
कमल रायमाझी, सम्पादक
नेपाल आफ्नै कानुन र स्वतन्त्रता भएको देश हो । यहाँ आफ्नै किसिमका विशेषताहरु रहेका छन् । सामाजिक, आर्थिक र सांस्कृतिक रुपमा नेपाल विश्वका अन्य देशहरुभन्दा फरक देखिन्छ । संसारमा सुन्दर देशको उपमा पाएको नेपालले पर्यटक र कृषिलाई मात्र प्राथमिकतामा राखेर काम गर्ने हो भने संसारको धनी देशहरुको दर्जामा पुग्न धेरै समय नलाग्ने विशेषज्ञहरु बताउने गर्दछन् । संसारको सबैभन्दा उचाई भएको सगरमाथा, गौतम बुद्धको जन्म स्थान लुम्बिनी र यहाँको पर्यावातावरण पर्यटनका आकर्षण केन्द्र हुन् । नेपालमा रहेको देवी देउताहरुका मन्दिर, वनजंगल, पुराना सम्पदाहरु, सिकार आरक्षहरु, पहाड र हिमालय क्षेत्रहरु समेत पर्यटकले मन पराएका स्थलहरु हुन । नेपालको विकास र समृद्धिका लागि विभिन्न कालखण्डमा राजनीतिक स्थायित्व दिनका लागि नीतिहरु निर्माण भएको देखिन्छ । तर यी सबै फितलो कार्यान्वयका कारण ओझेलमा परेको देखिन्छ । राणा कालमा २००४ सालबाट शुरु भएको कानुनहरुको संगालो संविधानको निर्माण प्रकृया पछिल्लो पटक २०७२ सालमा निर्माण भएको छ । कानुन निर्माण उत्कृष्ट भएपनि कानुनी पाटोलाई कार्यान्वयन गर्ने निकायहरु कमजोर देखिए पछि जति कानुन बनेपनि नेपालले विकास र समृद्धिको यात्रा तय गर्न सकेको देखिँदैन । देशमा अपेक्षा गरेको राजनेता तथा राजनीति दलको निर्माण हुन नसक्दा पनि नेपालमा जनचाहनाको कामहरु र विकासको मार्ग अगाडी नबढेका हुन । देशमा नीतिहरुको निर्माण गर्ने राजनीतिनै चरम गुटबन्दी र स्वार्थ केन्द्रित हँुदा नेपाल संसारका गरिब देशहरुको सुचीमा अहिले सुचिकृत भएको छ । यहाँ प्रत्यक्ष वैदेशिक हस्तक्षेप, तस्कर कालाबजारी र माफियाहरु बोलवाला देखिन्छ । देशमा चल्ने उद्योग तथा कलकारखानाहरु समेत माफियाहरुको हातमा पुगेको छ । राष्ट्रिय पूँजिपतीहरु पलायन हुने, माफिया र विदेशी गिरोहको हातमा देश पुग्ने परिस्थितिमा नेपाल अहिले पुगेको छ । आर्थिक क्षेत्रमा भारतीय मुलका धेरै व्यापारीहरु नेपालको मूल व्यवसायी कब्जा गरिसकेका छन् भने चीन र अन्य देशका व्यापारीहरुले समेत नेपालमा व्यवसायीका नाममा आर्थिक क्षेत्र कव्जा गर्ने रणनीतिमा देखिन्छन् । अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको प्रत्यक्ष हस्तक्षेपका कारण पनि नेपालले चाहे जस्तो अर्थतन्त्रको विकासमा सफलता पाउने कठिन देखिएको छ । नेपालमा कानुन कार्यान्वयन र आर्थिक सबलीकरणमा कामगर्ने कर्मचारी तन्त्र विदेशीहरुको गुलाम हुदा राष्ट्रिय पूँजिपतीहरुले सोचे जस्तो सफलता पाउन सकेन । विदेशी गिरोहको कब्जामा कर्मचारी र राजनीति तन्त्र पुगेको अवस्थामा नेपाल अहिले रहेको छ । त्यस कारण देशमा सबल राज्य प्रणालीको विकासमा जोड दिन राजनीतिलाई इमान्दारिताका साथ प्रयोग गर्नु आजको आवश्यकता हो । राजनीतिलाई कमाइ हुने मार्गमा हिडाउने र विदेशीको इशारामा चल्ने बनाउने हो भने भविष्यमा नेपालको आफ्नो अस्तित्वबाट हराउने देखिन्छ । यसका लागि प्रयोग भएका अन्तर्राष्ट्रिय गिरोहहरुको सञ्जाललाई रोक्नु आजको आवश्यकता हो ।