अख्तियार प्रमुखले व्यक्तिगत इवी साँधेः कनकमणी
वैशाख, १० काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझा यातायात सहकारी लिमिटेडका अध्यक्ष तथा वरिष्ठ पत्रकार कनकमणी दिक्षितलाई पक्राउ गरेको छ । पाटनढोकास्थित दीक्षित निवास नजिकैबाट उनलाई दिउँसो २ बजे पक्राउ गरिएको हो ।
प्रहरीले उनलाई दिएको पक्राउ पुर्जीमा ‘गैरकानूनी सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको विषयमा अनुसन्धान गर्नुपर्ने भएकाले सँगै आउन’ भनिएको छ । दीक्षितले पक्राउ पुर्जीमा हस्ताक्षर गर्न नमानेपछि प्रहरीले मुचुल्का उठाएको थियो । पक्राउ पर्नुअघि दीक्षितले फोनमा आफ्ना वकिलहरुसँग सल्लाह गरेका थिए ।
दीक्षितले आफूमाथि अख्तियार प्रमुखले व्यक्तिगत इवि साँध्न खोजेको आरोप लगाएका छन् । पक्राउलगत्तै उनले भने, ‘पञ्चायतकालीन धङधङी बोकेका अख्तियार प्रमुखले लोकतान्त्रिक सरकारको आडमा ममाथि भ्रष्टाचारको दाग लगाउन खोजेका छन् । तर उनको प्रयास सफल हुनेछैन ।’
आफूलाई शुक्रबार अदालत बन्द भएपछि पक्राउ गराएर दुई दिन थुनामा राख्ने षडयन्त्र गरिएको उनले बताए ।