इन्दिरा खनाल
बुटवल बहुमुखी क्याम्पस शिक्षाशास्त्र संकाय एम.एड दोस्रो वर्षमा अध्ययनरत इश्वरा पौडेल क्याम्पस जाने दिनमा पानी नपिई बस्छिन् । चिकित्सकका अनुसार फरक फरक समयमा दैनिक पाँच लिटर भन्दा बढी पानी मानिसको शरीरलाई आवश्यक पर्दछ । तर, इश्वराको हकमा भने यो कुरा लागु हुन्न । ‘पानी पिएर के गर्नु ? क्याम्पसमा शौचालय छैनन् । भएका शौचालयमा जान सक्ने अवस्था छैन’– इश्वराले पानी नपिनुको कारण खुलाउँदै भनिन् ।
उनी मात्र होइन, स्नातक प्रथम वर्षमा अध्ययनरत जमुना पन्थीको समस्या पनि इश्वराको जस्तै हो । शौचालयको वाध्यता सम्झेर पानी नै नपिई क्याम्पस जाने गरेको उनी बताउँछिन् । ‘पानी पिएर जाँदा पिसावले च्याप्ने डरले पानी नै नपिई जान्छु’– उनले सुनाइन । बुटवल बहुमुखी क्याम्पस प्रशासनका अनुसार शिक्षाशास्त्र, मानविकी, व्यवस्थापन, विज्ञान, कानुन र खुल्ला तथा दुर शिक्षा सिकाई संकायको बिहानी, दिवा र सन्धाकालिन समूहमा ५ हजार भन्दा बढी विद्यार्थीहरु अध्ययन गर्दछन् । ती मध्ये छात्राको संख्या ६० प्रतिशतभन्दा बढी छ । तर, क्याम्पसमा महिला मैत्री शौचालय त परको कुरा भएका शौचालयमा शौच गर्ने अवस्था छैन । ‘फोहर छन् । पानी हुँदैन । क्याम्पस जाने दिन प्रयाप्त पानी पिए समस्या हुन्छ’ बिज्ञान संकाय स्नातक दोस्रो बर्षकी बबिता गिरीले बताइन । भएका शौचालय पनि कक्षा कोठा भन्दा टाढा छन् । अर्पझट अवस्थामा जाँदा लामो समय कुर्नुपर्दा पढाई नै छुट्ने विद्यार्थीहरु गुनासो गर्दछन् ।
अन्य दिनमा पानी नपिएर क्याम्पसमा आउने छात्राहरु महिनावारी हुँदा पढाई नै छुटाउन बाध्य छन् । कारण क्याम्पसमा भएका शौचालय नै हो । महिनावारी हुँदा सरसफाईमा विशेष ध्यान पु¥याउनुपर्ने भएपनि शौचायलको अवस्थाले त्यो सम्भव नहुने र क्याम्पसको पढाई नै छुटाउनुपर्ने आई.सि.टि इडी तेस्रो वर्षमा अध्ययनरत बास्ना पोखरेल बताउछिन् । ‘शौचालयमा प्याड फाल्ने र हात धुने ठाउँ छैन । कसरी क्याम्पस आउने ?’ – पोखरेलले प्रश्न गरिन् ।
महिनावारी भएको वेला भिजेको प्याड लामो समयसम्म राखिरहँदा पनि प्रजनन अंगहरुमा संक्रमण हुनसक्ने सम्भावना रहेकाले क्याम्पस नजाने एम.एड दोस्रो वर्ष स्वास्थ्य शिक्षा समूहकी शारदा खनाल बताउछिन् ।
महिनावारी हुंदाका बखत अधिकांस छात्राहरु क्याम्पस आउने गर्दैनन् । महिनावारी हुने बेलै नभएका बालीका पढ्ने बिद्यालयहरुमा गैरसरकारी संस्थाहरुले छात्रा मैत्री बनाउन भन्दै सेनेटेसन प्याड राखीएको हल्ला मच्चाएपनि युवा बिद्यार्थी छात्राहरु पढ्ने क्याम्पसमा भने महिनावारी हुंदा क्याम्पसमा सुरक्षित र प्याड फेर्ने ठाउँ सम्म छैन ।
स्वास्थ्य शिक्षा विभागका विभागिय प्रमुख डा. सुरेन्द्र गिरिका अनुसार पानी कम पिउँदा शरिरमा पानीको मात्रा अपुग भई जलबियोजन हुने र जसका कारण रिङटा लाग्ने, बेहोस हुने शरिर सुक्ने, छाला चाउरिनुको साथै रजस्वला भएको समयमा महिलाहरुले सरसफाईमा ध्यान नदिदा महिलाहरुको प्रजनन अंगमा संक्रमण हुने जस्ता जटिल स्वास्थ्य समस्याहरु देखिन्छन् ।
‘पुरानै संरचना तर बिद्यार्थीको चाप बढी हुनु नै क्याम्पसको मुख्य समस्या हो । सरकारले नयां संरचना निमार्णका लागि लगानि नै नबढाएकाले छात्रा विद्यार्थीहरुले यो समस्या भोग्नुपरेको’ डा. गिरिको तर्क छ ।
२०३० सालमा स्थापना भएको वुटवल वहुमुखि क्याम्पसको कक्षा तथा कार्यालय गरि १५ वटा भवनमा ८५ वटा कोठा, २० परिवारका लागि आवास छ । विद्यार्थीहरुको प्रयोजनका लागि ल्यावमा समेत गरि आठ वटा मात्र शौचालय छन । तर, अहिले अधिकांस शौचालय प्रयोग गर्न नमिल्ने अवस्थाका छन् ।
क्याम्पसमा शौचालयको समस्या विद्यार्थीलाई मात्र होइन, महिला प्रध्यापकहरुलाई पनि छ । विज्ञान संकायमा वनस्पती शास्त्र अध्यापन गराउने मेरी मल्ल विज्ञान संकायको ल्याव बन्द भएको समयमा समस्या हुने बताउँछिन् । उनी भन्छिन् ‘ विद्यार्थी बढे । शौचालय बढेनन् । त्यसैले समस्या थपिएको हो ’– उनले सुनाइन ।
क्याम्पसमा छात्राहरुको संख्या बढ्नु र छात्रा मैत्री शौचालय नबनाइनुका कारण समस्या देखिएको क्याम्पस प्रमुख प्रकाशबन्धु रेग्मी बताउँछन् । ‘ पन्ध्र सय बिद्यार्थी हुंदा बनाएको शौचालयले पाँच हजारलाई धानेको छ । समस्या त हुने नै भयो ’ – रेग्मीले भने । क्याम्पसमा शौचालय थप्ने र छात्रा मैत्री शौचालय बनाउने विषय प्राथमिकतामा रहेको उनी बताउँछन् ।
क्याम्पसमा महिलामैत्री, अपाङगमैत्री शौचालय र सुरक्षित खानेपानिको विषयमा हरेक बैठकमा कुरा राख्दै आएकोे अनेरास्ववियु जिल्ला कमिटि सह–सचिव एंव बुटवल बहुमुखी क्याम्पस कमिटी अध्यक्ष शेषकान्त पोखरेले बताए । त्यस्तै नेपाल विद्याथी संगठनका कार्यवहाक अध्यक्ष बलराम पौडेलले जिर्ण शौचालयको ममर्त सम्भारका लागि आफनो संगठनले आवाज उठाउदै आएको बताए ।
लेखकः प्रेस चौतारी रुपन्देहीको कार्यसमिती सदस्य हुन् ।