logo
  • १८ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    लोकतन्त्रको सुदृढीकरण र विकासका लागि दलहरूबीच सहकार्य आवश्यकः पोखरेल


    १८ कार्तिक २०८३ , मंगलबार

    लोकतन्त्रको सुदृढीकरण र विकासका लागि दलहरूबीच सहकार्य आवश्यकः पोखरेल

    लुम्बिनीखबर
    बुटवल, १७ कात्तिक । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले लोकतन्त्रको सुदृढीकरण, संविधानको प्रभावकारी कार्यान्वयन र मुलुकको विकासका लागि राजनीतिक दलहरूबीच सहकार्य र संवाद आवश्यक रहेको बताउनुभएको छ। प्रेस चौतारी नेपाल, रुपन्देहीले बुटवलमा आयोजना गरेको कार्यक्रममा उहाँले सरकारलाई संविधान र कानुनको सीमाभित्र रहेर जनताको अधिकार सुनिश्चित गर्ने गरी काम गर्न राजनीतिक दल, नागरिक समाज र सञ्चार क्षेत्रले रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो।

    महासचिव पोखरेलले लोकतान्त्रिक व्यवस्थाको संरक्षणका लागि राजनीतिक दलहरूबीच साझा समझदारी आवश्यक रहेको उल्लेख गर्दै संविधान निर्माण र लोकतान्त्रिक आन्दोलनमा योगदान गरेका दलहरूबीच सहकार्य हुनुपर्ने धारणा राख्नुभयो। नेकपा ,एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीलगायत दलले लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षणमा साझा पहल गर्नुपर्ने उहाँको भनाइ थियो। सरकारलाई संविधान र कानुनअनुसार सञ्चालन गर्न सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले पनि जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयो। लोकतन्त्रमा सरकार, प्रतिपक्ष र राजनीतिक दल सबैको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै उहाँले संविधानले सुनिश्चित गरेका नागरिकका संगठित हुने र विचार अभिव्यक्त गर्ने अधिकारको सम्मान गर्नुपर्नेमा जोड दिनुभयो।

    पोखरेलले विद्यार्थी संगठन, ट्रेड युनियन, व्यावसायिक संगठन र सञ्चार क्षेत्रको स्वतन्त्रता लोकतान्त्रिक अभ्यासका महत्त्वपूर्ण आधार भएको बताउनुभयो। पत्रकारले समाचार लेखेकै आधारमा पक्राउ पर्ने अवस्था आउन नहुने उल्लेख गर्दै प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा राज्य संवेदनशील हुनुपर्ने उहाँको धारणा थियो। सरकारका कामकारबाहीलाई प्रभावकारी, पारदर्शी र जवाफदेही बनाउन आवश्यक रहेको बताउँदै उहाँले सार्वजनिक खरिद प्रक्रिया तथा ठूला विकास आयोजनामा पारदर्शिता र सुशासन कायम गर्नुपर्नेमा जोड दिनुभयो। पासपोर्ट खरिद प्रक्रिया र सुनकोशी मरिन डाइभर्सन आयोजनासम्बन्धी विषयले सार्वजनिक प्रशासन र खरिद प्रक्रियालाई थप पारदर्शी बनाउनुपर्ने आवश्यकता देखाएको उहाँले बताउनुभयो।

    जलवायु परिवर्तनका कारण उत्पन्न विपद् तथा अन्य राष्ट्रिय संकटको सामना गर्न सरकार र राजनीतिक दलहरूबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो। विपद्का समयमा नागरिकलाई राज्यको उपस्थिति र संरक्षणको अनुभूति गराउन सरकार थप जिम्मेवार हुनुपर्ने उहाँले बताउनुभयो। महासचिव पोखरेलले नयाँ राजनीतिक शक्तिहरूको उदयलाई पुराना दलहरूले आत्मसमीक्षा र सुधारको अवसरका रूपमा लिनुपर्ने धारणा राख्नुभयो। विगतमा जनताको विश्वास जित्न नसकेका कारण नयाँ राजनीतिक शक्तिहरूको उदय भएको उल्लेख गर्दै नेकपा ,एमाले, नेपाली कांग्रेसलगायत दलले आफ्ना कमजोरी पहिचान गरी संस्थागत सुधारमा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो।

    लुम्बिनी प्रदेशमा मुख्यमन्त्री परिवर्तनको चर्चासम्बन्धी पत्रकारको जिज्ञासामा उहाँले सरकार परिवर्तनको विषयमा अनावश्यक बहस गर्दा राजनीतिक अस्थिरता बढ्न सक्ने भएकाले प्रदेशको स्थायित्व र विकासलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। राजनीतिक दलले संस्थागत प्रक्रिया र जिम्मेवारीका आधारमा नेतृत्व तथा सरकार सञ्चालनसम्बन्धी विषयलाई अघि बढाउनुपर्ने उहाँको भनाइ थियो। लुम्बिनी प्रदेशको विकासका सन्दर्भमा महासचिव पोखरेलले बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गर्ने अवधारणालाई अघि बढाउनुपर्ने बताउनुभयो। आफू मुख्यमन्त्री रहँदा बुटवलमा प्रदेशकै ठूलो विकास परियोजनाका रूपमा लुम्बिनी प्रादेशिक अस्पतालको योजना अगाडि बढाइएको स्मरण गर्दै उहाँले प्रदेशका सबै क्षेत्रको सन्तुलित विकासमा ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो। प्रदेश राजधानीको विषयलाई लिएर बुटवल र दाङबीच प्रतिस्पर्धा गराउनुभन्दा दुवै क्षेत्रको सम्भावना उपयोग गर्दै समग्र लुम्बिनी प्रदेशको विकासलाई प्राथमिकता दिनुपर्ने उहाँले बताउनुभयो। विकासका साझा एजेन्डामा राजनीतिक आग्रहभन्दा माथि उठेर सहकार्य गर्न सके प्रदेशको आर्थिक तथा सामाजिक समृद्धिमा योगदान पुग्ने उहाँको भनाइ थियो।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.