कमल रायमाझी
भैरहवा,१४ भदौ। महामानव गौतमबुद्धको जन्मस्थाल लुम्बिनीलाई संसार माझ जोड्नका लागि निकै उत्साहका साथ सुरु गरिएको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य अझै सकिएको छैन ।
तत्कालीन प्रधानमन्त्री शुसील कोइरालाले वि.स. २०७१ साल माघ १ गते शिलान्यास गरेको राष्ट्रिय गौरवको यो आयोजना काम शुरु गरेको तीन वर्षमा सक्ने लक्ष्य राखिएको भएपनि अहिले सम्म पुरा हुनसकेको छैन ।
तिन वर्षमा सक्ने लक्ष्यका साथ ३१ डिसेम्बर २०१४ मा लगभग रु. ६ अर्ब ८२ करोड लागतमा विमानस्थल निर्माणको जिम्मा चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएशनले लिएको भएपनि निर्माण शुरुभएको ७ बर्ष सम्म निर्माण कार्य पुरा नभएको हो ।
छैठौ पटक थपिएको म्याद सन २०२१ जुन अन्तिम भित्र निर्माण कार्य नसकिएपछि निर्माण कम्पनीले नागरिक उड्डयन प्राधिकरण मार्फत सरकारलाई सातौ पटक म्याद थप्नका लागि पहल गरेको निर्माणधिन गौतम बुद्ध अन्तरािष्ट्रय विमानस्थलका आयोजना प्रमुख इ. प्रवेश अधिकारीले जानकारी दिए ।
विभिन्न कारणले आयोजना निर्माण कार्य पुरा नभएपछि २०२१ डिसेम्वर सम्मका सक्ने लक्ष्यका साथ सातौ पटक म्याद थपका लागि पत्रचार भएको आयोजना प्रमुख इ. अधिकारीले बताए ।

विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आयोजना प्रमुख इ. अधिकारीले भने, हामी अहिले प्राविधिक रुपमा ९८ प्रतिशत कार्य सकिएको छ । अब क्यालिब्रेसन फ्लाईटको तयारी, फिनिसिङ, फर्निचर, फर्निसिङको काम गरिरहेका छौ ।
विमानस्थलको निर्माण कार्य शुरु भएसंगै भएको मधेस आन्दोलन, भारतिय नाकाबन्दी, भुकम्प र कोभिड जस्ता विभिन्न कारणले तोकिएको समयमा नसकिएको निर्माण कार्य अवका केहि महिना भित्र सकिने गौतम बुद्ध अन्तरािष्ट्रय विमानस्थलका आयोजना कार्यालयले जनाएको छ ।
विदेशी दक्ष जनशक्तिका साथ विमानस्थलमा प्राविधिक उपकरण जडान गरिसको छ । धावन मार्ग, टावर, विमानस्थलमा सुचना तथा विद्युतियकरण, रनवे लाइट, यान्त्रिक अवतरण प्रणाली, सञ्चार–उड्डयन सहायक उपकरणहरु, व्यागेज ह्याण्डलिङ सिस्टम, कन्भेयर बेल्ट, एक्स–रे मेसिन आदिन यन्त्र– उपकरण जडान, सुरक्षा पोस्टहरु सम्पन्न भैसकेको आयोजना कार्यालयले बताएको छ । आयोजना कार्यालयले सेन्ट्रल एसी, उडान जानकारी डिस्प्ले, फर्ड लाइट, मौसम पुर्वानुमान उपकरण, सीसी टिभि लगाएतका सम्पुर्ण प्रविधिहरु जडान गरिएको आयोजना कार्यालयको दावि रहेको छ ।
तीन किलोमिटर लामो धावनमार्ग भएको यो विमानस्थलमा बोइङ ७७७–२००, एयरबस, ३३०–३०० र सोही क्षमताका विमान उडान तथा अवतरण गर्ने सक्नेछन् । यो विमानस्थल सञ्चालन पछि लुम्बिनीमा बार्षिक करिब ३० लाख भन्दा बढी बौद्ध धर्मावलम्बी ल्याउने लक्ष्य राखिएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको विकल्पको रुपमा हेरिएको यो विमानस्थल सञ्चालन पछि विश्वबाट सवै उडानहरु यहाँ बाट हुने छन् ।