लुम्बिनीखबर
भैरहवा, मंसिर । रुपन्देहीको भैरहवामा जारी सातांै लुम्बिनी राष्ट्रिय महोत्सव–२०७५ (पर्यटन, कृषि तथा राष्ट्रिय औद्योगिक व्यापार मेला) मा दर्शकको चहलपहल बढ्दै गएको छ ।
‘पर्यटन कृषि र उद्योगको विकास, राष्ट्रिय समृद्धिको आधार’ मूल नारा सहित सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा भैरहवा स्थित अञ्चलपुरमा मंसिर २० गते देखि सुरु भएको महोत्सवमा दर्शकको चहलपहल बढ्दै गएको हो ।
महोत्सवको दिन आठौं दिन बिहीबार सम्म आइपुग्दा ५० हजार भन्दा दर्शकले मेला अवलोकन गरेको र करिब ८ करोडको कारोबार भएको सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिव एवं महोत्सवका सचिवालय, सूचना तथा सञ्चार व्यवस्थापन समिति संयोजक नेत्र प्रसाद आचार्यले बताए ।
बिहीबार खास गरी सांस्कृतिक कार्यक्रममा स्कुले विद्यार्थी रमाइरहेका देखिन्थे ।
अघिल्लो शनिबार दर्शकहरुको घुँइचो भए पछि कारोबारमा पनि वृद्धि भएको मेला सचिवालले जानकारी दिएको छ । विषेशतः अटोमोबाइल्स, कपडा, होटल तथा रेष्टुरेण्ट र बाल उद्यान क्षेत्रमा भएका कारोबारका कारण मेलामा कारोबार बढेको हो ।
मेलामा मायादेवी पेभिलियन समेत २ सय ७५ स्टलहरु रहेका छन् । कृषि पेभिलियन तर्फ २० हस्तकला तर्फ २५, औद्योगिक तर्फ ५५, होजेरी तथा गार्मेन्ट ६५ अटोमोबाईल तर्प १३, बैक तथा वित्तीय संस्था ५, होटल तथा रेष्टुरेण्टतर्फ १६, इलेक्ट्रोनिक्स ८, खाद्यान्न तर्फ १९, कस्मेटीक ४, शैक्षिक परामर्श, २, फुटवयर ९, स्वास्थ्य तर्फ २, पर्यटन तर्फ ७ वटा रहेका छन् ।
पौष १ गते सम्म चल्ने महोत्सवमा मुख्य आकर्षणको रुपमा प्रदेश नम्बर ५ का प्रमुखमध्ये दुइ गन्तव्य लुम्बिनीको मायादेवी मन्दिर र नेपालको ताजमहलको रुपमा परिचित पाल्पाको रानीमहलको आकृतिको निर्माण गरिएको छ ।
मेलामा पहिलो दिनबाटै चल्दै आएको भ्वाइस अफ भैरहवा टप ५ र नृत्य प्रतियोगिता फाइनल चरणमा पुगेको छ । बिहीबार मेलामा नेपाल आइडलका फाइनलिस्ट प्रताप दास सहित लोक दोहरी गायिका शान्ता परियार, विष्णु ठडराइ, लोक दोहरी गायक राम प्रसाद पौडेल र हास्य कलाकार अजय भुषाल (हजुर बा) को प्रस्तुती रहेको महोत्सवका सांस्कृतिक कार्यक्रम व्यवस्थापन समिति संयोजक तथा संघका कार्यसमिति सदस्य दिपेन्द्र प्रधानले जानकारी दिए ।