्षेत्रमा विद्युत चोरीका घटना अत्यधिक बढेपछि नेपाल विद्युत् प्राधिकरणले कारबाही अगाडि बढाउन सुरु गरेको छ । अनाधिकृत रुपमा हुकिङ गर्ने, चोरी गर्ने र विद्युत्को दुरुपयोग गर्ने घटना बढ्दै गएकाले कारबाही गर्न सुरु गरेको प्रमुख उमेश कुमार झाले बताए । जिल्लामा अत्यधिक विद्युत् चुहावट हुने गरेको तथ्याङ्क सार्वजनिक भएको थियो । त्यसलाई नियन्त्रण गर्न चासो राख्दै प्राधिकरणले गाउँगाउँमा अनुगमनसहित विद्युत् चोरी नियन्त्रण ऐनअनुसार कारबाही गर्न अभियान थालेको झाले बताए ।
दुई महिनाभन्दा बढीको महसुल तिर्न बाँकी रहेका ग्राहकको लाइन धमाधम काट्न सुरु गरिएको छ । फागुन देखिभदौ मसान्तसम्म विद्युत चोरी गर्ने एक सय ४७ जनालाई कारबाही गरी ३२ लाख ३२ हजार आठ सय ७९ रुपैया राजश्व संकलन गरिएको प्राधिकरणले जनाएको छ ।
त्यस्तै लामो समय देखि महशुल नबुझाई कालो सूचीमा रहेका १९ जना ग्राहकबाट ५ लाख ८ हजार ६ सय ११ रुपैयाँ, समयमै महशुल नबुझाएका तिन सय ७० जनाको लाईन कटिएको र त्यस्ता ग्राहकबाट एक करोड १० लाख ४५ हजार चार सय ४३ रुपैयाँ राजस्व संकलन गरिएको छ ।
विद्युत चोरी गर्नेलाई क्षतिपूर्ति र हर्जना असुली गरिए पनि अन्य कारबाही हुन सकेको छैन । प्राधिकरणले क्षतिपूर्ती र हर्जना असुली मात्र गर्न सक्ने उनीहरुलाई प्रहरीले सार्र्वजनिक अपराध अन्तर्गत कारबाही गर्न सक्ने ऐनमा व्यवस्था गरिएको छ ।
सरकारी कार्यालय समयमै बुझाउँदैनन् महशुल
सदरमुकाम भैरहवामा रहेका विभिन्न जिम्मेवार सरकारी कार्यालयहरुले नै आफूले प्रयोग गरेको विद्युतको महशुल समयमै बुझाउँदैनन् । रुपन्देहीमा रहेका धेरै जसो सरकारी कार्यालयले समयमा विद्युत्को महशुल नबुझाउने गरेका हुन् । ती कार्यालयहरुलाई पटक पटक आग्रह गर्दा पनि विद्युत् महशुल बुझाउनतर्फ खासै चासो नदिने गरेका प्राधिकरणले जनाएको छ । सिद्धार्थनगर नगरपालिकाले सडक बत्तीको मात्र ७ करोड ७६ लाख ५९ हजार ८ सय ४५ रुपैयाँ प्राधिकरणलाई बुझाउन बाँकी देखिएको छ ।
भैरहवामा रहेको दर्जनौँ सरकारी कार्यालयले विद्युत उपयोग गरे बापतको लाखौँ रुपैयाँ नेपाल विद्युत प्राधिकरणलाई समयमै बुझाएका छैनन् । विद्युत प्राधिकरणले पटक पटक विद्युुत महशुल बुझाउनका लागि ताकेता गरे पनि ती कार्यालयले नटेरेको पाइएको छ । नेपाल विद्युत प्राधिकरण भैरहवा शाखाको पछिल्लो तथ्याङ्क अनुसार लाखौँ रुपैयाँ सरकारी कार्यालयबाट बिद्युत महशुस बापतको रकम उठाउनुपर्ने देखिएको छ ।
आम नागरिकले तीन महिना सम्म विद्युतको महसुल नतिरेको खण्डमा विद्युत प्राधिकरणले सर्वसाधारणलाई जरिवाना तिराउनुका साथै विद्युत लाइन काटिदिने समेत गर्दै आएको छ । तर सरकारी निकायबाटै प्राधिकरणलाई लाखौँ रुपैयाँ विद्युत बक्यौता तिर्न बाँकी हुँदा समेत महशुल उठाउन नसक्नु प्राधिकरणको लज्जाको विषय बनेको छ । विद्युत महशुल तिर्नु प्रत्येक उपभोक्ताको दायित्व हो भने सरकारको कर्तव्य हो ।
नेपाल विद्युत् प्राधिकरण भैरहवा शाखाका प्रमुख उमेश कुमार झाले सरकारी निकायलाई पनि विद्युत् महशुल तिर्नका लागि पटक पटक आग्रह गरिएको बताए । उनले लामो समय देखि विद्युत् महशुल नतिरेका सरकारी कार्यालयलाई ्िद्युत महशुल बुझाउनका लागि आग्रह गर्दै आधिकारिक रुपमा चिठ्ठी समेत काटिएको बताए । चिठ्ठि काटेपछि केही कार्यालयले बिल भुक्तान गरेको भएपनि केही कार्यालयले भने अटेरी गरिरहेको बताए । अटेरी गर्ने कार्यालयको लाइन काट्ने अवस्थामा पुगेको बताए ।