logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    लुम्बिनीको पर्खाल बाहिर विकास गरौं


    ३० असोज २०७९ , आइतबार

    लुम्बिनीको पर्खाल बाहिर विकास गरौं

    महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनी पूर्वाधार विकासमा अगाडि बढेको छ । यहाँ राज्यले वार्षिक रुपमा अरबौँको बजेट विनियोजन गर्दछ । बुद्धको जन्मस्थल भएका कारण पनि संसारभरका मानिसहरुको ध्यान यसक्षेत्रले आकर्षित गरेको छ । यहाँ देश विदेशका महत्वपूर्ण राजनीतिक तथा धार्मिक र पर्यटकहरुको भ्रमण हुने गरेका छन् । लुम्बिनीमा वार्षिक रुपमा झन्डै १५ लाखदेखि १८ लाखसम्म आन्तरिक र बाह्य पर्यटकहरु आउने गरेको विकास कोषको तथ्याङ्कले देखाउने गरेको छ । शान्तिको मुहानको रुपमा लुम्बिनीलाई संसारभर श्रद्धा गरिन्छ । यहाँको विकास र समृद्धिका लागि सबै क्षेत्रले चासो राखेको पाइन्छ । देशका प्रधानमन्त्रीदेखि प्रदेश सरकार र स्थानीय निकायहरुले लुम्बिनीको विकास र विस्तारका लागि वार्षिकरुपमा नयाँ–नयाँ योजनाहरु अगाडि सारेका हुन्छन् ।
    संसारको ध्यान आकर्षित गरेको लुम्बिनीमा विकास पूर्वाधारको गति निरन्तर अगाडि बढेको छ । मौर्य सम्राट अशोकले इ.पू. २४९ मा लुम्बिनीको तीर्थाटन गरेका थिए । तीर्थाटनको संस्मरणमा उनले अशोक स्तम्भ निर्माण गरेका हुन् । ऐतिहासिक, धार्मिक र पर्यटकीयस्थल लुम्बिनी विश्व सम्पदा सूचिमा सूचिकृत सम्पदा पनि हो । महत्वपूर्ण यसक्षेत्रको एक हजार १५५ बिघा जमिनलाई पर्खाल भित्र घेरेर पूर्वाधार, धार्मिक र पर्यटकीय क्षेत्रको विकास गरिएको छ । पर्खालभित्रको तीन वर्ग माइल जमिनलाई उद्यानक्षेत्र, अन्तर्राष्ट्रिय विहार क्षेत्र, नयाँ लुम्बिनी ग्राम गरी तीन भागमा विभाजन गरी उच्च गतिमा विकास गरिएको छ । लुम्बिनीलाई सुन्दर, शान्त र पवित्र स्थलको रुपमा विकास गरिँदै छ । जसका कारण पर्खाल भित्र थुनिएको लुम्बिनी संसारकै पवित्र र नुमना आध्यात्मिक पर्यटकीय स्थलको रुपमा अगाडि बढेको छ । पर्खालभित्रको लुम्बिनी विकासको उच्चतम गतिमा अगाडि बढेको छ । तर पर्खाल बाहिर रहेको लुम्बिनी भने सधँै विकास र समृद्धिको अभावमा छट्पटिएको देखिन्छ । भोका, नाङ्गा, अभावै–अभाव र गरिबीका कारण धेरै जनताहरु जिविकोपार्जनको समस्यामा तड्पिएका छन् । यहाँका स्थानीयहरुले पर्खालभित्रको लुम्बिनीको स्वाद पाउन सकेका छैनन् । राजनीतिक भर्तिकेन्द्र बनेको लुम्बिनीमा टाठाबाठा र लुम्बिनी बाहिरका स्वार्थ समूहको मागी खाने भाँडो बनेको छ । पर्खालभित्रको लुम्बिनी निर्माणका लागि जसले सयाँै बिघा जमिन दान गरे उनीहरुको तिरस्कृत हुनुपरेको छ । दलाल, माफिया र पहँुचवालाको कब्जामा लुम्बिनी परेको छ । लुम्बिनीको विकासको लागि स्थापित संस्था लुम्बिनी विकास कोष समेत यहाँका स्थानीयसँग बेखबर छ । यहाँको स्थानीय सरकार लुम्बिनी सांस्कृतिक नगरपालिकासँग समेत पर्खालभित्रको लुम्बिनीले सरोकार राख्न खोज्दैन । त्यसकारण यहाँको विकासका लागि पर्खालभित्रको लुम्बिनीको विकासले मात्र नपुग्ने देखिन्छ । पर्खालभित्रको लुम्बिनीको विकाससँगै यहाँका स्थानीयहरुको विकास हुनु पनि जरुरी छ । यहाँका सडक, पूर्वाधार, शिक्षा, स्वास्थ्य र पर्यटनलाई राज्यले विशेष अनुदान दिएर अगाडि बढाउनै पर्ने अहिलेको आवश्यकता हो । यसक्षेत्रको कृषि पर्यटनका साथै स्थानीय समुदायहरुलाई आयआर्जन हुने प्रकारका स्वरोजगार कार्यक्रमहरु ल्याउनु पर्दछ । जसले लुम्बिनी पर्खालभित्र मात्र नभएर बाहिर पनि लुम्बिनी बन्ने थियो । स्थानीय सरकार, प्रदेश र संघीय सरकारले समग्र लुम्बिनी क्षेत्रको विकासमा ध्यान दिनु पर्दछ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.