नरेश के.सी.
भैरहवा, असोज १२ । शसस्त्र प्रहरी बल नेपाल पजरकट्टिले अबैध रुपमा लुकाई छिपाई राखिएको १ सय ८ क्यू फिट सालको काठ बरामद गरेको छ ।

पजरकट्टि विओपीका इन्चार्ज शसस्त्र प्रहरी निरीक्षक ताम्रजंग बस्नेतको नेतृत्वमा खटिएको शसस्त्र प्रहरीको टोलीले देवदह नगरपालिका वडा नम्बर ११ रेहरा स्थित त्रिमुर्ति इट्टा उद्योगको कम्पाउन्डबाट सो काठ बरामद गरेको हो ।
बरामदित काठको बजार मूल्य ४ लाख ३२ हजार रहेको र थप अनुसन्धान तथा कारबाहिकोलागी सब डिभिजन बन कार्यलय देवदहलाई बुझाइएको प्रहरी निरीक्षक बस्नेतले जनाए ।
पानीभित्र चोरी तस्करी गरेर नवलपरासी र रुपन्देही क्षेत्रबाट ल्याई इट्टा उद्योगको कम्पाउन्ड भित्र नाली रहेको र सोही नालीको पानीमा लुकाई छिपाई राखेको अवस्थामा शसस्त्र प्रहरीले खोजतलास गर्दा बरामद गरेको हो ।

बरामदित काठ एक डेढ महिना पहिलेदेखी पानीमा लुकाई छिपाई राखेको हुन सक्ने र सो काठ पुरानो भएपछि विक्री गर्ने मनसाय भएको हुन सक्ने स्रोतको दाबी छ । उक्त काठ रुपन्देही र नवलपरासीको जंगलबाट अबैध रुपमा कटानी गरि ल्याइएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।
सालको काठ एक किलोमिटर दूरीमा रहेको नवलपरासीको दशकठ्ठा भन्ने जंगलबाट चोरी गरी ल्याएको हुन सक्ने सब डिभिजन बन कार्यलय देवदहका इन्चार्ज कृष्ण ज्ञवालीले जनाए । उनले भने , ‘यहिबाट आएको होला भन्ने एकिन त छैन तर दशकठ्ठा बाट होकी भन्ने छ । अब अनुसन्धान भएपछि खुल्छ ।’