
भैरहवा । लुम्बिनी प्रदेशमा नेपाल बन्दको प्रभाव आंशिक रुपमा परेको छ । एमसीसी संसदबाट अनुमोदन भएपछि विरोधमा विप्लव नेतृत्वको नेकपासहित ६ वटा राजनीतिक दलीय मोर्चाले नेपाल बन्दको आह्वान गरेका हुन् ।
बन्दका कारण लुम्बिनी प्रदेशका जिल्लाहरुमा सार्वजनिक सवारीका साधन चलेका छैनन् । फाटफुट रुपमा निजी सवारी साधन भने गुडेका छन्। सहरका भित्री भागमा भने अधिकांश पसल खुलेका छन् ।
भैरहवा, बुटवल, दाङको भालुवाङ, लमही, घोराही र बाँकेको नेपालगन्ज लगायतका क्षेत्रमा बन्दको आंशिक प्रभाव परेको छ । बन्दका कारण मुख्य राजमार्ग क्षेत्रका पसल र सहरका मुख्य बजार आंशिक रुपमा खुलेका छन् । लामो तथा छोटो दूरीका सवारी साधन चल्न नसक्दा यात्रु गन्तव्यमा पुग्न पाएका छैनन् । बन्दमा कुनै पनि अप्रिय घटना हुन नदिनका लागि मुख्य मुख्य चोकहरुमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, ऋषि कटेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजीत नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाले दलले एमसीसी अनुमोदन गरेको भन्दै खारेजीको माग गर्दै नेपाल बन्द आह्वान गरेका हुन् ।