logo
  • १८ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    सार्वजनिक प्रशासन


    १८ जेष्ठ २०७३ , मंगलबार

    सार्वजनिक प्रशासन

    laxmi sharma

    लक्ष्मी शर्मा

    यसको अर्थ के हो भन्ने कुरा जान्न प्रशासन केलाई भन्दछन् भन्ने जान्न आवश्यक छ । यसको अर्थ निर्देशन दिने, पथप्रदर्शन गर्ने आदेश  वा अनुमति दिने कार्य गरी उच्चस्तरको शासन संचालन गर्नु हुन्छ । निग्रोको विचारमा “प्रशासन भनेको लक्ष्य प्राप्तिको लागि मनुष्य र भौतिक सामग्रीको संगठन र प्रयोग हो ।”
    यसरी हेर्दा निर्दिष्ट लक्ष्य प्राप्त गर्न आफूसँग उपलब्ध जनशक्ति, धन र भौतिक स्रोतको संगठनको निर्देशन र जनशक्ति सम्बन्धी गतिविधि नै प्रशासन हो । सामान्य अर्थमा सार्वजनिक  प्रशासनलाई देशभित्र शान्ति सुरक्षा कायम गर्ने, मुलुकको सार्वभौमसत्ता कायम राख्नका लागि प्रतिरक्षा गर्ने र जनकल्याण सम्बन्धी विभिन्न कार्य गर्ने सरकारी प्रशासन हो भनी बुझ्न सकिन्छ ।

    सामान्यतया यस्तो प्रशासन मुलुकको संविधान र कानुनमा आधारित हुन्छ । यो प्रशासन मुलुकमा शासन संचालन गर्ने  सरकारको शसक्त माध्यम हो । प्रशासन निजी र सार्वजनिक गरी दुई प्रकारका हुन्छन् । यदि उपलब्ध मानवीय तथा भौतिक स्रोतलाई निजी स्वार्थ वा हितका लागि व्यक्ति वा समूहद्वारा परिचालन गरिन्छ भने त्यो निजी प्रशासन हुन्छ । त्यही प्रशासन सार्वजनिक हित र स्वार्थका लागि सरकारद्वारा चलाइन्छ भने त्यो सार्वजनिक  प्रशासन मानिन्छ । अर्को शब्दमा कुनै पनि मुलुकको सरकारबाट आफ्ना नागरिकको हित र उन्नतिका लागि गरिने नियमित र आकस्मिक तथा विकास गतिविधिहरुको समग्रतालाई सार्वजनिक प्रशासन भनिन्छ ।
    सार्वजनिक प्रशासनको क्षेत्रभित्र के पर्छ के पर्दैन भन्ने कुरा हामी त्यसलाई कसरी परिभाषित गर्छौ भन्ने तथ्यमा भर पर्छ । यदि हामी त्यसलाई संकीर्ण ढंगले परिभाषित गर्छौ भने त्यसको क्षेत्र संकुचित हुन पुग्दछ । यसको सम्बन्ध कार्यपालिकासँग मात्र छ । यस अवस्थामा सरकारको कार्यपालिका अंग, त्यसको संगठन, कर्मचारी प्रशासन र नागरिक प्रशासनको प्रभावकारी संचालनका लागि बनेका कार्यविधि एवं अभ्यास सम्म मात्र सार्वजनिक प्रशासनको   न्यायपालिका र  राजनीति कार्र्यपालिकाद्वारा निर्मित सार्वजनिक नीति र कार्यक्रमहरुको कार्यान्वयनमा संलग्न हुने क्रियाकलापहरु मात्र सार्वजनिक प्रशासनको दायरामा पर्दछन् ।
    अर्कोतिर हामी सार्वजनिक प्रशासनलाई आधुनिक ढंगले परिभाषित गर्छौँ भने यसको दायरा फराकिलो हुन्छ । यसभित्र कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका गरी सरकारका तीनै अंगहरुको क्रियाकलाप समावेश हुन्छ ।
    आजको लोकतान्त्रिक युगमा सरकारका अधिकांश प्रशासकीय नीतिहरु व्यवस्थापिकाद्वारा कानुनका माध्यमद्वारा बाहिर आउँछन् । त्यतिमात्र होइन ती बाहिर आएका नीतिहरु कार्यान्वयन भएको नभएको निगरानी पनि व्यवस्थापिकाले आफ्ना संसदीय समितिहरु मार्फत गर्छ ।
    न्यायपालिकाले समेत जनप्रशासनको क्रियाकलापहरु मुलुकको संविधान  र नियम कानुन सम्मत छन् छैनन् भने कुराको निक्र्यौल गर्छ । यसरी आधुनिक परिभाषालाई हेर्ने हो भने सार्वजनिक प्रशासन अन्र्तगत सरकारको तीनै अंगको क्रियाकलाप समावेश हुन्छन् । राष्ट्रिय तहमात्र होइन, क्षेत्रिय र स्थानीय तहका सरकारी क्रियाकलाप पनि समावेश हुन्छन् ।   राज्यमा सार्वजनिक प्रशासन महत्व धेरै हुन्छ ।
    यसले समाजमा स्थिरता कायम गर्ने, समयानुुकूल परिवर्तन ल्याउने कार्य समेत गर्छ यसले राज्यको चरित्र निर्माण गर्दछ, जनताको ईच्छा, आकांक्षा परिपूर्ति गर्ने कार्य समेत गर्दछ । सभ्यता र संस्कृतिको विकास गर्नु यसको प्रमुख लक्ष्य हुन्छ ।

    सरकारको तुलनामा सार्वजनिक प्रशासन स्थिर हुन्छ । कतिपय देशहरुमा सरकार बदलिरहन्छ तापनि त्यहाँको प्रशासनिक यन्त्र यथावत् कायम रहन्छ ।
    आधुनिक युगमा त झन् जन्मदेखि मृत्युसम्म व्यक्ति सार्वजनिक प्रशासनसँग सम्बन्धित रहन्छ । राजनीतिक शास्त्रको एक भागका रुपमा रहेको प्रशासन आज एक स्वतन्त्र विषय बन्न सफल भएको छ । त्यस्तै गरी आधुनिक युगमा विश्वका कुनै न कुनै देशमा युद्ध भईरहेको पाईन्छ । देशलाई युद्धबाट बचाउन आवश्यक हुन्छ । सामान्यतया यसको दायित्व सार्वजनिक प्रशासन माथि हुन्छ ।  आधुनिक युगमा व्यक्तिको जीवनको हरेक पक्ष सार्वजनिक प्रशासनको संरक्षणमा अगाडि बढ्दछ । यसले गर्भवती आमाको सेवा गर्दछ । मरणोपरान्त व्यक्तिको यसमा मृत्यु दर्ता गराइन्छ ।
    लोकतान्त्रिक शासन व्यवस्थामा सार्वजनिक प्रशासनको अत्यधिक महत्व हुन्छ । कुशल, निष्पक्ष, इमान्दार प्रशासनबाट मात्र देशका नागरिकहरुको सुरक्षा र समृद्धि हुन्छ । कुनै पनि   राजनीतिक दलका नेताले निष्पक्षताका साथ सत्ता संचालन गर्नुपर्छ । नेतामा नेतृत्वको गुण हुनुपर्छ । सार्वजनिक प्रशासनलाई स्वतन्त्रता र कुशलतापूर्वक काम गर्न दिनुपर्दछ । राजनीतिज्ञहरुबाट यसको क्रियाकलापहरुमाथि अनुचित रुपबाट हस्तक्षेप गरिनुहुँदैन । आधुनिक लोकतन्त्रले कल्याणकारी भावनालाई जन्माएको छ । राज्यका क्रियाकलापहरु बढेका छन् । जनसंख्या बढेको छ । प्रशासनिक सेवाको माग बढेको छ, प्रशासनले लोकतान्त्रिक तरिकाबाट कार्य गर्ने अभ्यास गर्ने हो भने स्वतन्त्रता र स्वायत्ततामा जोड दिनुपर्दछ ।
    वर्तमान समयमा सार्वजनिक प्रशासन कुनै एक मुलुकको सीमित   घेराभित्र मात्र कायम रहेको छैन । यो अन्य मुलुकको प्रशासकीय व्यवस्थापन सम्म विस्तारित भएकोे छ । यस्तो अध्ययनबाट हामी आफ्नो मुलुकका विभिन्न भागमा सञ्चालित प्रशासन सम्बन्धी व्यवहारिकता सम्बन्धमा जानकारी प्राप्त गर्न सक्दछौँ र विद्यमान सामाजिक, आर्थिक एवं अन्य विषयमा असन्तुलनमा सुधार ल्याउन सक्छौँ । त्यस्तै गरेर अन्य मुलुकका सार्वजनिक प्रशासनका सकारात्मक पक्षको अवलम्बन गर्न र नकारात्मक पक्षबाट सतर्कता कायम गर्न सक्छौँ । तुलनात्मक अध्ययनको माध्यमबाट सार्वजनिक प्रशासन सम्बन्धी नयाँ मिसनको खोजी गर्न, सैद्धान्तिक निर्णयलाई बढी व्यवहारिक बनाउन र समस्या समाधानका नयाँ उपाय पहिचान गर्न सहयोग पुग्दछ ।  परिणाम स्वरुप केही वर्षयता देखि प्रशासन र कर्मचारी व्यवस्थापन सम्बन्धमा विभिन्न आदर्श नमुनाहरु देख्नमा आएका छन् ।
    सार्वजनिक प्रशासनको क्षेत्र शान्ति सुरक्षा र प्रतिरक्षाको सीमित घेराबाट बाहिर निस्की विस्तारित भएर राष्ट्रिय विकास र समुन्नतिका सबै पक्षसँग सम्बन्धित भएको छ ।
    दलीय सार्वजनिक व्यवस्था भएका देशको सार्वजनिक प्रशासनमा    राजनीतिक व्यवस्थाले गरेको निर्णय र निर्देशनलाई मान्नुपर्दछ । यसमा दलीय     राजनीतिको प्रभाव पर्दछ ।  जनताको सम्पर्क र सहयोग सरकारी कामका लागि अनिवार्य हुन्छ । सार्वजनिक प्रशासन स्थायी एवं सुरक्षित हुन्छ ।
    सार्वजनिक प्रशासनमा कुनै विशेष प्रकारको हानी नोक्सानीबाट कर्मचारीहरुलाई व्यक्तिगत रुपमा कुनै प्रभाव पर्दैन । सार्वजनिक प्रशासनको क्षेत्र विस्तृत छ । यसले जनताका प्रमुख आवश्यकताहरुको परिपूर्ती गर्दछ । समाजवादी देशहरुमा व्यापक रुपमा यसको विस्तार भएको छ । यसरी सार्वजनिक प्रशासनले मुलुकको सम्पूर्ण क्षेत्रलाई दृष्टिगत गरी कार्य गर्नुपर्दछ ।

    सम्बन्धित समाचार

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.