logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    सन्दर्भ ः भैरहवा बहुमुखी क्याम्पसको स्वर्णजयन्ती


    २६ फाल्गुन २०७५ , आइतबार

    सन्दर्भ ः भैरहवा बहुमुखी क्याम्पसको स्वर्णजयन्ती

                                            डा. घनश्याम न्यौपाने परिश्रमी

    सिद्धार्थ क्याम्पसको नाममा आजभन्दा झन्डै एकाउन्न वर्षपहिले स्थापना भएको भैरहवा बहुमुखी क्याम्पस नेपालको सीमा क्षेत्रीय मध्य तराईमा अवस्थित पुरानो र प्रसिद्ध उच्च शिक्षाको प्रतिष्ठान हो । यस क्याम्पसमा शिक्षण सेवा गर्ने अवसर पाएका भाग्यशाली व्यक्तिहरुको पङ्क्तिमा मेरो नाम पनि रहेको छ । मैले अहिलेसम्म त्रिविअन्तर्गतका सम्बन्धन प्राप्त क्याम्पसहरूमा झन्डै आठ वर्ष र आङ्गिक क्याम्पसहरूमा पच्चीस वर्ष आठ महिना जति पढाएँ । यो अवधिमा सबैभन्दा बढी भैरहवा बहुमुखी क्याम्पसमा नै सेवा गरेको अनुभव सञ्चित छ मसँग । २०५९ सालको कार्तिक महिनाको अन्ततिरदेखि २०७३ सालको पौष महिनासम्मका हरेक दिन, हप्ता, पक्ष, महिना, ऋतु र वर्षहरू मैले भैरहवा बहुमुखी क्याम्पसको एउटा शिक्षकका रूपमा बिताएँ । हिसाब जोडजाड गर्दा चौध वर्ष दुई महिना र झन्डै दुई दिनको आयु व्यय गरेको रहेछु मैले यहाँ । यसबिचमा मैले प्रशासनिक पदमा रहेर पनि लामो अवधिसम्म सेवा गर्ने अवसर पाएँ । २०६० सालको भाद्र १ गतेदेखि २०६८ सालको चैत्र २५ गतेसम्म झन्डै आठ वर्ष सात महिना पच्चीस दिन मैले यस क्याम्पसमा मानविकी सङ्कायतर्फको सहायक क्याम्पस प्रमुख पदमा रहेर सेवा गरेको अनुभव मसँग सुरक्षित छ । यस क्रममा शिक्षाशास्त्र सङ्कायतर्फ केही वर्ष संयोजकको बेभत्ते थप जिम्मेवारी पनि वहन गर्नुपरेको थियो मैले । यत्ति मात्रै होइन, सुरुमा स्नातकोत्तर तह नेपालीको र पछि समाजशास्त्र मानवशास्त्रसमेतको कार्यक्रम संयोजकको जिम्मेवारीमा रहेर पनि सेवा गरेँ मैले । यस बिचमा सहायक क्याम्पस प्रमुखको हैसियतले क्याम्पस व्यवस्थापन समितिको सदस्य तथा कार्य समितिको सदस्य सचिव पदको दायित्वमा रहेर काम गर्ने अवसरसहित भैरहवा क्याम्पस जर्नलका चार अङ्क म नै प्रधान सम्पादक भई प्रकाशित गर्ने जिम्मेवारी पनि प्राप्त गरेँ । यी जिम्मेवारी मैले तत्कालीन क्याम्पस प्रमुख प्रसादमणि आचार्य दीक्षित र उहाँपछि दोस्रोपटक क्याम्पस प्रमुख पदमा नियुक्त हुनुभएका मेरा मित्र कपिलदेव लामिछानेको कार्यकालमा संवहन गर्ने मौका पाएको थिएँ । दीक्षित सरको कार्यकाल समाप्त भएको समयमा त्रिवि केन्द्रीय पदाधिकारीविहीन अवस्थामा थियो । झन्डै डेढ वर्षको यस अवधिमा निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी सहायक क्याम्पस प्रमुखको हैसियतले सुदर्शनप्रसाद नेपाल सरले पाउनुभएको थियो । यसरी दीक्षित सर, नेपाल सर र लामिछाने सर तीनैजनाको सहगोगीका रूपमा काम गर्दा मेरो प्रशासनिक अनुभव निकै खारिएको थियो । यस अन्तरालमा पनि मैले स्नातक र स्नातकोत्तर तहमा पढाउने कामलाई जारी नै राखेको थिएँ । किनभने म खासमा प्रशासक होइनँ, शिक्षक हुँ भन्ने कुरा मैले राम्रोसँग बुझेको थिएँ ।
    कपिल सरको क्याम्पस प्रमुखको पदावधि समाप्त भएपछि २०६८ साल चैत्र २६ गतेदेखि लागु हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि सम्पूर्ण अधिकारसहित मलाई त्रिविका तत्कालीन उपकुलपति प्रा.डा. हीराबहादुर महर्जनज्यूद्वारा नि. क्याम्पस प्रमुखमा नियुक्त गरिएको थियो । त्यसको ठिक एक महिनापछि अर्थात् २०६९ साल वैशाख २७ गते मैले विधिवत् रूपमा पूर्ण कार्यकालका लागि क्याम्पस प्रमुख पदमा नियुक्ति पाएँ । यसपछि क्याम्पसको शैक्षिक स्तरोन्नति, कार्यक्रम विस्तार तथा भौतिक विकास र विस्तारका केही कार्यहरू गर्ने योजना बनाएँ । क्याम्पस कपिल सरको प्रथम कार्यकालमा नै विकेन्द्रीकरणमा गइसकेको थियो भने उहाँकै पछिल्लो कार्यकालमा स्वायत्तताका लागि पहल समेत भइरहेको थियो । यद्यपि म पनि स्वायत्तताको पक्षमा थिएँ, तर अधिकांश शिक्षक र कर्मचारी यसको विपक्षमा रहेका कारण क्याम्पस स्वायत्ततामा जान सक्ने सम्भावना थिएन । त्यसकारण यस अवधारणालाई मैले मेरो कार्यकालमा निरन्तरता दिन सकिनँ । आठ वर्षभन्दा बढी सहायक क्याम्पस प्रमुख पदमा सेवा गरेको मैले क्याम्पस प्रमुख पदमा नियुक्त भएपछि प्रथमतः सहायक क्याम्पस प्रमुखको लागि कार्यालयको व्यवस्था गरेँ । यसभन्दा अगाडि क्याम्पसमा सहायक क्याम्पस प्रमुखको छुट्टै कार्यालय थिएन । यसपछि दोस्रो उच्च शिक्षा परियोजनाको अनुदान र क्याम्पसको समान आर्थिक व्ययभारमा एक करोडको लगानीमा क्याम्पसको मुख्यद्वारदेखि पश्चिमतर्फ सटरसहितको प्रशासनिक भवन निर्माण भयो भने एक वर्षपछि विश्वविद्यालय अनुदान आयोगबाट विनियोजित २५ लाखको लगानीमा सोही भवनको माथि दुईवटा हल निर्माण भए । सिद्धार्थनगर नगर पालिकासँग अनुरोध गरी विज्ञान भवनको माथि तीनवटा कोठाको क्षेत्रमा पिलर उठाउने र छत ढलान गर्ने काम पनि सम्पन्न भयो । क्याम्पसभित्रको रिङरोडमा विद्युतीकरण, थ्रीफेजको विद्युत् प्रवाह जडान, पुराना दुईवटा जेनेरेटरबाट काम लिन नसकेपछि बढी शक्तिशाली जेनेरेटर खरिद, मानविकी भवनको कोठामा र स्नातकोत्तर भवनको भ¥याङमुनि राखिएका जेनेरेटरबाट हुने ध्वनि र धूम प्रदूषण मुक्तिका लागि तिनलाई बाहिर टहरो बनाएर व्यवस्थापन, शिक्षककर्मचारी आवासमा पानीको व्यवस्थापन, लेखा र परीक्षा शाखा तथा व्यवस्थापन भवनका शौचालयहरुमा पानी सप्लाई, भैरहवा भुमही हुलाकी सडक निर्माण र विस्तार गर्दा क्याम्पस अगाडि नाला नबनाइएका कारण वर्षायाममा क्याम्पस परिसरमा डुवानको अवस्था सिर्जना भएकाले सम्बन्धित निकायसँग पत्राचार र संवार्ता गरी नाली निर्माण, सडक विभागकै सहयोगमा क्याम्पसको मूलद्वारदेखि प्रशासनिक भवनको अगाडिसम्म कालोपत्रेजस्ता भौतिक संरचना र निर्माणका कामहरू मेरो कार्यकालमा सम्पन्न भएका हुन् ।
    मैले क्याम्पस प्रमुखको जिम्मेवारी पाएपछि क्याम्पसको शैक्षिक स्तर विकास र विस्तारमा पनि केही थप कार्यहरू भए । त्रिवि व्यवस्थापन सङ्कायबाट बिबिएको विकल्पमा सर्वप्रथम लागु गरेको बिबिएम कार्यक्रम स्वीकृति लिई सञ्चालन, यसका लागि समृद्ध कम्प्युटर ल्याबको व्यवस्थापन, पावर पोइन्ट( विद्युतीय साधन)को माध्यमबाट शिक्षण, पुस्तकालयमा मात्र सीमित रहेको इन्टरनेटलाई विभिन्न शाखा तथा बिबिएम र बि.एस्सी.का कक्षाहरूमा विस्तार, आन्तरिक स्रोतबाट सञ्चालित विज्ञानतर्फ छवटा दरबन्दीसहित स्थायी प्राध्यापकहरूको व्यवस्था, जुलोजी विषय थप, शिक्षाशास्त्र सङ्कायको स्नातकोत्तर तहमा स्वास्थ्य र शारीरिक, तथा पाठ्यक्रम र मूल्याङ्कन विषय मात्र पठनपाठन हुँदै आएकोमा अङ्ग्रेजी शिक्षा र नेपाली शिक्षा विषय थप, शैक्षिक कार्यक्रमहरूलाई व्यवस्थित रूपमा सञ्चालनार्थ विज्ञान र शिक्षाशास्त्र सङ्कायतर्फ सम्बन्धित विषयका विभागको व्यवस्था र विभागीय प्रमुखहरूको नियुक्ति, विज्ञान र शिक्षाशास्त्र सङ्कायमा नै दरबन्दी स्वीकृतिसहित सहायक क्याम्पस प्रमुखहरूको नियुक्ति, क्याम्पसको मुखपत्र क्षितिजको नियमित चारवटा अङ्क प्रकाशन जस्ता कार्य मेरो कार्यकालमा भएका हुन् । यस क्याम्पसमा सेवारत रहेकै अवस्थामा नै मैले त्रिभुवन विश्वविद्यालय उत्कृष्ट सेवा पुरस्कार(२०६९) पाएको थिएँ । म क्याम्पस प्रमुख रहेको कार्यकालमा सहायक क्याम्पस प्रमुखहरू केशवलाल श्रेष्ठ, लक्कीप्रसाद जोशी, डिल्लीराज भट्टराई, नरेन्द्रराज पाण्डेय, चन्द्रप्रसाद रेग्मी, अनिलकुमार झा(वर्तमान क्याम्पस प्रमुख), बाबुराम काफ्ले, रामराज शर्मा, शंकर पन्थी र विद्यार्थी कल्याण प्रमुख केशव बेलबासेबाट जुन सहयोग प्राप्त भएको थियो त्यो सदा स्मरणीय छ । मैले भैरहवामा रहँदा साँच्चिकै अभिभावक मान्ने गरेका श्रद्धेय बालकृष्ण भट्टराई सर, भृगुनाथ सिंह सर, सधैँ मित्रवत् व्यवहारसहित सहयोगी भूमिका निर्वाह गर्ने सुदर्शन नेपाल सरहरूका सल्लाह, सुझाव र सहयोगप्रति म कृतज्ञ छु । तत्कालीन प्राध्यापक सङ्घका सभापतिहरू क्रमशः शम्भुकुमार गुप्ता र कुलप्रसाद खनाल, सुरुमा स्नातक र स्नातकोत्तर तहका आफ्नै मेधावी छात्र र पछि त्रिवि सेवाआयोगबाट स्थायी भई यसै क्याम्पसमा नियुक्त भएका त्रिभुवन बरईलगायतका सरहरू तथा स्ववियुका सभापति मोजिब अली मुसलमान, उपसभापति कमल रायमाझी र सचिव चक्र थापा तथा समाजशास्त्र मानवशास्त्र विद्यार्थी समाज(सास)बाट पाएको सहयोग पनि मैले कहिल्यै बिर्सन सक्दिनँ । मेरो कार्यकालमा मलाई निरन्तर उत्साह र सहयोग प्रदान गर्ने व्यवस्थापन समिति र कार्यसमितिका सदस्य मित्रहरू तथा आआफ्ना शाखाबाट सघाउने बुद्धकुमार श्रेष्ठ, दुर्गाबहादुर बिक, लक्ष्मी शर्मा, होम गुरुङ, सीता श्रेष्ठ, राधा ज्ञवाली, महेन्द्र पाण्डेय, विष्णु गजुरेललगायतका सबै कर्मचारीहरूलाई मैले आफ्नो स्मृतिफलकमा धन्यवादका पात्रका रूपमा राखेको छु । म यस क्याम्पसबाट विश्वभाषा क्याम्पस, काठमाडौँमा सरुवा भएर रमाना लिएपछिका पनि दुई वर्षका हेमन्त व्यतीत भइसकेछन् । तर मलाई लाग्छ, अहिले पनि भैरहवा बहुमुखी क्याम्पसमै सेवारत छु र कुनै काम विशेषले काठमाडौँ आएको हुँ । यहाँसम्म कि, त्यस क्याम्पसकै कक्षाकोठामा निमग्न भएर पढाइरहेको सपना धेरैचोटि देखेको छु ।

    अहिले मैले यसरी सबैभन्दा बढी(चौध वर्ष, दुई महिना र दुई दिन) सेवा गर्ने सुअवसर पाएको भैरहवा बहुमुखी क्याम्पसले स्वर्णजयन्ती समारोह भव्यतापूर्वक सप्ताहव्यापी रूपमा मनाइरहेको छ भन्ने जानकारी पाउँदा मलाई असीमित खुसीको अनुभूति भएको छ । यसै सन्दर्भमा प्रकाशित हुने स्मारिकामा प्रकाशनार्थ मसँग पनि लेख मागिएको थियो । मैले आफ्ना अनुभवका विशृङ्खल तरङ्गहरूलाई शब्दावलीमा समेटेर लिपिबद्ध गरी पठाएको थिएँ, छापिएको होला भन्ने विश्वास छ । ज्येष्ठ नागरिकको प्रमाणपत्र लिइसकेको मैले अब यस संस्थाको शतकोत्सव त के, हीरक महोत्सव पनि देख्न पाउँला, नपाउँला ! तर बुद्ध जन्मभूमिको निकटमा रहेर यस शैक्षणिक संस्थाले पाँच दशकपूर्वदेखि आलोकित गर्दै आएको उच्च शिक्षाको तेजमय दीप भने युगौँयुगसम्म प्रदीप्त भइरहोस् र यसको इतिहाससँग जोडिएका धेरै धेरै व्यक्तिहरू नामले बाँचिरहून् त्यही इतिहासका पृष्ठभूमिमा भन्ने कामना गर्दछु ।
    लेखक भैरहवा बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा विश्वभाषा क्याम्पस, प्रदर्शनीमार्ग काठमाडौँका पूर्वीय भाषा विभागका प्रमुख हुन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.