logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    क्षेत्रफलमा नेपालकै ठूलो गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल-ईतिहाँसदेखि वर्तमानसम्म


    २३ जेष्ठ २०७९ , सोमबार

    क्षेत्रफलमा नेपालकै ठूलो गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल-ईतिहाँसदेखि वर्तमानसम्म

    भैरहवा । भैरहवा स्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा गएको जेष्ठ २ गते जजिरा एअरलायन्सले उडान भरेपछि नेपालको हवाई उड्डयनको ईतिहाँसमा नयाँ इट्टा थपिएको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्ष भयो । यो बीचमा मुलुकभित्र अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकोलागि धेरै पटक योजना र बजेट बिनियोजन भए । गएको हप्ता सर्वोच्च अदालतले काम नरोकिदिदा सम्म निजगढ विमानस्थलकोलागि अर्बौ रकम विनियोजन समेत भईसकेको थियो तर अदालतले उक्त विमानस्थल निर्माणको काम रोकिदियो । पोखरा विमानस्थललाई पनि अन्तराष्ट्रिय विमानस्थल बनाउने सरकारी योजना छ तर हिमाल र पहाडको निकटताले ठूला जहाज र बोइंगहरुको उडान पोखरामा अलि मुश्किल हुने देखिन्छ । यसरी निजगढ विमानस्थलको काम रोकिनु, पोखरामा बोइंग जहाजको प्राकृतिक जटिलता सृृजना हुनुले अबको केहि दशक काठमान्डौ स्थित त्रिभुवन विमानस्थलको बिकल्पमा भैरहवा स्थित गौतमबुद्ध विमानस्थल मात्रै अर्को अन्तराष्ट्रिय विमानस्थलको रुपमा रहने देखिन्छ ।

    भैरहवाको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा पहिलो पटक जेष्ठ २ गते कुवेतबाट सिधा जजिरा एअरलायन्सले उडान भर्यो । त्यसयता जजिरा एअरलायन्सले भैरहवा कुवेत सिधा नियमित रुपमा अन्तराष्ट्रिय उडान गर्दै आएको छ ।

    जजिराले उडान भर्नुभन्दा पहिले गएको फागुन ६ गते एरो थाईको १७ सिटे सानो जहाजले क्यालिबेरेशन फलाईट र बैशाख १६ गते नेपाल एअरलायन्सको वाइडबडी जहाजले उडान गरेपछि अन्तराष्ट्रिय उडानकोलागि बाटो खुलेको हो ।

    गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा जजिराको उडान :

    जेठ २ गते जजिराले गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलमा पहिलो अन्तराष्ट्रिय व्यवसायिक उडान गर्यो । त्यस यता जजिराले नियमित उडान गरिरहको छ । जजिराका लागी नेपालका वाणिज्य प्रबन्धक अमित नागरथले कुवेतबाट सिधा भैरहवा लुम्बिनी उडान गर्न पाउदा खुसी लागेको बताए । उनले अपेक्षाकृत यात्रुहरु पनि पाईरहको बताए ।

    यो समाचार तयार पार्दा सम्म जजिरा बाट गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल मार्फत हालसम्म १२ सय ४४ जना यात्रुहरुले सेवा लिइसकेका छन् । जेठ १६ गते सम्म भएको ७ वटा उडानबाट भैरहवा स्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा ४ सय ७९ यात्रुहरु ओर्लिएका छन् भने ७ सय ६५ यात्रुहरु नेपाल बाट बाहिरिएका छन् । पछिल्लो केही दिन यता गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट उडान गर्न चाहाने यात्रुहरुको संख्या बढेर गएको छ ।

    जेठ २ गते उडान शुरु भएको जजिरामा पहिलो उडानमा ५० जना आएका थिए भने १ सय २४ जना गएका थिए । ४ गते भएको उडानमा ३४ जना आएका थिए भने १ सय १० जना गएका थिए । ६ गते भएको उडानमा ३२ जना आएका थिए भने ६८ जना गएका थिए । ९ गते भएको उडानमा १ सय २१ जना आए भने ३८ जना गए र ११ गते १ सय ४ जना आए र १ सय ७ जना गए । यस्तै १३ गते भएको उडानमा ६८ जना आए भने १ सय ५७ जना गए र १६ गते भएको उडानमा ७० जना आए र १ सय ६१ जना गए । गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल आउने जजिराको फ्लाइट नं जे ९ ५४५-५४६ कुवेत देखि भैरहवा उडान गर्ने बिमानको सिट संख्या १ सय ६८ हो ।

    जजिराले बिश्वका ४५ देशमा कुवेत ट्रान्जिट राखेर हवाइ सेवा दिदै आएको छ । जेठ २ गतेदेखि गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गरिरहेको जजिरा एयरलाइन्सले साताको ३ उडान गरिरहेको छ । सोमबार, बुधबार र शुक्रबार उडान गरिरहेको जजिराले निकट भविष्यमा दैनिक उडानको तयारी समेत गरेको छ ।

    गौतमवुद्ध  विमानस्थलमा अन्य एअरलायन्सको पनि चासो :

    जजिरा एअरलायन्सले उडानमा सफलता प्राप्त गरेपछि अन्य विदेशी एयरलाइन्सले पनि सम्पर्क गरिरहेका छन् । विमानस्थलको भ्रमणदेखि विभिन्न प्रक्रियामा चासो दिएका छन् । छिट्टै अन्य एयरलाइन्सले पनि उडान गर्ने विश्वास गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोबिन्द प्रसाद दाहलले व्यक्त गरे ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध विमानस्थलमा व्यावसायिक उडानमा वायुसेवा कम्पनी आउने वातावरण सहज बनाउन विशेष छुट समेत दिने भएको छ । विमानस्थलका महाप्रबन्धक दाहलका अनुसार अहिले सम्म एअर अरेयिबा, फलाइट दुबे, एअर चाईना, एअर ईन्डिया लगायतले पनि चासो देखाईरहेको छन् । दाहलले आइएनएस-(स्वतन्त्र) समाचारसँग भने,‘ बन भन्ने एअरलायन्सहरुको अन्तराष्ट्रिय संस्थाका पदाधिकारी पनि छलफल गरेर जानु भएको छ । विस्तारै थपिदै जान्छन् । जजिराबाट गए राति मात्रै १२४ आए, १६० जना उडे ।’

    गौतबुद्ध अन्तराष्ट्रिय विमानस्थ्लमा म्यानमार, दक्षिण कोरिया, कतार, कम्बोडिया, थाइल्यान्ड, चीन लगायतका देशबाट पनि उडान गर्ने तयारी भईरहेको छ ।

    गौतमबुद्ध विमानस्थल शुरु देखि अहिलेसम्म :

    घरेलु विमानस्थलको रुपमा रहेको गौतमबुद्ध विमानस्थलको स्तरोन्नतीको कामकोलागी सन् २०१७ को जनु २ तारिख अर्थात २०७४ जेठ १९ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी टेन्डर आहवन गरिएको थियो । मल्टीनेशनल रुपमा आहवन गरिएको बोलपत्र अनुसार ५ चीनिया र २ स्पेनीश ठेकेदारहरुले बोलपत्र भरेको भएता पनि चीनिया ठेकेदार कम्पनि नर्थ वेस्ट सिभील एभीएशन एअरपोर्ट कन्सट्रक्शन ग्रुपले टेन्डर पारी आवश्यक सम्झौता गरी निर्माण कार्य ०७१ को माघ १ देखी शुरु गरेको थियो । शुरुमा कुल ६ अरब २२ करोड ५१ लाख ३० हजार २ सय २७ रुपैयां ९१ पैसा लागतमा निमांण सम्पन्न गरी नर्थ वेस्टले ठेक्का पाएको भएता विभिन्न समयमा भेरियसन हुदाँ उक्त ठेक्का साढे ७ अर्बको हाराहारीमा पुगेको छ ।

    विमानस्थल भित्र दुई प्रकृतिका काम भएका छन् । जसलाई आइसीपि वान र टु भनिएको छ । आईसिपी वान भित्र रन वे, टयाक्सी वे, टरमिनल बिल्डींग, प्रशासनीक भवन, कन्ट्रोल रुम, कार पार्किंग, धावन मार्गको लाईट, जहाज पार्किंग लगायतका काम रहेका छन् ।

    यसैगरी आईसीपि टू मा उपकरण जडान र फाउन्डेसनको काम रहेका छन् । जसमा मुख्यता सन्चार (कम्युनिकेशन), पथप्रदर्शन (नेभिगेशन) जहाजलाई कुन दिसामा लाने भन्ने र मौसम -मेट्रोलोजि) सम्बन्धि काम हुन्छ । विमानस्थलको कन्सलट्यान्टको जिम्मा युसीन कोरियन कन्सलट्यान्ट र आयोजना क्यानले संयुक्त रुपमा गर्दै आएका छन् ।

    घरेलुे विमानस्थल यसरी बन्यो गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल

    गौतबुद्ध विमानस्थल अन्तराष्ट्रिय स्तरको बन्ने कार्य शुरु हुनुमा मुख्यतयाः बुद्ध जन्मस्थल लुम्बिनी भएको देखिन्छ । लुम्बिनीकै कारण भैरहवा स्थित गौतमबुद्ध विमानस्थललाई अन्तराष्ट्रिय स्तरको बनाउन सहज भएको पर्यटनवीद प्राध्यापक डा. गितु गिरी बताए ।

    एडिबीको दक्षिण एशियाली पर्यटन पुर्वाधार विकास आयोजनाले विश्व पर्यटनको केन्द्र लुम्बिनीलाई मध्यनजर गरी भैरहवा विमानस्थलमा लगानी गर्ने आट गरेको हो ।

    ०२३ सालदेखी घरेलु विमानस्थलको रुपमा नियमित उडान भर्दै आएको भैरहवा स्थित गौतमबुद्ध विमानस्थलको स्वामित्वमा प्रायाप्त जग्गा छ । ०६१ साल अघिसम्म ८४ बिगाह ३ कठ्ठा रहेकोमा यतिबेला ८ सय १० विगाह पुगेको छ । जग्गाको क्षेत्रफलको हिसाबले यो नेपालकै ठूलो क्षेत्रफलमा फैलिएको विमानस्थल हो । अहिले सम्म पोखरामा ३ हजार ७ सय रोपनी, काठमाडौंमा ७ हजार रोपनीमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र सञ्चालन भइरहेका छन् ।

    अन्तर्राष्ट्रिय नागरिक उड्यन प्राधिकरण (आइकाउ)को कोड फोर ई का अनुसार ३ हजार मिटर धावनमार्ग भएको विमानस्थलमा बोईंग ७७७, एअबर बस ३३० सम्मका जहाजहरु सहजै उडान र अवतरण हुनेछन् ।

    विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउने कार्यमा शुरुवाति चरणमा एडिबीले ४० दशमलब ५ प्रतिशत, साउदी अरबको साउदी फन्डबाट (ओएफआइडी) ३० दशमलब ५ प्रतिशत, एडिबीको अनुदान १८ प्रतिशत र नेपाल सरकारको ११ प्रतिशत तथा कर समेत गरी लागत बेहोेर्ने गरी निर्माण कार्य शुरु भएको हो । काम शुरुवात गर्दा यो अनुपात भएता पनि पछिल्लो थप रकम गर्दा नेपाल सरकारको ३७ दशमलब ४ र बाँकी एडिबीको ऋण सहयोग हुन आएको हो । भैरहवा स्थित गौतमबुद्ध अन्तरास्ट्रिय विमानस्थलको निर्माणमा हाल सम्म आईसिपि वान र टु गरेर साढे ७ अर्ब र मुआब्जा २२ अर्ब ४५ करोड खर्च भईसकेको छ । अझै ३० करोड जति मुआब्जा बाडन् बाकी छ, कानुनी जटिलताको कारण, मुद्धा मामिलाको कारण मुअब्जा रोकिएको विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले बताए ।

    नेपाल भारत सीमा नजिक भएकोले गोरखपुर लखनऊ सम्मका भारतीयहरुले पनि गौतमबुद्ध विमानस्थलाई प्रयोग गर्ने अपेक्षा गरिएको छ । गौतमबुद्ध विमानस्थलका प्रयोगकर्ता भारतीय र नेपालीगरी सामन्य अवस्थामा कम्तिमा बर्षमा १०/११ करोड हुने अनुमान नेपाल एशोसियसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशका अध्यक्ष सागर अधिकारीले बताए ।

    नेपाल सरकारको ९० करोड ३६ लाख ३४ हजार ६ सय ८३ रुपैयाँ लागतमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको महत्वपूणर् भागमध्येको एक कार्गो (गोदाम) भवन निर्माणको काम भईरहेको छ । उक्त भवन दुई बर्ष भित्र निर्माण सम्पन्न गर्नेगरी एसएस शर्मा-लुम्बिनी गजुरमुखी जेभीले निर्माण गरिरहेको छ । ८० हजार स्क्वायर फिट क्षेत्रफलमा बन्ने भवन नेपालमा अहिलेसम्म बनेका भन्दा अत्याधुनिक, व्यवस्थित र स्तरीय हुनेछ । कार्गोको काम असार मसान्त सम्म सकिने आयोजनाका अधिकारीले बताए ।

    घरेलु विमानस्थलको रुपमा रहेको यो विमानस्थलको स्तोरोन्नती गर्ने भन्दै औपाचारिक रुपमा २०७१ साल माघ १ गते विहीबारका दिन तत्कालिन प्रधानमन्त्री स्वर्गिय शुसील कोइरालाले शिलान्यास गरेपछि एकाएक यो विमानस्थल गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको रुपमा परिचीत हुन थालेको हो । २०१९ को सेप्टेम्बरदेखि अन्तर्राष्ट्रिय उडान गर्ने गरी तत्कालिन सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले घोषणा गरेरे विमानस्थलको काम अगाडी बढाउन उनले धेरै मेहनत गरेका थिए । त्यसपछिका सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, भानुभक्त ढकाल, उमाशंकर अरगरीयाले पनि अत्यन्तै चासो दिएर विमानस्थलको बारम्बार स्थलगत निरीक्षण गरिरहे र वर्तमान सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेको मुख्य योजना नै भैरहवा स्थित गौतमबुद्ध विमानस्थलमा अन्तराष्ट्रिय उडान गराउने रहेको थियो ।

    भैरहवा स्थित गौतमबुद्ध विमानस्थलमा अन्तराष्ट्रिय उडान गराउन गणतन्त्र नेपालको प्रथम राष्ट्रपति रामबरण यादव, वर्तमान राष्ट्रपति विद्यादेवि भन्डारीदेखि पुर्वप्रधानमन्त्री शुसील कोइराला, पुस्पकमल दाहल प्रचन्ड, केपि शर्मा ओली र माधब नेपालले बढी अग्रसरता देखाएका थिए । त्यसका अतिक्ति एमाले नेताहरु विष्णु प्रसाद पौडेल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, छविलाल विश्वकर्मा, खिमलाल भट्टाराई, टोप बहादुर रायमाझी, कांग्रेस नेताहरु स्वर्गिय रामकृष्ण ताम्रकार, भरत कुमार शाह, बालकृष्ण खाण, दिपकुमार उपाध्यय, चन्द्र भन्डारी, प्रमोद यादव राप्रपाका नेता दीपक बोहरा, लोसपाका नेता सवेन्द्रनाथ शुक्ला, माओवादीका नेता चन्द्रप्रकाश खनाल, एकिकृत समाजबादीका नेता सोमप्रसाद पान्डे, बेदुराम भुसालहरुको डेढ दशकदेखि संसद र सरकारमा गरेको पहल, छलफल र आम नेपालीको सहयोगले आज गौतमबुद्ध विमानस्थलमा अन्तराष्ट्रिय उडान भईरहेकोछ ।

    करिब साढे ३० अर्बको लगानी रहेको यो विमानस्थलको निर्माणमा मर्चवारदेखि मुस्तांग सम्म र मेचिदेखि महाकालि सम्मका हरेक नेपाली नागरिकले तिरको करको लगानी रहेको छ । यसैले यो विमानस्थल बनिरहदा, सन्चालन भईरहदा चिल्ला गाडीमा हुईकिदैं विमानस्थल भित्र छिरेर , जहाजमा चढेर हात हल्लाउदैं हिड्नेहरु मात्रै होइन, कणर्ालीको डाडा पाखामा घास काट्नेहरु, प्युठानको झीमरुक खोलाको बगरमा ढुंगा फुटाएर जीविको पार्जन गर्नेहरुको दैनिक जीवनशैलि फेरिन सहयोग पुराउनेगरी राज्यले नीति बनाउनु जरुरी रहेको छ । (आइएनएस)

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.