
कमल रायमाझी, सम्पादक
जनवादी गणतन्त्र चीनले आफ्नो स्थापनाको ७२ वर्षे स्थापना दिवस मनाएको छ । अक्टोवर १, १९४९ मा माओत्सेतुङको नेतृत्वमा चीनमा कम्युनिस्ट पार्टी अफ चाइनाले गणतन्त्र चीनको स्थापना गरेको हो । लामो जनयुद्ध पछि माओले नेतृत्व गरेको कम्युनिस्ट पार्टीले चीनलाई कब्जा गर्दै जनवादी गणतन्त्रमा पुराएको हो । जसको स्थापनाको ७२ वर्षमा आर्थिक महाशक्तिको देश हुन पुगेको छ । जनवादी गणतन्त्र चीनमा चिनियाँ अर्थतन्त्रको रुपान्तरण र योजनाकार भने नेता देङ स्याओपिङ हुन् । उनले सन् १९८७ मा लिएका आर्थिक लक्ष्यहरुले चीनलाई आज संसारको अर्थतन्त्रमा महाशक्ति राष्ट्रको दर्जामा पुराएको छ । कम्युनिस्ट शासनलाई आर्थिक सुधार र खुल्लापनको नीतिमा रुपान्तरण गर्दै चिनियाँ अर्थतन्त्रलाई समाजवादी अर्थबजार चरित्रमा विकास गरे । चिनियाँ आधुनिक समाजवादी बजार अर्थतन्त्रको निर्माणका लागि चार आधारस्तम्भहरु पनि निर्माण नेता देङ स्याओपिङले बनाए । जुन कृषि, उद्योग, विज्ञान र प्रविधि तथा सैनिक शक्ति चीनको अर्थतन्त्रको विकासमा राज्यको निर्माण गरेको नीति हो । यो सन् १९२० को दशकमा तत्कालीन सोभियत संघमा लेनिनले निर्माण गरेको अर्थनीतिसंग मिल्दोजुल्दो देखिन्छ । चीनले पुजिवादी आर्थिक विकासबाट मात्र समाजवादी चरित्रको अर्थतन्त्रको निर्माणका लागि उत्पादनका साधनहरुलाई प्रयोग गरेको देखिन्छ । चीनले बजारसहितको समाजवादी अर्थव्यवस्था र योजनाबद्ध विकासको बाटो तय गरेको छ । यो बजार र योजनाले अर्थतन्त्रलाई निर्देशित गर्ने औजार हो । जुन विश्वमा नौलो परीक्षण पनि हो । चीनले सिंगापुरका अर्थतन्त्रका निर्माता ली क्वान युको आर्थिक मोडललाई समेत अंगिकार गरेको पाइन्छ । जसबाट चीनमा उद्यमशीलताको विकासमा सहयोग पुगेको छ । चीन सरकारले औद्योगीकरण गर्नका लागि केही समय करमा छुट, नाफामूलक व्यापारको मोडल , उन्नत प्रविधिको प्रयोग र निर्यातमूलक उद्योगलाई प्रोत्साहन गरेको छ । तर यहाँ युरोप तथा अमेरिकामा जस्तो व्यापारमा व्यक्तिवादी प्रवृत्ति आर्थिक क्षेत्रमा हावी देखिँदैन । यहाँको औद्योगीकरण सरकार निर्देशित रहेको छ । जसका कारण यहाँका उद्योगहरु सधै सफल रहेका छन् । चीनले विशेष आर्थिक क्षेत्रहरुको स्थापनासंगै उत्पादन निर्यातलाई समेत सकारात्मक परिणाम प्राप्त भएको देखिन्छ । संसारको सबैभन्दा धेरै लगभग १ अर्ब ४२ करोड जनसख्या भएको चीनको क्षेत्रफल पनि ९६ लाख ४१ हजार १४४ वर्ग किलोमिटर क्षेत्रफल रहेको छ । यो रुस, मंगोलिया, उत्तर कोरिया, भियतनाम, लाओस्, म्यान्मार,भारत, भुटान, नेपाल, पाकिस्तान, अफ्गानिस्तान, ताजिकिस्तान, किर्गिस्तान र कजाखिस्तान सीमा जोडिएको छ । यहाँ एकदलीय व्यवस्था रहेको छ । जसको नेतृत्वमा अहिले सि जिनपिङ रहेका छन् । स्थापनाको ७२ वर्षमा आर्थिक विकासमा संसारको महाशक्ति हुन पुगेको चीन र नेपालको सम्बन्ध भने परापूर्व कालदेखि भएको पाइन्छ । ४०६ एडी चिनियाँ बुद्ध भिक्षु फाहियान र चिनियाँ यात्री हु वान स्यांगको लुम्बिनी भ्रमणको यात्रा वर्णन् नेपालको इतिहासको मुख्य आधार भएको छ । नेपालका राजा अंशुवर्माकी छोरी भृकृटीको विवाह चिनियाँ राजा श्रंग चंग गम्पोसँग भएको कुराहरु र बुद्ध दर्शनको समानताले नेपाल चीनको सम्बन्ध परापूर्व कालदेखि आजसम्म निरन्तर रहेको देखिन्छ । तर निरङ्कुश राणा शासनको अन्त्यसँगै शुरु भएको नेपालको प्रजातान्त्रिक राजनीतिक यात्रा पनि आज ७० वर्ष पुगेको छ । चीनले आफ्नो स्वतन्त्रताको ७२ वर्षमा संसारको महाशक्ति राष्ट्र बन्न सफल भएको देखिन्छ भने नेपालमा आन्तरिक खिचातानीहरुका कारण देश विकासमा बाधा भएको देखिन्छ । नेपालको पुरानो र छिमेकी देश चीनको मोडलले अर्थतन्त्रमा संसार कब्जा गरिसकेको अवस्थामा हामी परनिर्भर अर्थनीतिमा रहेका छौँ । अब नेपालले पनि देशको अर्थतन्त्रलाई सफल र सुदृढीकरण गर्दै विकासशील देशको दर्जामा पुग्नु पर्दछ । यसका लागि नेपाली जनता र यहाँको राजनीतिक दल सधैँ नेपाल र नेपाली पक्षमक हुनुपर्दछ ।