logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    नयाँ वर्ष २०७३ सुख शान्ति र समृद्धि


    ३० चैत्र २०७२ , मंगलबार

    नयाँ वर्ष २०७३ सुख शान्ति र समृद्धि

    –सावित्री घिमिरे

    हामी नेपालीहरुले मनाउने गरेका धेरै चाडपर्वहरु छन् । दशैँ, तिहार, तीज, ल्होसार, छठ, माघे संक्रान्त्,ि चैते दशैँ जस्ता  अनेकौँ चाडहरु सम्पूर्ण हिन्दु तथा विभिन्न जातजाति, भाषा, धर्मलिंग र विभिन्न सम्प्रदायका मानिसहरुले मनाउने गर्छन् । त्यसैगरी नयाँ वर्षलाई पनि हामी एउटा ठूलो चाडको रुपमा मनाउने गरिन्छ ।
    नयाँ वर्ष भन्नाले नेपाली क्यालेण्डर तथा नेपाल सम्वत अनुसार चलिरहेको वर्ष सकिएर अर्को वर्षको शुरुवातको दिनलाई नयाँ वर्षको नामले चिन्ने गरिन्छ । त्यस्तै अंग्रेजी क्यालेण्डर अनुसार नयाँ वर्ष अथवा जनवरी (पुष) महिना देखि शुरु हुन्छ भने नेपाली क्यालेण्डर अनुसार नयाँ वर्ष वैशाख १० गतेदेखि शुरु हुन्छ । यो परम्परा नेपालमा चल्दै आइरहेको छ । हामीले मनाउने नयाँ वर्षलाई पनि निकै ठूलो चाडको रुपमा लिने गरिन्छ । सँधैझैँ यसपालि पनि एउटा वर्ष २०७२ सकियो, अर्कोवर्ष २०७३ ले हात फैलाएर सम्पूर्ण नेपालीको स्वागत गर्दैछ । यसरी आद्र्र भएर पनि बित्दोरैछ । पुरानो वर्षले विगतका केही स्मृतिहरु पलपल, क्षणक्षण, प्रतिक्षण, विन्दु समयका भेलहरुका लेखाजोखाहरुलाई हिसाब गर्दागर्दै असाध्यै ढिलो गरेर निकै डर, त्रास र कोलाहलपूर्ण वातावरणमा यो वर्ष सिद्धिएको छ ।
    २०७२ साल कालो शनिसंकटाले घेरिएको वर्ष भएर बितेको छ । २०७२ सालको संक्रान्ति पनि अशुभ बार मंगलबार परेको थियो । त्यसैले देशमा अशान्ति, हाहाकार, संकट, भूकम्प, मन्दी, बन्द हड्ताल, हिंसा जस्ता विध्वंसात्मक  तथा हिंसात्मक कार्यहरु भएका थिए । जसले गर्दा कयौँ नेपालीले ज्यान गुमाउनुप¥यो, कयौँ घाईते भए । कति घरबार विहीन भए, कति अपाङ्ग जीवन बिताउन बाध्य छन् । कतिका सिन्दुर पुछिए, कतिका परिवार खोसिए भनेर साध्य नै छैन । पीडितहरुले अझै राहत पाएका छैनन् । कयौँ खुल्ला आकाशमुनि बस्न बाध्य छन् । तर यस्तो अन्धकारमय वातावरणलाई चिरफार गर्दै अहिले फेरी नयाँ वर्ष २०७३ हाम्रो घर आँगनमा हर्षोल्लासका साथ आएको छ । यसले       हरेक नेपालीको सुख, शान्ति र समृद्धिको कामना लिएर आएको छ । २०७३ सालको नयाँ वर्ष (१ गते) बुधबार परेको छ, बुधबार राम्रो बार हो । बुधबारलाई सुख शान्तिको बार भनेर पनि मानिन्छ । धार्मिक मान्यता अनुसार मानिसलाई अनिष्ट अर्थात अशान्ति भयो भने बुध ग्रहको पूजा गर्ने चलन पनि छ । त्यसैले यो बार संक्रान्ति प¥यो भने वर्ष दिनभरी कुनै नराम्रो केही कार्य हुँदैन भन्ने जनविश्वास पनि रहेको छ ।
    नयाँ वर्ष मनाउने पनि आ–आफ्नै तौर तरिकाहरु छन् । कसैले भोजभतेर गरेर मनाउँछन्, कसैले आफ्ना अभिभावक , इष्टमित्रसँग नयाँ ठाउँमा घुमफिर गर्न जाने, मिठामिठा परिकारहरु खाने, शुभकामना आदानप्रदान गरेर मनाउने गर्छन् । त्यस्तै गरी नयाँ वर्षको दिन शिवजीको पूजा गरी त्यही पूजाको जल सेचन गरेर वर्ष दिन भरी हुने नराम्रा ग्रहहरु पनि टाढा भागून भनेर प्रार्थना गर्दछन् । त्यस्तै गरी कोही विभिन्न तीर्थस्थल जस्तै देवघाट धाम, त्रिवेणी, बाग्मती, कालीगण्डकी आदि नदीहरुमा नुुहाएर आफूले जानीनजानी अन्जानमा गरेका पाप तथा गल्तीहरुबाट मोक्ष प्राप्त गर्ने गर्दछन् । यस दिन विभिन्न तीर्थस्थलहरुमा संक्रान्ति मेला           पनि लाग्ने गर्दछ ।
    नयाँ वर्षलाई नेपाली हिन्दू परम्पराअनुसार एउटा ठूलो चाडपर्वको रुपमा हेर्ने गरिन्छ । यस दिनमा बालक, युवा, युवती, वृद्धवृद्धा आ–आफ्नो हैसियत अनुसार वनभोज जाने, नाचगान गर्ने, मीठामीठा परिकारहरु खाने, नयाँ कपडा लगाउने तथा रमाउने गरेको पनि पाइन्छ । तर नयाँ वर्ष मनाउने निहुँमा हाम्रो समाजमा थुप्रै विकृतिहरु पनि भित्रिएको छ । कतिपय व्यक्तिहरुले सकिनसकी ऋण खोजेर फजुल खर्च गरेर नयाँ वर्ष मनाउने गर्दछन् । त्यस्तै नयाँ वर्ष मनाउने निहुँमा कतिपय व्यक्तिहरुले लागूपदार्थ जस्तै जाँड, रक्सी सेवन गरेर समाजमा होहल्ला गरी समाजकै बदनाम गर्ने गरेको पनि पाइन्छ । तर यस्तो कार्य समाजको लागि घोर निन्दनी तथा अपमानजनक मानिन्छ । यस्तो कार्यबाट हामी टाढै रहनु वेश हुन्छ । नयाँ वर्ष मनाउने निहुँमा हामीले अमानवीय कार्यहरु कदापि गर्नुहुँदैन । हाम्रो देश अहिले हत्या, हिंसा तथा अशान्ति, बन्द, हड्ताल तथा विभिन्न विध्वशांत्मक कार्यबाट गुज्रिरहेको छ । हामीले नयाँ वर्ष आ–आफ्नो क्षेत्रबाट फजुल र्ख नगरिकन शान्त, सभ्य र भव्य तरिकाले मनाउनुपर्छ । विगतको २०७२ वैशाख १२ लाई सम्झेर कोही पनि नयाँ वर्ष नजिकिँदैै गर्दा डर,त्रासको भ्रममा नपर्नहुन अनुरोध गर्दछु । विगतमा जे जे भयो भयो सम्पूर्ण दुःख, पीडालाई बिर्सेर हामीले नयाँ वर्षको स्वागत गर्दै मनाउन सिक्नुपर्छ । यो २०७३ सालले सम्पूर्ण नेपाली बुवाआमा, दाजुभाई, दिदीबहिनी, इष्टभित्र तथा हाम्रा शुभचिन्तकहरुमा सुख, शान्ति र समृद्धिको कामना गर्नेछ । यो वर्षले विगतका वर्षहरुमा भएका अन्याय, अत्याचार, शोषण, दमन, अशान्ति तथा बन्द हड्ताल सँधैका लागि बन्द गरिदिनेछ र दिगो शान्ति र विकासको लहर छाउनेछ । अन्त्यमा २०७३ सालको पुनीत             अवसरमा हार्दिक मंगलमय   शुभकामना व्यक्त गर्न चाहन्छु ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.