दीपक जैसवाल
लुम्बिनी । महामानव गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा सांस्कृतिक तथा सडक खाना महोत्सव हुने भएको छ । लुम्बिनी होटल संघ नेपालले बिहीबार लुम्बिनीमा पत्रकार सम्मेलन गरी अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा लुम्बिनीको महिलवारमा यही पुस १६ र १७ गते लुम्बिनी सांस्कृतिक तथा आठौ सडक खाना महोत्सव आयोजना गर्न लागेको जानकारी दिएको छ ।
गत वर्षहरुझैँ महोत्सवलाई निरन्तरता दिने गरि अहिले थप परिस्कृत र सावधानी अपनाउदै महोत्सव गरिने लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले बताए । सडक खाना महोत्सवमा बौद्धकालिन परिकार देखी स्थानिय स्तरमा पाईने तथा तारे होटलहरुको परिकार पर्यटकहरुले एकै स्थानमा स्वाद लिन पाउने आयोजकको दावी छ ।
विशेष गरि स्थानिय स्तरमा रहेका थारु, मुस्लिम, मधेशी समुदायहरुको परिकारका साथै लुम्बिनीमा रहेका तारे होटलहरु होटल कसाई, बुद्धमाया गार्डेन, होक्के होटलहरुको परिकारहरु न्यून मूल्यमा उपलब्ध गराइने ज्ञवालीको भनाई छ । यो वर्ष महोत्सव २ दिन आयोजना गरि लुम्बिनीको पर्यटन सम्बर्द्धनको प्रयास गरिएको आयोजकको भनाइ छ ।
महोत्सवमा लुम्बिनीका होटलहरुमा ५० प्रतिशत भन्दा बढी छुटको साथै सुपथ मुल्यमा ब्रेकफास्ट, लन्च एवम् डिनर पहुनाले पाउने छन् । महोत्सवलाई व्यवस्थित बनाउन छोटो दुरीका लागि निःशुल्क यातायातको व्यवस्था समेत गरिएको छ । भैरहवा, बुटवल, सैनामैना, गैडहवा, फायरलाइन, कपिलवस्तु लगायतका स्थानबाट लुम्बिनीका लागि यातायात सञ्चालन हुने संघका महासचिव पुरुषोत्तम अर्यालले बताए । त्यस्तै महोत्सवमा नौमती, पञ्चेबाजा, बिरहा, थारु झुमराका साथै आधुनिक पप/डिजे गीत संगीतको पनि प्रस्तुती हुने उनले बताए ।
लुम्बिनी होटल संघ नेपालका अध्यक्ष गोविन्द ज्ञवालीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा संघका वरिष्ठ उपाध्यक्ष लीलामणि शर्मा, निवर्तमान अध्यक्ष मिथुनमान श्रेष्ठ, सल्लाहकार हेम बिष्ट लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन संघका महासचिव पुरुषोत्तम अर्यालले गरेका थिए ।