भैरहवा, चैत्र २७ । लुम्बिनी मनिचेञ्जर व्यवसायी संघ रुपन्देहीको तेस्रो साधारणसभा शनिबार भैरहवास्थित एसआर कम्प्लेक्समा सम्पन्न भएको छ ।
साधारणसभामा लुम्बिनी अञ्चलभरीका मनिचेञ्जर व्यवसायीहरुको उपस्थिति रहेको थियो । व्यवसायीहरुले साधारणसभाको अवसर पारेर विभिन्न समस्याहरु राख्नुका साथै यसको समाधानको लागि कसरी अगाडि बढ्ने भन्ने विषयमा समेत छलफल गरेका थिए । का.वा अध्यक्ष गोपाल भण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विभिन्न विषयमा व्यवसायीहरुबीच अन्र्तक्रिया गरिएको थियो ।
मुख्यतया भारतीय मुद्रा उपलब्ध गराईदिन राष्ट्र बैंकसँगको आग्रहलाई निरन्तरता दिने, राजस्व अनुसन्धान लगायत विभिन्न प्रशासनिक निकायबाट अनुगमनका नाममा दिइने समस्यासँग जुध्न एकताबद्ध भएर अगाडि बढ्ने जस्ता विषयलाई जोडतोडका साथ छलफलमा राखिएको थियो ।
कार्यक्रममा अध्यक्षको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदनमाथि समेत व्यवसायीहरुले टिप्पणी गरेका थिए ।
अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनमा व्यवसायी हकहितको लागि संगठित भएर अगाडि बढ्ने, नयाँ व्यवसायीहरुलाई व्यवसाय प्रति सजग गराउने, व्यवसायप्रति समस्या आएमा एकताबद्ध भएर सामना गर्नुपर्ने जस्ता कुराहरुमा जोड दिइएको थियो । साथै भारतीय नाकाबन्दीका कारण भारतीय मुद्राको सटही दर उच्च विन्दुमा पु¥याउने बिचौलियाहरुसँग जुध्नको लागि प्रशासनिक निकायसँग सहकार्य गर्न नसक्नु कमजोरी रहेको औल्याउँदै अबका दिनमा रणनीतिक योजनाका साथ अगाडि बढ्नुपर्ने कुरा प्रतिवेदनमा जनाइएको थियो ।
विदेशी मुद्राको कारोबार प्रत्यक्ष रुपमा नेपाल राष्ट्र बैंकसँग गर्ने व्यवस्था मिलाउने, व्यवसायी हकहितको निम्ति विभिन्न किसिमका कार्यक्रमहरु भविष्यमा संचालन गर्ने, मुनाफासहितको मनि चेञ्जर व्यवसायलाई आम सर्वसाधारण सम्म पु¥याई यसलाई निरन्तरता दिने तथा वृद्धाश्रम, अनाथलय तथा विभिन्न संघसंस्थाहरुलाई सामाजिक कार्यमा सहयोग पु¥याउने योजनाहरु समेत उक्त प्रतिवेदनमा पेश गरिएको थियो ।
कोषाध्यक्ष नरहरी प्रसाद घिमिरेले संघको वार्षिक आम्दानी, खर्च विवरण पेश गरेका थिए ।