लुम्बिनीखबर
भैरहवा, १५ कात्तिक । रुपन्देहीको बुटवलस्थित बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ । सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक दिलीप भण्डारी र पूर्वाधार विकासमन्त्रीका सल्लाहकार मधु अर्यालको उपस्थितिमा आयोजित कार्यक्रममा सम्मेलन केन्द्रको जिम्मेवारी समितिलाई हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा वरिष्ठ डिभिजनल इन्जिनियर कीर्तिकान्त साहले ‘विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति गठन आदेश, २०८१’ बमोजिम आवश्यक सम्पूर्ण कागजात समितिका कार्यकारी निर्देशक धर्मराज खड्कालाई हस्तान्तरण गर्नुभयो । जिम्मेवारी ग्रहण गर्दै कार्यकारी निर्देशक खड्काले सम्मेलन केन्द्रलाई पारदर्शी, व्यवस्थित र सेवाग्राहीमैत्री ढङ्गले सञ्चालन गरिने बताउनुभयो । उहाँले उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै सेवाग्राहीको सन्तुष्टि र संस्थाको प्रभावकारी व्यवस्थापनलाई प्राथमिकता दिइने उल्लेख गर्नुभयो ।
उहाँले वर्तमान सरकारको कार्यशैलीअनुसार सम्मेलन केन्द्रको पूर्ण क्षमतामा उपयोग हुने गरी सञ्चालन तथा व्यवस्थापन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।बुटवलमा निर्माण गरिएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मुख्य सभाहलसहित विभिन्न क्षमताका बहुउद्देश्यीय हल रहेका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सभा, सम्मेलन, गोष्ठी र सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न सकिने यस केन्द्रमा एकैपटक हजारौँ सहभागीलाई समेट्न सकिने क्षमता रहेको छ ।
सम्मेलन केन्द्रमा अत्याधुनिक ध्वनि तथा प्रकाश प्रणाली, मल्टिमिडिया डिस्प्ले, अन्तर्राष्ट्रियस्तरको मञ्च, पर्याप्त पार्किङ, हरियाली पार्क, खाजाघर, विशिष्ट कक्ष तथा अपाङ्गतामैत्री पूर्वाधार रहेका छन् । व्यवस्थापनको जिम्मेवारी हस्तान्तरणसँगै लामो समयदेखि पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको सम्मेलन केन्द्र प्रभावकारी रूपमा सञ्चालन हुने अपेक्षा गरिएको छ । यसको सञ्चालनले बुटवलसहित समग्र लुम्बिनी प्रदेशको आर्थिक, पर्यटकीय तथा व्यापारिक गतिविधिमा योगदान पुग्ने विश्वास गरिएको छ ।