नरेश के.सी.
लुम्बिनी, मंसिर । बुद्धजन्म स्थल लुम्बिनीदेखी २ किलोमिटर दक्षिण खुनगाइ बगैचांमा पांचतारे होटल बन्ने भएको छ । स्थानिय युवा व्यवसायी अम्रिक चौधरीको अगुवाईमा होटल भिलाजियो प्रा.लि नामक पांचतारे होटलको एक कार्यक्रमका बीच प्रदेश नं ५ का उद्योग, बाणिज्य, बन तथा पर्यटन मन्त्री लिला गिरीले शिलन्यास गरेका छन् ।

सन् २०१९ मा भैरहवाको गौतमबुद्ध विमानस्थल सन्चालन भएसंगै यस क्षेत्रमा पर्यटकको ओईरो लाग्ने हुदा होटल व्यवसायी मार्फत विदेशी मुद्रा सहजै आर्जन गर्न सकिने उक्त होटलको शिलन्यास गर्दै पर्यटनमन्त्री गिरीले जनाए । उनले भने , ‘विदेशमा गएर पसिना बगाउने नभइ अब स्वदेशमै विदेशीलाई बोलाएर विदेशी मुद्रा आर्जन गर्ने बेला आएको छ । यो कामको शुरुवात स्थानिय युवा अम्रिक चौधरीले गर्नुभएको छ । ’
मन्त्री गिरीले लुम्बिनी क्षेत्रमा सन्चालित होटलले पर्यटक ल्याउन ठूलो भूमिका खेल्ने पनि बताए । सोही अवसरमा लुम्बिनी सास्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले स्थानियको लगानीमा सन्चालित होटल लुम्बिनीको गौरब भएको बताए । उनले भने, ‘यसले स्थानिय रुपमा रोजगारी सृजन ागर्नमा ठूलो सहयोग गर्ने मैले विश्वास लिएको छु । ’
हरियाली आपको ७ विगाह क्षेत्रफलमा फैलिएको बगैंचामा बन्ने होटलको व्यवस्थापन अस्ट्रेलियाको सबैभन्दा ठूलो होटल म्यानेजमेन्ट कम्पनि अर्गाइली होटल ग्रुपले गर्नेगरी काम अगाडी बढाईएको अध्यक्ष चौधरीले जनाए । उक्त होटलमा जम्मा १ सय ३० वटा रुम हुने उक्त होटलमा २ सय ५० वटा बेडसंख्या रहनेछन् । होटलमा प्रेसीडेन्टियल सूईट २, एक्सुक्युटिभ १० वटा, डिलक्स रुम ९० वटा, साधरण सुईट २३ वटा र ३ वटा रेष्टुरेन्ट रहनेछन् । सो होटलमा १ वटा ठूलो र ३ वटा सानो स्वीमिंग पुल, ४ सय वर्ग मिटरको ध्यान केन्द्र र पर्यटकीय वातवरण भएको बगैचा समेत रहनेछ । लुम्बिनी भ्रमणमा आउने विदेशी तथा स्वदेशी पयर्टकलाई सेवा दिनेगरी निर्माण हुन गईरहेको होटलको कुल लागत जमिन बाहेक १ अर्ब ५९ करोड १० लाख ८७ हजार ४ सय ७५ रुपैयां रहेको चौधरीले जनाए ।
अर्गाइली गु्रपका नेपाल प्रमुख राजेन्द्र श्रेष्ठले विश्वभरी १ सय ५० वटा भन्दा बढी अर्गाली ग्रुपले नेपालमा पहिलो पटक लुम्बिनीमा होटल व्यवस्थापन गर्न लागेको बताए । उनले भने, ‘ अर्गाइली ग्रुपले फिलीपिन्स, फीजि, चाईनामा डेढ सयको हाराहारीमा होटल व्यवस्थापन हेरिरहेको छ । ’
३ वर्ष भित्र सम्पन्न हुने उक्त होटलले बुद्धधर्मी देशका नागरिक जो लुम्बिनी आउन चाहन्छन् तीनलाई प्राथमिकतामा राखेर सेवा दिने होटलका फाईनान्स कन्ट्रोलर मकबुल शाहले बताए । उनले भने ‘हामीले स्थानियलाइ रोजगारीको प्राथमिकतामा राखेका छौं । स्थानिय उत्पादन नै यहांको होटलमा प्रयोग गर्नेछौं । ’