भैरहवा, बैशाख । भैरहवा क्षेत्रमा आजभोली ४३ डिग्री तापक्रम छ । अत्याधिक गर्मि र तातो लु को कारण मान्छेहरु घरमै बस्ने आरम गर्ने गरिरहेका छन् ।
दुबै हात खुट्टा सग्ला भएकाहरु पनि घरको चौकिल्ला भित्र खाने बस्ने र सुत्ने गर्छन । केही गरी हालेपनि एकाध घण्टा काम गर्ने अनी भएभरका गफ गरेर समय व्यतित गर्ने गर्दछन् ।
तर शहरको भीडबाट केही पर सिनपा ९ गोनहीयाको एक कुनामा एक जना किसान गर्मिको वास्तै नगरी दिनरात खेतमा खटिरहेको देखिन्छन् ।
स्थानिय विन्दबासीनि मन्दिर गुठीको जग्गा वर्षेनी ३५ हजार भाडा तिर्नेगरी १ विगाह जग्गा लिजमा लिएका किसान देवसिंह गुरुंग दिनरात खेतमै भेटिन्छन् । गुरुंगले सो जग्गामा भिन्डी, लौका, करेला, टमाटर, बन्दागोभी, काक्राहरु फलाएका छन् । सिजनल सब्जी खेती गर्दै आएका उनको सब्जी बारीमा विहान बेलुका ताजा सब्जी किन्न पुग्ने हरुको भीड हुन्छ ।
उनको एउटा मात्रै हात छ । भारतीय सेनामा जागिर गर्दा दायां हात गुमाएका उनले एउटा हातको भरमा पनि वर्षमा सब्जी खेतीबाट करिब ४ लाख कमाएको बताए । उनले भने ‘यो वर्ष मात्रै तीन लाख असी हजार कमाई भयो । काम गरेपछि कतै जानु पर्दैन रहेछ । ‘
खेतीको कमाईबाट नै छोरा छोरी पढाईरहेको बताए ।
गुरुंगको मेहनत र परिश्रम देखेर अहिले स्थानियहरुले पनि उनको सिको गर्न थालेका छन् । स्थानिय रामप्रसाद क्षेत्रीले भने “देवसींहको मेहनत र परिश्रमले हामी जस्ता दुबै हात खुट्टा भएकाहरुलाई पनि केही गर्ने प्रेरणा प्राप्त भएको छ । उहांको हिम्मतले नै यो सब भएको छ । “
आटिंला स्वभावका गुरुंगको मेहनत र परिश्रमबाट प्रभावित भएर जिल्ला कृर्षी विकास कार्यलयले यसैहप्ता ६० हजार अनुदान समेत दिएको छ ।