logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    फस्टाउँदै मत्स्य पर्यटन


    २४ माघ २०७७ , शनिबार

    फस्टाउँदै मत्स्य पर्यटन

    प्रकाश न्यौपाने
    भैरहवा, माघ २४
    रुपन्देहीमा माछापालन फस्टाउँदो छ । माछापालन फस्टाउँदै जाँदा माछासँग रम्ने, परिकार खानेहरु पनि बढ्दै छन् । जिल्लाको सबैजसो क्षेत्रमा माछापालन भए पनि खासगरी छपिया क्षेत्रमा व्यवसायिक माछापालन गर्नेहरु धेरै छन् । माछाका थरिथरिका परिकारको स्वाद लिने बढ्दै जाँदा यस क्षेत्रमा पर्यटक लक्षित गतिविधि बढ्दो छ ।
    माछा पालनमा छपिया देशकै प्रख्यात ठाउँ मात्रै होइन्, यो ठाउँलाई माछैमाछाको क्षेत्र भनेर पनि चिनिन्छ । ४० वर्ष अघिदेखि माछापालन सुरु गरिएको यो ठाउँमा अहिले माछापालनमा रुचि भएकादेखि घुमन्ते र माछाका स्वाद लिने आन्तरिक पर्यटक आकर्षित छन् । माछाको स्वाद चखाउन यस क्षेत्रमा सानादेखि ठूला रेष्टुरेन्ट र रिसोर्टहरु खुलेका छन् भने केही खुल्ने तरखरमा छन् ।

    कृषकले पर्यटक लक्षित गरेर पोखरीमा बोटिङ संचालन गरेका छन् । शान्त वातावरण, माछा पोखरीमा बोटिङ, खानाबस्नको राम्रो प्रबन्ध, थरीथरीका माछाका परिकार, सहज सडकमार्गले पनि यस क्षेत्रमा आन्तरिक पर्यटक लोभिने गर्छन् । ‘यहाँ घुम्न आउनेलाई हामीले आफ्नै पोखरीबाट झिकेको ताजा माछाको विभिन्न परिकार पस्कन्छौं, कतिपयले आफै फिसिङसमेत गर्ने गर्छन्’, छपियामा रहेको लुम्बिनी प्यालेस रिसोर्ट प्रालिका संचालक अर्जुन भुसालले भने ।

    माछा पालनमा देशमै प्रख्यात छपिया क्षेत्रमा आन्तरिक पर्यटकको भीड लाग्न थालेपछि कृषकले माछापालनसँगै धमाधम रिसोर्टहरु संचालनमा ल्याइरहेका छन् । पछिल्लो समय यस क्षेत्रमा स्टार होटलसमेत खुलिसकेका छन् । छपिया क्षेत्रमा एकपटक पुगेर माछाको स्वाद लिएका पाहुना पटक–पटक पुग्ने गर्छन्, विदाको दिन त थेग्नै नसक्ने गरी आन्तरिक पर्यटकको भीड हुने गर्छ । ‘सबै किसिमले सुविधा भएपछि पर्यटकको रोजाई यहाँ भएको हो जस्तो लाग्छ’, भुसाल भन्छन्, ‘हरेक वस्तु ताजा, स्वस्थ, पारिवारिक वातावरण र मनोरंजन छपिया क्षेत्रमा छ’, उनले भने ।

    अहिले माछापालक कृषकले होटल व्यवसायमा पनि करोडौं लगानी गरिरहेका छन् । ठूलाठूला माछा पोखरीको बीच भागमा खानाबस्नको व्यवस्था गरिएको छ । पोखरीको बीचमा बनाइएका कटेजहरुमा बसेर माछाको परिकार खाना पाउँदा पर्यटक निकै खुशी हुने गरेका छन् । लुम्बिनी प्यालेसले त पोखरीको बीचमा सुत्ने कोठाहरु बनाएको छ । ‘ती कोठाहरुमा डुंगा सयर गरेर जानेआउने गर्नुपर्छ’, भुसालले भने, ‘हामीले सुत्ने कोठाबाटै फिसिङ गर्न पाउने व्यवस्था समेत गरेका छौं ।’


    शान्त वातावरणमा ताजा माछाका फरक फरक स्वाद लिन पाउँदा आन्तरिक पर्यटक खुशी छन् । ‘छपिया क्षेत्रमा अन्यत्र भन्दा निकै स्वादिष्ट माछा पाइन्छ, स्वादसँगै घुम्न र खानाबस्न पनि राम्रो प्रबन्ध छ’, शनिबार छपियामा भेटिएका बुटवलका जीवन पौडेलले भने, ‘पहिले भन्दा धेरै राम्रो भइरहेको छ । पर्यटक लोभ्याउने गरी यहाँ संरचना बनिरहेका छन् ।’ छपिया क्षेत्रमा माछाको परिकार खाना र माछासँग रम्न रुपन्देहीसँगै, कपिलवस्तु, नवलपरासी, पाल्पा, चितवनबाट समेत आन्तरिक पर्यटक आउने गरेका छन् । छपियामा दैनिक ५ सयको हाराहारीमा आन्तरिक पर्यटक पुग्छन् ।
    ‘मान्छे कोलाजबाट केही पर जान चाहन्छ, जहाँ पारिवारिक वातावरण होस्, सुन्दर, शान्त र स्वादिष्ट परिकार पाइयोस्’, आरसीएस फिस रिसोर्टका संचालक रमेशचन्द्र मुराउ भन्छन्, ‘छपिया क्षेत्रमा यो व्यवस्था छ । त्यसैले धेरैको रोजाई परिरहेको छ ।’ यहाँ पुग्ने पर्यटकलाईले फ्राई, तन्दुरी, स्टीम, सुप, ताबा, करी, अचार, सुकुटी लगायत माछाका परिकारको स्वाद लिन पाउँछन् । यहाँ सानाठूला गरी दुई दर्जन बढी होटल तथा रेष्टुराँ खुलीसकेका छन् । प्रायः ती सधै पर्यटकले भरिभराउ हुन्छन् ।
    सुरुमा माछापालन मात्रै गर्दै आएका यहाँका किसानले ४/५ वर्ष अघि देखिबाट मत्स्य पर्यटनको योजना अघि सारेका थिए । त्यसयता माछापालनसँगै होटल तथा रेष्टुराँ खुल्न थालेका हुन् । अभियानमुखी माछापालनबाट राम्रो आम्दानी गरिरहेका किसानले माछासँग रम्ने र परिकार खाने पर्यटकलाई तान्ने उद्देश्यले मत्स्य पर्यटनको योजना अघि सारेका थिए । मुराउ भन्छन्, ‘हामीले जुन उद्देश्यले अभियान सुरु गरेका थियौं, त्यो सार्थक बन्दै गएको छ, पर्यटकहरुले एकपल्ट छपिया क्षेत्रमा पुग्नुपर्छ है भन्न थालेका छन् । यो हामी सबै किसानका लागि खुशीको क्षण हो ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.