logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    देश कतातिर ? (सम्पादकीय)


    ५ फाल्गुन २०७८ , बिहिबार

    देश कतातिर ? (सम्पादकीय)

    नेपाली जनताले अत्यन्त कष्टसाथ ल्याएको गणतान्त्रिक संघीय लोकतन्त्र वर्तमान अवस्थासम्म आइपुग्दा अत्यन्त रुघ्न र विमार देखिनु सबैको लागि चिन्ताको विषय भएको छ । यो व्यवस्थालाई यो अवस्थासम्म ल्याउनमा सबै राजनैतिक दलहरु दोषका भागि छन् । नेपाली जनताले स्थिर सरकारका लागि झण्डै दुई तिहाई बहुमत दिएको पनि राम्ररी टिकाउन, व्यवस्थापन गर्न र जनताका जनजीविकालाई सम्बोधन गर्न सकेन । देश विदेशीहरुको क्रिडास्थल बन्ला भन्ने डर एकातिर छ भने राष्ट्रवादको नक्कली नकावपोश लगाएका व्यक्ति र पार्टीहरु लेकका जुका झैँ सलबलाई रहेछन् । यो संघीय गणतान्त्रिक व्यवस्थामा आम नागरिकहरु कहाँ छन् ? उनीहरुलाई राज्यले अहिलेसम्म पनि सम्बोधन गर्न सकेको छैन । सबै पार्टीहरुले आ-आफ्नो डम्फु बजाइरहेछन् । देशलाई बाटो निर्दिष्ट गर्ने काम पार्टीका नेताहरुकै हो, पार्टी पद्धतिमा लोेकतान्त्रिक आचरण भएन भने जनताले दुःख पाउने मात्र होइन देशको भविष्य नै अन्धकार हुन्छ । विश्व राजनैतिक रंगमञ्चमा नेपालको साख नराम्रो सँग गिरेको अनुभव वर्तमान अवस्थामा हुनु यस व्यवस्था प्रति नै प्रश्न चिन्ह उठ्नु हो । यसलाई राजनैतिक दलका नेताहरुले राम्ररी बुझ्न जरुरी छ । कम से कम राष्ट्रिय मुद्दामा सबै पार्टीहरुको एउटा साँझा दृष्टिकोण हुनुपर्ने हो, त्यो पनि देखिएको छैन । संविधान कानुनलाई आफु अनुकुल व्याख्या र प्रयोग गर्ने जुन प्रकारको हरकत नेपाली राजनीतिमा भएको छ त्यो अत्यन्त डरलाग्दो छ । विधिको शासनलाई राम्ररी स्थापित गर्न सकिएन भने यसले धेरै विकृतिहरु संगालेर विस्फोटक अवस्थासम्म पुर्याउँदछ भन्ने कुरा सबै राजनैतिक दलका नेताहरुले बुझ्न जरुरी छ । प्रदेश सरकारहरुमा जुन प्रकारका विकृति र विसंगतिहरु देखिए, त्यसले संघीय शासनको खर्चभार बोक्न सक्ला ? उद्योग, व्यापार देखि प्रत्येक क्षेत्रमा असन्तुष्टि देखिएको छ । देश गरिबीको दलदलमा यसरी भासिएको छ कि त्यसबाट त्राण पाउन पनि अत्यन्त गाह्रो भइरहेको विज्ञहरु बताउँछन् । तस्करहरुका लागि उर्वरभूमि भएको छ भन्दैछन्, देशको भविष्य अन्धकार देखिएको छ, सानो उज्यालोको छनक कही कतै देखिएको छैन । लोकतान्त्रिक व्यवस्थामा कानुनी दाउपेच, षड्यन्त्र र धोखाधाडी यसरी हाबी भएको छ कि यसको मूल्यबारे आम नागरिक अनभिज्ञ छन् । सत्ता र शक्तिका लागि जस्तोसुकै खेल खेल्न तयार राजनैतिक दलका नेताहरुले देश कतातिर लान खोजेका हुन् ?

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.