
बुटवल । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकार जबरजस्ती सञ्चार विधेयक सम्बन्धी कानुन ल्याउने पक्षमा नरहेको बताएका छन् ।
नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले आईतबार आयोजना गरेको उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार वितरण तथा एक हप्ते आधारभूत पत्रकारिता तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री केसीले पत्रकारहरुका लागि ल्याएको कानुन पत्रकारले नै विरोध गर्ने भएपछि सरकार जबरजस्ती कानुन ल्याउने पक्षमा नभएको बताएका हुन् ।
‘सञ्चार विधेयकलाई सबैको परामर्शबाट उष्कृष्ट बनाउन सकिन्छ, तर फिर्ता गर्दा समय र प्रक्रिया लम्बिन जान्छ । अहिले राजनीतिक अवस्था पनि अनुकुन नभएकोले सञ्चार विधेयकभित्रका संसोधन गर्न लायक विषयहरु संशोधन गरी समयमै जारी गर्न सके सबैलाई हित हुन्छ, उनले भने ।
केसीले सञ्चार विधेयक संसोधन गरेर अगाडि बढ्दा नै उपयुक्त रहेको र लुम्बिनी प्रदेशलाई सञ्चार मैत्री बनाउन सरकार लागिपरेको बताउँदै सरकारको अभियानमा सबैले हातेमालो गर्न आग्रह गरे ।
कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलेले पत्रकारिता क्षेत्रलाई बलियो बनाउन राज्यले नै वातावरण तयार गरिरहेकोले यसलाई अझैं गति प्रदान गर्नुपर्ने बताए । उनले लुम्बिनी सरकारले ल्याएको सञ्चार विधेयकलाई प्रेसमैत्री बनाउने सवालमा महासंघले प्राविधिक रुपमा भरपुर सहयोग गर्न तयार रहेको बताउँदै प्रेस स्वतन्त्रतालाई हनन गर्ने कानुन स्विकार नसक्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष गोविन्द आचार्य, नेपाल पत्रकार महासंघ रुपेन्देहीका संस्थापक अध्यक्ष डा. बालकृष्ण चापागाई, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष विनोद पहाडी, प्रेस युनियन रुपन्देहीका अध्यक्ष रेखा भुषाल, प्रेस चौतारी रुपेन्देहीका अध्यक्ष अमृत गिरी, प्रेस संगठन नेपाल रुपन्देहीका अध्यक्ष कमल रायमाझी, क्रान्तिकारी पत्रकार संघका टेक मास्की लगायतले बोल्दै अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतालाई कायम राख्ने गरि कानुन निर्माणमा जोड दिएका थिए ।
कार्यक्रम नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलको अध्यक्षता एवं सचिव विनोद परियारको सञ्चालनमा सम्पन्न भएको थियो ।
पत्रकार शर्मा र डा. चापागाईं सम्मानित
रुपन्देहीका वरिष्ठ पत्रकार टोपराज शर्मा र नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष डा. बालकृष्ण चापागाईं आइतबार एक कार्यक्रमका बिच सम्मानित भएका छन् ।
नेपाल पत्रकार महासंघ रुपन्देहीले वरिष्ठ पत्रकार नारायण सापकोटाद्वारा स्थापित उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार-२०७७ पत्रकार टोपराज शर्मा सम्मानित भएका हुन् । पुरस्कारको राशी नगद २५ हजार र प्रमाणपत्र रहेको छ ।
प्रत्येक वर्ष जुन ५ तारिखका दिन विश्व वातावरण दिवसका दिन प्रदान गर्ने पुस्कार कोरोनाका कारण प्रदानमा केही ढिलाई भएको पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले बताए । पत्रकार महासंघले पुस्कार पदान गर्नका लागि प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीको संयोजकत्वमा मूल्यांकन समिति गठन गरेको थियो ।
समितीको सदस्यमा लेखक तथा वातावरणका जानकार युवराज कंडेल र डिभिजन वन कार्यालयका प्रतिनिधि राजन खड्का सदस्य रहेका थिए । सो समितीले पुरस्कारका लागि पत्रकार शर्मालाई गरेको सिफारिस गरेको थियो ।
त्यस्तै लुम्बिनी बौद्ध विश्वविद्यालयबाट ‘बौद्ध दर्शन र सञ्चार’ विषयमा विद्यावारिधि (पीएचडी) गरेका वरिष्ठ पत्रकार तथा अधिवक्ता डा. चापागाईंलाई नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले आयोजना गरेको उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार वितरण तथा आधारभूत पत्रकारिता तालिम समापन समारोहका अवसरमा सम्मान गरेको छ ।