नरेश के .सी
भैरहवा, माघ ।
निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको स्वामित्वमा ०६१ साल अघिसम्म ८४ बिगाहा ३ कठ्ठा जग्गा रहेको थियो । उक्त जग्गामा ०६३ सालमा २ सय १३ बिगाहा ४ कठ्ठा १५ दशमलव ७५ धुर थप भएको थियो । ०२३ सालदेखि नियमित उडान भर्दै आएको भैरहवा स्थित गौतमबुद्ध विमानस्थलको स्वामित्वमा सम्पूर्ण जग्गा अधिग्रहण पश्चात ७ सय ८७ बिगाहा ७ कठ्ठा १५ दशमलव ७५ धुर हुनेछ । जग्गा अधिग्रहणको सन्दर्भमा सरकारले चलनचल्तीको मूल्य भन्दा राम्रो मूल्य दिएर अधिग्रहण गरिरहेको छ ।

पछिल्लो जग्गा अधिग्रहण गर्दा कूल २३ अर्ब खर्च लाग्ने अनुमान गरिएकोमा अहिले सम्म १० अर्ब जति वितरण गरिसकिएको छ । बाँकी रहेको १३ अर्ब रकम मध्ये ४ अर्ब रकम यसै हप्ता आइपुग्ने आयोजनाले जनाएको छ । आयोजनाका प्रमुख प्रवेश अधिकारीका अनुसार उक्त रकम अर्थबाट निकासा भएर राष्ट्रिय गौरवको आयोजनामा गइसकेको छ । केही दिनमै उक्त रकम आउने छ ।
‘चालु वर्षको पहिलो किस्ता ५ अर्ब २० करोड रकम आएर वितरण समेत भइसकेको छ । यो आउन थालेको दोस्रो किस्ता बापतको रकम हो ।’ आयोजना प्रमुख अधिकारीले भने ।
विमानस्थल सञ्चालनमा आइपुग्दा मुआब्जा बापतको सबै रकम चुक्ता गरिसक्ने आयोजनाले तयारी गरेको छ । अधिकारीले भने, ‘विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हँुदा सबैले महोत्सव मनाइरहँदा मुआब्जा नपाएको भनेर कसैको आवाज आयो भने त्यो धेरै तीतो क्षण हुन्छ । त्यस्तो अवस्था नआओस् भनेर हामी विभाग, मन्त्रालयमा बारम्बार भनिरहेका छौँ ।’
सबै जग्गा अधिग्रहण भएर सञ्चालनमा आउँदा यो क्षेत्रफलको दृष्टिले सबैभन्दा ठूलो विमानस्थल हुने छ । अहिलेसम्म पोखरामा ३ हजार ७ सय रोपनी, काठमाडौंमा ७ हजार रोपनीमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र सञ्चालन भइरहँदा भैरहवामा बन्ने विमानस्थल १० हजार रोपनीमा बन्ने भएको हो ।
गौतमबुद्ध विमानस्थलमा अहिले सम्म ६५ प्रतिशत भौतिक कार्य र ४० प्रतिशत आर्थिक कार्य सम्पन्न भएको छ ।
विमानस्थलको महत्वपूर्ण भागमध्येको एक कार्गो (गोदाम) भवन निर्माणको काम पनि केही हप्ता पहिले सुरु भएको छ । नेपाल सरकारको ९० करोड ३६ लाख ३४ हजार ६८३ रुपैयाँ लगानीमा भवन बनाउन लागिएको होे । विमानस्थल एडीबीको लगानीमा बनिरहे पनि भवन भने पूर्ण सरकारी लगानीमा बन्ने छ । भवन एसएस शर्मा–लुम्बिनी गजुरमुखी जेभीले निर्माणको जिम्मा पाएको छ ।
दुई वर्षभित्र निर्माण सक्ने गरी सम्झौता गरिएको भवन ठेकेदारले डेढ वर्षभित्रै सम्पन्न गर्ने प्रतिबद्धता जनाएको विमानस्थल निर्माण आयोजनाले बताएको छ । गौतमबुद्ध विमानस्थललाई केन्द्र बनाएर जापान, चीन, श्रीलंका, भियतनाम, म्यानमार र कम्बोडिया लगायतका देशले अन्तर्राष्ट्रिय उडानका लागि इच्छा जाहेर गरेका छन् । सन् २०१७ को डिसेम्बरमा सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिए पनि दुई पटक म्याद थप भइसकेको छ । अब सन् २०१९ को जुन २८ सम्म सम्पन्न गर्ने गरी तीव्र रुपमा काम भइरहेको छ । अहिलेसम्म निर्माणमा अप्ठ्यारा मानिएका टर्मिनल भवन, रनवे, पार्किङ्ग क्षेत्र लगायतको काम अन्तिम चरणमा पुगेको छ । एडीबीको ६ अर्ब २२ करोड ५१ लाख ऋण तथा अनुदान सहयोगमा निर्माण भइरहेको विमानस्थल बीचबीचमा आएका समस्याका कारण लागत बढेर ६ अर्ब ८२ करोड ४० लाख पुगेको छ ।
गौतमबुद्ध विमानस्थलसँग सिधा रुट दिनेगरी भारतीय सरकारले समेत सकारात्मक संकेत देखाइसकेको छ । क्यानका अनुसार भारतीय पक्षले भैरहवा रुट दिने सन्दर्भमा सकारात्मक भएको छ । त्यसको लागि कानूनी प्रक्रिया दुई देशीय मन्त्रालय तहमा कागजी प्रक्रिया अगाडि बढ्ने तयारी भइरहेको छ ।